नयाँ गठबन्धनसँगै क्वात्राको जीत- दिल्ली पुनः नेपाली राजनीतिमा हावी, भूराजनीतिक भूमरीमा नेपाल – Nepal Press

नयाँ गठबन्धनसँगै क्वात्राको जीत- दिल्ली पुनः नेपाली राजनीतिमा हावी, भूराजनीतिक भूमरीमा नेपाल

अहिले नेपाली कांग्रेसको ढोक्सामा माछा परेको छ । भूराजनीतिक शक्ति केन्द्रहरुको चाहनाअनुसार दुई महिनाभित्रै फेरि अर्को गठबन्धन तयार भएको छ । विशेष गरेर भारतले नेपालमा दुवाली थुनेर ढोक्सातिर माछा फर्काउन सफल भएको छ । एमाले-माओवादीलगायतका पार्टीले बनाएको गठबन्धन भारतीय र अन्य शक्ति केन्द्रको चाहनाविपरीत बनेको थियो । नेपालभित्रको आफ्नै राजनीतिक शक्ति संग्रहको आधारमा बनेको थियो । शक्ति केन्द्रको हातबाट खोसेर बनेको थियो । सत्ता समीकरणलाई आफू अनुकूल बनाउन अब नयाँ गठबन्धन बनेको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको भ्रमणले यो गठबन्धन निर्माण गर्न मूर्त रुप दिएको थियो ।

अब नेपाली कांग्रेसको राष्ट्रपति हुनेछन्, प्रचण्ड बुख्याचाको रुपमा प्रधानमन्त्री रहिरहनेछन्, नागरिकता विधेयक अघि बढ्नेछ, चुच्चे नक्सा शिथिल हुनेछ, नदीनालामाथिको गिद्धेदृष्टिले सार्थकता पाउन थाल्नेछ र चीनतिर कोरिडोर निर्माण गर्ने कामहरु अनेक आलटाल गरेर बन्द गरिनेछन् । २०४६ सालको परिवर्तनपछि देशलाई जसरी भारतबेष्ठित बनाइएको थियो । अब त्यही अवस्थामा फर्काउन यो ढोक्सातिर फर्काइएको दुवालीले काम गर्नेछ ।

हेर्दा सामान्य देखिने यो घटना नेपालको राष्ट्रवादी राजनीति र देशको मौलिक विकास र स्वाभीमानका लागि ठूलो दुर्घटना नै हो । विश्व भूराजनीतिक टकरावको केन्द्रमा रहेको नेपालमा शक्ति केन्द्रहरुले आँखा लगाएर नेपालको राजनीतिक निर्णयहरुलाई आफ्नो अनुकूल बनाउन जुन ढंगको हर्कत गरेको देखियो, त्यसबाट प्रस्ट छ- अब नेपालका दुर्दशा सुरु भैसकेका छन् । यो दुर्दशाले निम्त्याउने जटिलताले देश झन् पराधिन हुँदै जाने र सामाजिक, राजनीतिक अस्थिरता हाम्रो दैनिकी जस्तै हुनेछन् ।

अबका दिनमा विश्वको बदलिँदो परिस्थिति र नेपालमाथि बढ्दै गएको गम्भीर असरलाई ध्यान नदिई गरिने यस्ता खालका राजनीतिक क्रियाकलापले देशलाइ दुःख दिने क्रम बढेर जाने देखिन्छ ।

सामान्य ढंगबाट नियमित प्रक्रिया प्रयोग गरी यो आठ दलीय गठबन्धन बनेको भए र विदेशी हस्तेक्षपविना नै राष्ट्रपतिको निर्वाचन भएको भए देशको शीर यो तरिकाले निहुरिने थिएन । शक्ति राष्ट्रहरु विशेषगरी भारतले यो ढंगले हस्तक्षेप गर्नसक्ने थिएन । आफ्नो सत्ता राजनीतिक स्वार्थलाई परिपूर्ति गर्न शक्ति केन्द्रका भूराजनीतिक तिकडमसामु झुकेर देशको स्वाधीनतामा आँच ल्याउन पछि नपर्ने नेपाली राजनीतिक नेतृत्व यो अवस्था आउनुमा जिम्मेवार छन् नै । तर, यो परिस्थिति आउन दिने र बहकाउ र सीमित स्वार्थका लागि जनमत तयार गर्ने बौद्धिक जगत, पत्रकार तथा सामाजिक क्षेत्र पनि उत्तिकै जिम्मेवार छन् । अबका दिनमा विश्वको बदलिँदो परिस्थिति र नेपालमाथि बढ्दै गएको गम्भीर असरलाई ध्यान नदिई गरिने यस्ता खालका राजनीतिक क्रियाकलापले देशलाइ दुःख दिने क्रम बढेर जाने देखिन्छ ।

