पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिन काठमाडौंले दुस्प्रचार गरिरहेको गुनासाे


पोखरा । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिन काठमाडौंले दुस्प्रचार गरिरहेको बताएका छन् । पोखरा महानगरपालिकाले बिहीबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विमानस्थल प्रमुख गौतमले पोखराको आकाश असुरक्षित छ भनेर काठमाडौंले दुस्प्रचार गरिरहेको बताएका हुन् ।
‘विमानस्थलमा साना, ठूला समस्या आइरहनेछन् । विश्वका सुरक्षित भनिएका विमानस्थलमा पनि यस्ता घट्ना भइरहन्छन् । ‘विमानस्थल वरपर चरा हुनु र विमानसँग चरा ठोक्किनुलाई सामान्य रुपमा लिनुपर्ने हो,’ विमानस्थल प्रमुख गौतमले भने, ‘चरा ठोक्किदैमा दुर्घटना हुन्छ नै भन्ने हुँदैन । विमानसँग चरा नठोक्कीई हावाका कारणपनि चरा मर्ने गर्दछ । यसलाई विमानसँग चरा ठोक्कियो भनेर दुस्प्रचार भइरहेको छ ।’
पोखरा र विमानस्थल सुरक्षित छ भन्नु पर्नेमा उल्टो असुरक्षित छ भनेर दुस्प्रचार भइरहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । पोखरा सुरक्षित रहेको सुचना प्रवाह गर्नसमेत उनले आग्रह गरे । ‘विमानस्थललाई लिएर मिडियामा आएका तथ्यहिन समाचारले समग्र पोखराको विकासमा असर पुग्छ । एकपक्षिय रुपमा विना तथ्य समाचार लेखि पोखरा असुरक्षित छ भन्ने विषयमा जोड नगरौं,’ मेयर आचार्यले भने ।
पोखरा महानगरपालिका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्यालाई समाधान गर्ने गरी लागिरहेको उनले सुनाए ।‘विमानस्थललाई सुरक्षित र चलायमान बनाउनु हाम्रो पहिलो दायित्व हो । यसका लागि सबैले हातेमालो गरौं,’ मेयर आचार्यले भने ।
काठमाडौंकै कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भारतले रुट दिन आनाकानी र नाईनास्ती गरिरहेको पोखरा महानगरपालिकाका सल्लाहकार आनन्दराज मुल्मीले बताए । ‘पोखराविरुद्ध षडयन्त्र भइरहेको छ, पोखरा र यहाँको विमानस्थल सुरक्षित छ । तर, काठमाडौं यसलाई गलत सावित गर्न प्रयासरत छ,’ मुल्मीले भने ।
विमानस्थल रात्रिकालिन उडानका लागि तयार भइसकेको विमानस्थल प्रमुख गौतमले बताए । ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा पनि उडान र अवतरण गर्न सकिने छ,’ उनले भने । हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतरण हुँदै आएको छ ।
विमानस्थल रात्रिकालिन उडानका लागि योग्य भएसँगै नीजि क्षेत्रका हवाई कम्पनीले रात्रिकालिन उडानको समेत तयारी थालेको विमानस्थल प्रमुख गौतमले दाबी गरे ।बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट र पोखरा—काठमाडौं रात्रिकालीन उडान फागुन २५ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।
‘विमानस्थलले म्याचुरिटी पिरियड पार गरेसँगै वुद्धले मार्च ९ गतेबाट रात्रिकालीन उडान गर्छ । काठमाडौंबाट पोखरा गएर ४ वटा बुद्धको विमान बास बस्छन्,’ बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका भने ।
३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनको झण्डै २२ अर्ब ऋणमा बनेको हो । जनवरी १ बाट सञ्चालनमा आएको उक्त विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।