सन्दीप प्रकरण: ‘पीडित’की रुममेटको बकपत्रमा के-के छ ?


काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित भनिएकी किशोरीकी रुममेट (होस्टलको एउटै कोठामा बस्ने साथी) ले अदालतमा गरेको बकपत्रको प्रतिलिपि नेपाल प्रेसलाई प्राप्त भएको छ । सोही बकपत्रका केही अंशलाई सर्वोच्चले हिजोको फैसलामा उद्धृत गरेको थियो भने यसको पूर्णपाठमा थप तथ्यहरु भेटिएका छन् ।
विषयको संवेदनशीलताका कारण हामीले बकपत्र जस्ताको तस्तै प्रकाशित गर्न चाहेनौंं । समाचारको विश्वसनियताको लागि सानो कटिङ राखेर यसभित्रका महत्वपूर्ण अंश समाचारमा समेट्ने प्रयास गरेका छौं । अदालतले बकपत्र र आदेशको कपी सार्वजनिक नगर्न र दुवै पक्षका वकिलहरुबाहेक अरुलाई नदिन आदेश जारी गरेको छ ।
पीडित भनिएकी जाहेरीकर्तासँग पुरानो बानेश्वरको एउटा होस्टलको एउटै कोठामा बस्दै आएकी अपेक्षा शर्मा (नाम परिवर्तन) ले यो बकपत्र गरेकी हुन् । वीरेन्द्रनगर घर भएकी अपेक्षाले आफ्नो उमेर २० वर्ष भएको बताएकी छन् भने ‘पीडित’ ले आफूलाई ‘दिदी’ भनेर सम्बोधन गर्ने उल्लेख गरेकी छन् । २०७९ साल वैशाख महिनादेखि ‘पीडित’सँग आफ्नो चिनजान रहेको उनको भनाइ छ ।
अपेक्षाका अनुसार उनीहरु बस्ने होस्टलको गेटको चाबी लिभिङ रुम बाहिर भएको ड्रयरमा राखिएको हुन्छ र जसलाई बिहान छिटो निस्किनुपर्छ, उसैले गेट खोल्छ । राति ८ः०० बजे गेट बन्द हुन्छ । तर कोही बाहिर भएको खण्डमा होस्टलमा भएको आफ्नो साथीलाई फोन गरेर ढोका जति वेला पनि खुलाउन सकिन्छ ।
‘होस्टलमा भएका कसैको फोन नउठे पनि गेटबाट अलि ठूलो स्वरले बोलाएपछि जसले पनि ढोका खोलिदिन्छ’, उनले भनेकी छन् ।
अपेक्षाका अनुसार घटना भएको भनिएको दिन ‘पीडित’ले आफू आउन ढिला हुने बताएकी थिइन् । उनले सन्दीप लामिछानेसँग भेट्न जान लागेको पनि जानकारी दिएकी थिइन् ।
‘खुट्टामा के लगाउने भन्ने कुरा हुँदा उसले मेरो हाइट सानो छ, उसको अगाडि सानी देखिन्छु । त्यसैले आफ्नै हिल लगाएर जान्छु भनेर उसको आफ्नै हिल लगाएकी हुन्’, अपेक्षाले भनेकी छन् ।
पीडितले फोनमा आफूलाई लिन ग्लोबल कलेज अगाडि आउन भन्दै बेलुका करिब ७ बजेतिर निस्केको उनको भनाइ छ ।
‘सन्दीप लामिछानेलाई भेटेपछि निजले मलाई कल गरेर दिदी मैले सन्दीपलाई भेटें, म गाडीमा छु, हामी नगरकोट जान लागेको, मलाई आउँदा ढिला हुन्छ होला, म आएपछि कल गर्छु, होस्टलको ढोका खोलिदिनुहोला है ! अनि योबारेमा होस्टल आन्टीलाई थाहा नदिनुहोला भनेकी थिइन् । र म सन्दीप लामिछानेसँग नगरकोट जान लागेको कुरा मेरो व्वाइफ्रेन्ड …. ले सोध्यो भने नभनिदिनु भनेकी थिइन्’, बकपत्रमा भनिएको छ ।
पीडित राति ९ बजेसम्म नआएपछि आफूले फोन गरेको अपेक्षाले बताएकी छन् । तर, फोन सम्पर्क हुन नसकेको, त्यसपछि राति ९ः३८ मा आफूले नै म्यासेज गरेको उनको भनाइ छ ।
‘त्यसपछि उनलाई मैले फेरि १०ः५८ मा फोन गर्दा फोन गएको थियो । तर, निजले फोन उठाइनन् । त्यसको करिब २ मिनेटभित्र उसले ह्वाट्सएपमा मलाई हजुर दिदी भनेर म्यासेज रिप्लाइ गरेकी थिइन् । लगत्तै मैले ka ho keti भन्दा उसले ह्वाट्सएपमा मलाई he left me sathii ko ghar ma I will be staying there today, I am safe, u take care भन्दा उसले मैले ok you take care भनेर रिप्लाई दिएँ ।’
त्यसपछि पीडितले आफूलाई ब्वाइफ्रेन्डले फोन गर्यो कि भनेर सोधेको अपेक्षाले बताएकी छन् ।
‘निज पीडितको ब्वाइफ्रेन्डले मलाई सोधेको थियो । तर, निज पीडितले मलाई सन्दीप लामिछानेसँग घुम्न जाने कुरा ब्वाइफ्रेन्डलाई नभन्नु भनेको हुँदा मैले सो कुरा निजको ब्वाइफ्रेन्डलाई भनिनँ’, बकपत्रमा अपेक्षाले भनेकी छन् ।