हुन त नेपाली कांग्रेस देशको स्वाधीनता विस्तार तथा देशको आत्मसम्मान वृद्धितर्फ कहिल्यै सचेत भएको देखिएन । वामपन्थीविरोधी इतिहास, भूराजनीतिक रुपमा भारतीय शक्तिकेन्द्र आश्रित नीति, विनासंकोच पश्चिमा खुला बजार पूँजीवादको हुबहु अनुशरण र सत्ता शक्तिभन्दा बाहिर आफ्नो अस्तिव नदेख्ने शासकीय शैलीका कारण बहुदल आएदेखि नै कांग्रेसले देशमा धेरै उतारचढाव सिर्जना गरेको थियो । कतिपय अवस्थामा आफ्नो घमण्डका कारण र कतिपय अवस्थामा सही निर्णय लिन नसकेका कारण देशमा व्याप्त राजनीतिक अस्थिरताको एउटा मुख्य स्रोत कांग्रेस बन्यो ।

बहुदलपछि कांग्रेसको एकछत्र नेतृत्व गर्ने गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा नै हरेक हिसाबले कांग्रेसको यो अवस्था आउनुमा जिम्मेवार छन् । गिरिजाप्रसाद कोइरालाले नचाहँदा नचाहँदैको कांग्रेस-वाम गठबन्धनको आन्दोलनले स्थापना गरेको बहुदलको सुरुवाती दिनमै माले, मसाले र मण्डले एकै हुन् भन्ने उद्घोष गरेका गिरिजाप्रसादले सत्तामा पुग्नेबित्तिकै अन्य पार्टीहरुप्रति कठोर नीति लिए, देशलाई राजनीतिक र आर्थिक रुपमा भारतबेष्ठित बनाउन सुरु गरे, विश्व बैंक जस्ताको उलामालामा लागेर आर्थिक खुला नीतिको नाममा देशलाई आर्थिक पराधिन बनाए ।

जसरी पनि सत्तामा बस्न देशमा जस्तोसुकै विकृति भित्र्याउन पनि पछि नपर्ने शेरबहादुर देउवाले संसदीय राजनीतिमा विषाक्त धब्बा छाडेका थिए र अहिले पनि त्यसको असर परिरहेकै छ । संसदीय विकृतिहरुले राजनीतिक र आर्थिक रुपमा मात्रै देशलाई अस्थिर बनाएन, हरेक हिसाबले पराधिन बनाउने काम गरे । भूराजनीतिक हिसाबले अहिलेको भूमरीमा देशलाई पुर्‍याउने काम, आर्थिक रुपले देशलाई टाट पल्टिने अवस्था बनाउने कुरा र राजनीतिक अस्थिरताको गोटी बनेर जनतामा निराशा बिजारोपण गर्ने काम यिनै विकृतिका उपज हुन् । राजनीति नै विकृतियुक्त भएपछि आन्तरिक रुपमा देशमा आर्थिक र सामाजिक गतिविधि भ्रष्ट हुन्छन् र बाह्य हिसाबले हस्तेक्षप बढेर जान्छ । अहिले त्यही भएको हो ।

राजनीति नै विकृतियुक्त भएपछि आन्तरिक रुपमा देशमा आर्थिक र सामाजिक गतिविधि भ्रष्ट हुन्छन् र बाह्य हिसाबले हस्तेक्षप बढेर जान्छ । अहिले त्यही भएको हो ।

यिनै कुराहरुको निरन्तरताको लागि राष्ट्रपति निर्वाचनको ढोक्सा थापिएको थियो र गठबन्धन निर्माण भएको हो । गठबन्धन निर्माणसँगै भारतीय चलखेलको प्रमुख बुख्याचा बनेर अहिले प्रचण्ड देखापरेका भए पनि यो नेपालमा भारत केन्द्रित राजनीतिक शक्ति निर्माण गर्ने पुरानै ‘गेम प्लान’अन्तर्गत भएको हो ।

२०४६ सालको परिवर्तनपछि राजाको प्रत्यक्ष शासन अन्त्य भएसँगै नेपालको राजनीतिक मियो दिल्ली पुर्‍याइएको थियो । माओवादी आन्दोलनको प्रयोग र शान्ति सम्झौता गराइको तरिकाबाट दिल्ली केन्द्रित शक्ति नेपालमा कसिलो र पूर्ण रुपमा हावी भएको थियो । तर, नयाँ संविधान निर्माण र भारतीय नाकाबन्दीपछि नेपालमा बढ्दो राष्ट्रवादी राजनीतिक चेत र नयाँ पुस्तामा देखिएको भारतीय हेपाहा प्रवृत्तिविरोधी भावनाका कारण दिल्ली केन्द्रित राजनीतिक शक्ति नेपाल फर्कंदै गरेको अवस्थामा थियो । यो अवस्था भारत र पश्चिमा देशहरुलाई सह्य थिएन ।

