सन्दीपको पुनरावेदनमाथि होला त सुनुवाइ ?


काठमाडौं। आफूलाई विदेश भ्रमणमा रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दर्ता गरेको पुनरावेदनको पेशी शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा चढेको छ।
खतिवडाको इजलासमा तोकिएका १५ वटा मुद्दाको अन्तिम नम्बरमा सन्दीपको निवेदन रहेको छ। पेशी सूचीमा स्थानीय निर्वाचनमा समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई भएको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्धको मुद्धा पनि रहेको छ।
सुरुको एक घण्टामा चारवटा मुद्धाको सुनुवाई भइसकेको छ। शुक्रबार सुनुवाई नभएको अवस्थामा सन्दीपको यूएई जाने सम्भावना समाप्त हुने छ। हेर्न नभ्याइएको अवस्थामा अर्को शु्क्रबार मात्र पेशीको पालो आउने छ। नेपालले विश्वकप लिग-२ अन्तर्गत आगामी साता यूएईमा त्रिदेशीय शृंखला खेल्दै छ।
यसअघि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। तर उनलाई विदेश जान भने रोक लगाइएको थियो। धरौटीमा छुटेयता सन्दीपले विश्वकप लिग(२ अन्तर्गत घरेलु मैदानमा भएको नामिबिया र स्कटल्यान्डसम्मिलित त्रिदेशीय शृंखलामा सहभागी भइसकेका छन्। उक्त शृंखलामा सन्दीपले सर्वाधिक ११ विकेट लिएका थिए।
सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालयले गरेको पुनरावेदनको पेशी पनि शुक्रबार चढेको छ। प्रकाशकुमार ढुंगाना र हरिकुमार फूयाँलको इजलासमा उक्त पुनरावेदनको पेशी छ। सन्दीपले आफ्नो पुनरावेदन सरकारी वकिल पक्षले दर्ता गरेको पुनरावेदनसँगै राखेर हेर्नुपर्ने माग पनि गरेका छन्।