मकवानपुरमा जंगली हात्तीको वितण्डा: तीन दिनमा दुईजनाको मृत्यु, एक घाइते


हेटौँडा । मकवानपुरमा तीन दिनको अन्तरालमा जंगली हात्तीको आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुन्जको सीमा क्षेत्र रहेको पश्चिम मकवानपुरको मनहरी गाउँपालिका हुँदै प्रवेश गरेको जंगली हात्तिको आक्रमणमा परि तीन दिनको अवधिमा दुईजनाले ज्यान गुमाएका छन भने एकजना घाइते भएका छन् ।
गत फागुन ८ गते हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी मनहरी गाउँपालिका वडा नंबर ४ की ६४ वर्षीय राधा अधिकारीको उपचारको क्रममा मृत्यु भएको थियो ।
अधिकारीको मृत्यु भएको तीन दिन पछि फागुन ११ गते राती सोही हात्तीको आक्रमणमा परि पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ का ५० वर्षीय सन्तलाल माझीको मृत्यु भएको हो । बाख्रा ब्याएको र पाठापाठीलाई दुध खुवाउन गोठ गएको समयमा केही समय अघि जंगली हात्तीले उनलाई आक्रमण गरि बेहोस बनाइदिएको थियो ।
बेहोस अवस्थामा रहेका माझीलाई उपचारको लागी हेटौँडा ल्याइएकोमा हेटौँडा अस्पतालमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पश्चिम मकवानपुरको मनहरीबाट प्रवेश गरेको जंगली हात्ती मनहरीमा मानिस सहित बालिनालिको क्षति गरि हेटौँडा उपमहानगरपालिका हुँदै बकैया प्रवेश गरेर वितण्ड मच्याईरहेको छ । बकैया प्रवेश गर्ने क्रममा जंगली हात्तीले हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ का एकजना स्थानीयलाई घाइते बनाइदिएको थियो ।
जंगली हात्तीलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको भएपनि हालसम्म कावुमा लिन नसकिएको प्रहरीको भनाई रहेको छ । हात्ती नियन्त्रणको लागि जिल्ला वनको टोली सहित स्थानीय दु्रतमार्ग क्षेत्रमा रहेका नेपाली सेनाले समेत प्रयास गरेका छन् । तर हात्ती नियन्त्रणमा आएको छैन् । हात्तीले मानवीय क्षति पुर्याएपछि पूर्वी मकवानपुरका बासिन्दा त्रसित बनेका छन् ।