चीनको बढ्दो विकास र नेपाल तथा हिमालय क्षेत्रमा बढेको लगानीको कारण नेपालमा आफ्नो अनुकूलको राजनीतिक शक्ति निर्माण गरी चीनलाई हिमालय क्षेत्रमा रोक्ने र नेपाल जोड्ने कुनै निर्माण हुन नदिने नियतका साथ गतिविधिहरु बढेर गएका थिए । ओली सरकार गिराउने, एमाले फुटाउने र चुनावअघिको गठबन्धन निर्माण गर्ने काम सबै तिनै प्रयोजनकै लागि प्रायोजित थिए । गठबन्धन हुँदा पनि चुनावमा राम्रो नतिजा आउन नसकेकाले ‘गेम प्लान’ ले सोचे जस्तो शक्ति निर्माण हुन सकेन । नेपाली कांग्रेसलाई राज्य सत्तामा अविचलित विराजमान गराउने नीति असफल भयो । यो मौकामा अप्रत्याशित रुपमा एमालेले चौका हानेको थियो । तर, भारतीय दबाबका सामु प्रचण्ड टिक्न सकेनन् । फलस्वरूप नयाँ गठबन्धन बनाउन बाध्य भए ।

गठबन्धन हुँदा पनि चुनावमा राम्रो नतिजा आउन नसकेकाले ‘गेम प्लान’ ले सोचे जस्तो शक्ति निर्माण हुन सकेन । नेपाली कांग्रेसलाई राज्य सत्तामा अविचलित विराजमान गराउने नीति असफल भयो । यो मौकामा अप्रत्याशित रुपमा एमालेले चौका हानेको थियो । तर, भारतीय दबाबका सामु प्रचण्ड टिक्न सकेनन् । फलस्वरूप नयाँ गठबन्धन बनाउन बाध्य भए ।

भूराजनीतिक ‘गेम प्लान’ मा रुचाइएका मुख्य पात्र प्रचण्ड होइनन् । तर, चुनावी परिणाम कांग्रेसको पक्षमा नजानु र मधेसवादी दलहरु कमजोर हुनुका कारण एमालेलगायतको शक्तिलाई सत्ता बाहिर राख्न प्रचण्ड अनिवार्य आवश्यकता बने । सत्ता लामो समय टिकाउने, एमालेसँग नजिक हुँदा आफ्नो पार्टीको आधार कमजोर हुँदै जाने, एमालेसँगको गठबन्धनमा बसिरहँदा माधव नेपाललगायत एमालेतिर जान सक्ने र आफ्नो सरकारलाई भारतीय आशीर्वाद र सहयोग नहुने जस्ता आफ्नै स्वार्थसमेत हेरेर नयाँ गठबन्धनमा प्रचण्ड पुगेका हुन् । जे नै भए पनि भूराजनीतिक ‘गेम प्लान’अन्तर्गतको नयाँ शक्ति निर्माण गर्ने अभियानको सहायक प्रचण्ड नै बने । प्रयोग गरेर फाल्छन् अथवा केही समय नजिकमा नै राख्छन् भन्ने कुरा एमालेलगायत अन्य दलहरुको शक्ति कसरी विकास हुन्छ भन्ने कुराले निर्धारण गर्नेछ ।

भारतीय विदेश सचिव क्वात्राको अकस्मातको नेपाल भ्रमणले नै नयाँ गठबन्धनको खाका निर्माण गरेको थियो भन्ने प्रस्ट भैसकेको छ । भारतलगायतका शक्तिहरु नेपालमा आफ्नो स्वार्थअनुकूलको सत्ता समीकरण स्थापित गर्न आतुर छन् भन्ने कुरा लुकेको थिएन । क्वात्रा भ्रमणको भोलिपल्ट नै कांग्रेस र माओवादीका नेताहरु नयाँ गठबन्धन तत्कालै बन्छ भन्नेमा निश्चिन्त नै देखिएका थिए । यो बीचमा जे जति छलफल र भेटघाट भए ती सबै जनतामा छारो हाल्न प्रयोग भएका दृश्यहरु मात्रै थिए ।

