दिलीप महतोको हत्या आरोपमा क्रसर सञ्चालक र टिपर ड्राइभरसहितलाई कैद तथा जरिबाना – Nepal Press

दिलीप महतोको हत्या आरोपमा क्रसर सञ्चालक र टिपर ड्राइभरसहितलाई कैद तथा जरिबाना

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका-५ का दिलीप महतो हत्यामा दुई अभियुक्त र एक मतियारलाई जिल्ला अदालतले सजाय तोकेको छ ।

अदालतले मुख्य अभियुक्तद्वय विपिनकुमार महतो र मुनिन्द्र महतोलाई जनही २५ वर्ष कैद र ५ लाख तथा मतियार जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र अढाई लाख रुपैया क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो । जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङले उक्त सजाय तोकेका हुन् ।

विपिन चुरियामाई बालुवा प्रशोधन (क्रसर उद्योग) का सञ्चालक हुन् । उनले दीलिप महतोकै जग्गामा क्रसर उद्योग चलाएका थिए । सजाय पाएका अर्का व्यक्ति मुनिन्द्र टिपर ड्राइभर र जितेन्द्र लोडर ड्राइभर हुन् ।

दिलीप महतोको हत्या भएको ठहर गर्दै फागुन ३ मा अदालतले उनी तीनैजनालाई मुलुकी अपराध संहिताको दफा १७७ को १ अनुसार दोषी ठहर गरेको थियो । घटनाका आरोपी रोशनकुमार यादव, शत्रुघन महतो, सत्यनारायण महतो र विनोदकुमार महतो सफाइ पाएका थिए ।

औरही खोलामा हुने अवैध उत्खननको विरोध गर्दा ०७६ पुस २२ गते क्रसर सञ्चालक महतोको निर्देशनमा टिपरले किचेर दीलिपको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

दिलीपलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने भन्दै चुरे अभियन्ताले पटक-पटक दबाब दिइरहेका छन् । जनकपुरमा विभिन्न माग राखेर धर्ना बसेका चुरे अभियन्ता र सुकुम्बासीहरूले पनि दीलिपलाई शहीद घोषणाको माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर