सबै धनी हुन खोज्दा सहकारीमा समस्या भयो, समाधानका लागि तयार छु : मन्त्री राई (भिडिओ)


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानूनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताएका छन् ।
आर्थिक मिडिया सञ्चालक संघले आइतबार काठमाडौंमा आयोजना गरेको सहकारीमा संकटः कारण र समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री राईले सवैले विधिमा रहेर सीमामा रहेर र कानूनलाई अवज्ञा नगरी काम गर्नुपर्नेमा त्यसो नभएकाले सहकारीमा समस्या देखिएको बताएका हुन् ।
उनले सरकारीले गाँउगाँउमा धेरै राम्रो काम गरेपनि सहकारीको नकारात्मक हल्लाले समस्या देखिएको धारणा राखे । सहकारीमा देखिएका समस्याहरु समयमा नै समाधान गरि यसलाई सहज रुपले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री राईले सहकारीका विषयमा देखिएका समस्याहरु समाधानका उपायहरुका बारेमा जानकारी गराउन आग्रह गर्दै अध्ययन गरि उचित समाधानको बाटो खोजिने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य चिन्तामणी सिवाकोटीले अनुगमन गर्ने निकायलाई व्यबस्थीत गर्न नसक्दा समस्या देखिएको बताए । उनले ५० करोड भन्दा बढीको पुँजी भएको सहकारीलाई नेपाल राष्ट्र बैंकले हेर्नुपर्छ भनिएपनि राष्ट्र बैंकसंग त्यो अधिकार नै नरहेको जिकिर गरे ।
त्यस्तै, उनले विश्वभर आएको आर्थिक मन्दीको असर पनि सहकारीमा देखिएको बताए ।