एमालेका केपी ओलीले माधव नेपाल त के कांग्रेसका रामचन्द्र पौडेलको नाम आफैंले प्रस्ताव गरेको भए पनि नयाँ गठबन्धनले मान्नेवाला थिएन । राष्ट्रपतिमा कस्तो पात्र ल्याउने भन्नेमात्रै मुख्य कुरा थिएन । बरु एमालेलगायतका शक्तिहरु जो ‘गेम प्लान’ मा सजिलै समेटिने वाला थिएनन्, तिनीहरुलाई सत्ता बाहिर कसरी राख्ने भन्ने कुरा मुख्य थियो । हिमालय क्षेत्रमा बढ्दो शीतयुद्धको अहिलेको अवस्थामा भूराजनीतिक शक्तिहरुको नेपालमा सत्ता परिवर्तन गर्ने यो हतारोलाई गम्भीर भएर विचार गर्नुपर्ने आवश्यकता छ ।

भारतलगायतका शक्तिहरु नेपालमा आफ्नो स्वार्थअनुकूलको सत्ता समीकरण स्थापित गर्न आतुर छन् भन्ने कुरा लुकेको थिएन । क्वात्रा भ्रमणको भोलिपल्ट नै कांग्रेस र माओवादीका नेताहरु नयाँ गठबन्धन तत्कालै बन्छ भन्नेमा निश्चिन्त नै देखिएका थिए ।

नयाँ सत्ता समीकरण र गठबन्धन निर्माणसँगै अब देशलाई अहित गर्ने केही कामहरु तत्कालै सुरु हुनेछन् । राष्ट्रपतिबाट देश हितविपरीतको नागरिकता विधेयकलाई रोकेपछि नै आफू अनुकूलको राष्ट्रपति बनाउने कुराले महत्व पाएको थियो । भारतीय चाहनाअनुरुपको नागरिकता विधेयक पारित गराउने काम अब तत्कालै थालिनेछ । यो विषयलाई केन्द्रमा राखेर गठबन्धन निर्माण गरिएको हो ।

नेपालका नदीनाला र जलविद्युतसम्बन्धी भारतीय कुदृष्टिले अब मूर्त रुप लिन थाल्नेछ । शेरबहादुर देउवा प्रधानमन्त्री भएर भारत भ्रमण गरेको बेला नेपालको जलविद्युत प्रयोगमा भारतीय आधिपत्यको बारेमा देशविरोधी सम्झौता गरेर आएका छन् । यो विषयमा नेपालमा खासै चर्चा गरिएन । ‘बाह्र भाइ’ मार्काको नेपाली प्रेस जगतले यस्तो कुरा कहिल्यै बाहिर ल्याउने कुरै भएन । सबैभन्दा महत्वपूर्ण कुरा नेपाललाई अति आवश्यक, देशको स्वाभीमानको मेरुदण्ड बनेको नेपाल र चीनबीचको कनेक्टिभिटी र पारवहन पूर्वाधारहरु यो सत्ता समीकरण रहुञ्जेल अब सजिलै निर्माण हुने छैनन् ।

प्रचण्डलाई बुँख्याचा बनाएर नयाँ गठबन्धन बनेको छ । भारतीय आशीर्वादविना नेपालमा केही हुँदैन भन्ने मनोवैज्ञानिक त्रास नेपालीहरुबीच निर्माण गर्न सफल भएको छ । जनतामा निराशाको सञ्चार भएको छ । निराशाले थप अस्थिरता निम्त्याउँछ र त्यस्तो अस्थिरता भूराजनीतिक स्वार्थपूर्ति गर्न अति आवश्यक हुन्छ । फुटाउ र राज गर भन्ने नीति पुनः सफल कार्यान्वयन भएको छ । कति दिन टिक्ने हो थाहा छैन । तर, अहिलेलाई क्वात्रा अभियान सफल भएको छ ।


प्रतिक्रिया

One thought on “नयाँ गठबन्धनसँगै क्वात्राको जीत- दिल्ली पुनः नेपाली राजनीतिमा हावी, भूराजनीतिक भूमरीमा नेपाल

  1. दिल्लीका भाडाका टट्टु हुन तयार हुनेलाई जनताले नहराएसम्म देशमा केही हुँदैन । फैैसला जनताको हातमा । काँग्रेस, माओवादी , एस, जनमोर्चा र तराईका अहिलेका भाडाका टट्टु हुन तयार हुनेलाई छानेर देशमा सधैं अस्थिरता निम्त्याउने कि स्वाभिमान र देशको विकासमा लाग्ने ईमानदार एमाले रोज्ने जनताको हातमा छ । राम्रो कुराको अपेक्षा गरेर मात्र हुँदैन छनौट सोही बमोजिम हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर