बैठकमा छिर्नुअघि ओलीलाई प्रश्न- सरकारबाट बाहिरिने तयारी हो ?


काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै फेरिएको राजनीति कोर्सपछि नेकपा एमाले सरकारमा रहन्छ वा बाहिरिन्छ भन्ने आम चासोको विषय छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक जारी छ ।
बैठकमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालयमा पुगिसकेका छन् । आजको बैठकले एमाले सरकारबाट बाहिरिने निर्णयक गर्ने कतिपयले आँकलन गरिरहेका छन् ।
बैठकमा सहभागी हुन पार्टी कार्यालयमा पस्नुअघि सञ्चारकर्मीहरुले आज सरकार छोड्ने तयारी हो ? भन्ने प्रश्न गरे। त्यसको जवाफमा ओलीले हाँस्दै भने, ‘तयारी हुने भयो भने खबर पाईहाल्नुहुन्छ नि !’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा एमालेका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलसहित एमालेका ८ मन्त्री छन् ।
यसअघि शनिबारको सचिवालय बैठकमा एमालेले राष्ट्रपति चुनाव (फागुन २५ सम्म) सरकारबाट नहट्ने भन्दै माओवादीसहितसँग पुस १० मा गरिएको सहमति कार्यान्वयनमा जोड दिने निर्णय गरेको थियो ।