सिरहामा मनि ट्रान्सफरका कर्मचारीबाट लुटियो ९ लाख, प्रहरीको हतियार खोसेर फरार


जनकपुरधाम । सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लग्दै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ ।
मिर्चैया-कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट प्रहरी र मनि ट्रान्सफरका कर्मचारीबाट लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका हुन् । अहिले लुटेरा खोज्न सिरहाका हरेक सडकमा प्रहरी परिचालन गरिएको छ ।
सिरहाका प्रहरीका अनुसार ज. ६ प. ४२५६ नम्वरको मोटरसाइकलमा प्रहरीको सुरक्षामा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारी मिर्चैयाबाट ९ लाख रुपैयाँ लग्ने क्रममा लुटेराले लुटेर फरार भएका छन् ।
मोटरसाइकलमा रहेका लुटेराले रकम र प्रहरीबाट हतियार समेत लगेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गरे । उनले थप विवरणका आउन नसकेको बताए ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिकृष्ण केसीले पनि मनि ट्रान्सफरका लागि कल्याणपुर लगिरहेका कर्मचारी र प्रहरीबाट ९ लाख रुपैयाँ लुटिएको बताए । उनले अहिले खोजतलासमा लागेकाले थप विवरण पछि दिने बताए ।