त्यसको भोलिपल्ट भदौ ६ गते बेलुका करिब ५ बजे आफू अफिसबाट फर्केपछि पीडितसँग कोठामै भेट भएको उनले बताएकी छन् ।
‘उक्त दिन पीडित एकदमै खुशी देखिन्थिन् । निज खुशी हुँदै म र हामीसँगै बस्ने अर्को रुममेटलाई समेत मैले सन्दीप लामिछानेलाई भेटें । हामी हिजो नगरकोट गयौं । मेरो लाइफको सबैभन्दा खुशीको पल नै हिजो थियो भनेकी थिइन् । सो कुराकानी भएको भोलिपल्टदेखि नै निज पीडितले सन्दीपको नामको जर्सी लगाएर ल्यापटपमा खुशी भएर हुटिङ गर्दै क्रिकेट हेरेर बस्ने गर्थिन्’, बकपत्रमा भनिएको छ ।
‘सोबाट हामी सँगै रुममा बस्ने अन्य साथीहरुलाई समेत डिस्टर्ब भएको कारणले निजलाई हल्ला नगर, एयरफोन लगाएर क्रिकेट हेर भनेर भनेको हुँदा त्यसपछि निजले हाम्रो कोठा बाहिर लिभिङ रुमको सोफामा बसेर क्रिकेट लगातार हेर्ने गर्थिन् । त्यो बीचमा निजको ब्वाइफ्रेन्डसँग पनि निजको भेट हुनेगर्थ्यो ।’
‘२० गते बेलुकाको खाना खाएर बाहिर हलको सोफामा बसेकी पीडितले कोठाभित्र रहेकी मलाई टेक्स्ट गर्दै भनिन्- ‘दिदी हाम्रो योभन्दा अगाडिको ह्वाट्सएपको टेक्स्ट के छ मलाई फरवार्ड गरेर पठाउनु न फास्ट, मेरोमा केही रहेनछ ।’
‘त्यसपछि मैले म्यासेज किन चाहियो फेरि ? छैन मेरोमा त भन्दा उसले रिप्लाइमा lauuu f*** you deleted ? thikk chha भन्दा मैले um भनेर रिप्लाइ गरें । तर, मैले त्योभन्दा पहिलाको म्यासेजहरु डिलिट गरेकी थिइनँ, अहिलेसम्म पनि सुरक्षित नै छ’, उनले बकपत्रमा भनेकी छन् ।
‘त्यसको भोलिपल्ट पीडितले दिदी मलाई तपाईंको ब्याग दिनुस् न भनेर मागिन् । त्यसबेला निजको हातमा निजको नागरिकता र अन्य कागजहरुसमेत थियो । त्यही राख्न मागेको हुँदा मैले हुन्छ भनें । त्यसपछि ब्यागभित्र सामानहरु राखेर म नजिकै आएर बसेर दिदी मेरो लफडा चलिराछ । त्यही कारणले म यताउता गर्न परिराको हो, त्यही भएर कलेज पनि छुटिराछ भनेर मलाई भनिन् । त्यत्तिकैमा उसको मोबाइलमा कसैको कल आयो । सोही फोनमा कुरा गर्दैगर्दा निज आफैंले ‘यो मुद्दा हालेपछि यत्तिकै नि १०-१५ लाख पैसा आइहाल्छ अनि मलाई ढुक्क हुन्छ भनेर भनिरहेकी थिइन् । सो फोन गर्ने व्यक्ति को थियो मलाई थाहा छैन । त्यतिकैमा मैले निजसँग कुरा गर्न खोजेको थिएँ । तर, निज हतारहतारमा झोला बोकेर फोनमा कुरा गर्दै निस्किइन् ।’
अपेक्षाले सुरुदेखि अन्त्यसम्म सबै तथ्य थाहा पाएको र पीडितको चालचलन र बानी व्यहोरा अस्वाभाविक रहेको भन्दै उनीमाथि बलात्कार भएको विश्वास नरहेको बताएकी छन् ।
बयानमा लेखिएका कुरा सही या गलत त्यो विश्लेषण गर्ने दायित्व प्रहरी र न्यायालयको हो । तर उक्त बालिका 18 वर्ष उमेर नपुगेकी राज्यको कानुनअनुसार नाबालिक भएकी र पीडक सन्दिप लामिछाने 20 वर्ष नाघिसकेका युवक भएको हुँदा यि दुई बीचको यौन सम्पर्क सहमतिमै भएको भएतापनि कानुन सम्बन्ध बलत्कार मानिन्छ त्यसैले कानुनको कार्यान्वयन गर्नु राज्यको दायित्व हो र उक्त दायित्वबाट राज्य चुक्नु भनेको सम्पूर्ण न्प्रयायालय प्रति नागरिकको विश्वास गुम्नु हो । र आगामी दिनमा हुने बलात्कारका घटनाहरुलाई बाहिर ल्याउनमा चुनौती पनि हो ।
सरकारी कागजमै दुइटा जन्म मिति भएपछी कसरी हुन्छ नाबालिक ? उग्र नारीवादीहरुले केटालाई नफसाएँ सम्म राति निदाउन सक्दैनन्।
अहिले यो पत्रिकामा छापिएको कुराहरु अदालतमा केश चल्दा किन प्रस्तुत गरिएन। यी केटिले अहिले बक्नुको के अर्थ ? तुक न ताकाको समाचार