तपाईंको सन्तानसँग कुरा मिल्दैन ? यसो गर्नुस्


काठमाडौं । स्मार्ट प्यारेन्टिङ नेपालले आफ्नो नियमित कार्यक्रमअन्तर्गत फागुनमा पनि अभिभावक अभिमुखीकरण सेसन सम्पन्न गरेको छ । ‘अभिभावकत्वमा मिथ्या तथा तथ्य’ शीर्षकमा भर्चुअल माध्यमद्वारा सम्पन्न कार्यक्रममा मनोपरामर्शदाता कपील शर्माले सहजीकरण गरेका थिए ।
कार्यक्रममा शर्माले अभिभावक र बालबालिकाबीच भएका अन्तर र त्यसलाई सुव्यवस्थित र वैज्ञानिक बनाउन गर्नुपर्ने रणनीतिका विषयमा आफ्नो अनुभव र विज्ञता प्रदान गरेका थिए ।
कार्यक्रममा अभिभावकत्व सिकाई, ग्रहण र विकासको निरन्तर चलिरहने प्रक्रिया रहेको र यसका लागि पहिला स्वयं आफू नै अभिभावक बन्नलाई शारीरिक, मानसिक, भावनात्मक रुपमा तयार छौं कि छैनौं भन्ने प्रश्न आफैंलाई सोध्न आवश्यक रहेको शर्माले उल्लेख गरे ।
अभिभावकत्वमा मिथ्या र तथ्य के के हुन् त ?
मनोपरामर्शदाता शर्माका अनुसार सामान्यतया आफ्ना बालबालिकाको हरेक आवश्यकता पूरा गर्नु, बालबालिकाले बिना प्रश्न हामीले भनेको मान्नु, मित्रवत व्यवहार गर्नु अनि टन्नै पैसा कमाएर दिनु अभिभावकत्वमा भएको मिथ्या हो ।
उनका अनुसार अभिभावकत्व त्यो हो जहाँ मित्रवत व्यवहारसँगै सीमा, पैसासँगसँगै अभिभावकको साथ, गल्तीसँगसँगै सिकाई, बालबालिकाको स्वतन्त्रता र उनीहरुसँगको सहकार्य असलमा सही अभिभावकत्व हो ।
‘अभिभावकत्व गाह्रो विषय हो, यदि कुनै व्यक्ति शारीरिक, मानसिक, भावनात्मक रुपमा तयार छैन भने यो विषय अझ बढि गाह्रो बन्न पुग्छ किनकी बालबालिका, अभिभावक स्वयं र परिवेश सबैको फरक फरक भएको कारण अरुमा लागू भएको कुरा आफूमा लागु नहुन सक्छ’, शर्माले भने, ‘अभिभावकको गल्ती हुनु हुन्न भन्ने मानसिकताबाट बाहिर निस्किएर यसलाई सामान्य रुपमा लिनुपर्छ ।’
कार्यक्रममा शर्माले अभिभावकहरुले आफू स्वयमको पनि ख्याल राख्नुपर्ने, आफ्नै लागि पनि समय दिनुपर्ने विषयलाई पनि जोड दिउ ।
अभिभावकहरुले आफ्ना बालबालिकालाई उचित स्याहार, माया, सहयोग दिनुपूर्व आफू ति कुराहरु दिन पनि आफू योग्य हुनुपर्ने शर्माको तर्क छ ।
अभिभावक र सन्तानबीच पुस्ता अन्तर (जेनेरेशन ग्याप) छ भनेर सबै विषयलाई यसैलाई दोष दिनु गलत भएको शर्माको बुझाइ छ । आफ्ना बुबाआमाले हजुरबुबाआमाप्रति देखाउने गरेको सम्मान र झुकाव सम्झिँदै शर्माले पुस्ता अन्तरको विषयलाई माानिसहरुले गलत अर्थमा बुझेको बताए । बालबालिकाले अभिभावकको कुरा नमान्नुमा विशेषगरी समयको व्यवस्थापनको विषय भएको शर्मा बताउँछन् ।
वास्तवमा बालबालिका र अभिभावकहरुबीच समयसँगै सीप र ज्ञानको अन्तर र कुराकानीको अन्तर रहेको विषय शर्माले उजागार गरे ।
के हो स्मार्ट प्यारेन्टिङ नेपाल ?
बालबालिकाहरुको सर्वांगीण विकासको लागि अभिभावकीय जिम्मेवारीलाई बोध गराउँदै वैज्ञानिक तवरले उनीहरुलाई सहयोग गर्ने चेष्टाले स्मार्ट प्यारेन्टिङ नेपालले विगत ३ वर्ष देखि निरन्तर यसै विषयमा सेवा दिदैं आइरहेको छ । अभिभावकीय सीप र कलालाई विस्तार गर्ने हेतुले यस संस्थाले स्मार्ट प्यारेन्टिङ नेपाल नेटवर्कअन्र्तगत अझ विस्तारमा यि विषयहरुमा महिनाको अन्तिम आइतबार छलफल गर्ने गरेको छ ।