मायादेवी मन्दिरमा राखियो नयाँ प्रविधिको गजुर – Nepal Press

मायादेवी मन्दिरमा राखियो नयाँ प्रविधिको गजुर

सगरहवामा हुने मूर्ति कार्यशाला प्रभावकारी बनाउन विज्ञसँग छलफल

रुपन्देही । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ । स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको हो ।

गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखिएको हो । गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिईएको छ ।

यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ । यसअघिको मन्दिरको गजुर पूरानो र जीर्ण भइसकेको थियो ।

बाँदरले हल्लाउदा ढल्कने, पार्टपूर्जाहरु खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला सहयोग गर्ने दाताप्रति कोषका सदस्य सचिव शाक्यले धन्यवाद दिए । गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन)को कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।

मालिनोङ्ग र लर्टट्रथले भारतको कुशिनगरस्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीबृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताए । उनका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन ।

आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताए । नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आर्कषक देखिएको छ ।

सगरहवामा हुने मूर्ति कार्यशाला प्रभावकारी बनाउन विज्ञसँग छलफल

आगामी फागुन २३ गतेदेखि ऐतिहासिक बुद्धस्थल सगरगहवामा गरिने कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशालालाई प्रभावकारी बनाउन तयारी थालिएको छ ।

लुम्बिनी विकास कोषले प्रस्तर मूर्ति कार्यशालाका लागि सगरहवाको ऐतिहासिक र बुद्ध जीवनीसँग जोडेर विषयस्तुको छनौट गर्न विज्ञ समूहसँग छलफल गरेको छ ।

बुद्ध जीवनसँग जोडेर सगरहवाको कथालाई प्रस्तर (ढुंगा) मा उजागर गर्ने गरी ‘थिम’ निर्माण गर्नुपर्ने विज्ञहरुको निश्कर्ष छ ।

लुम्बिनी विकास कोषमा बसेको विज्ञ समूहको बैठकले मूर्ति निर्माणका लागि सगरहवाको थिम निर्माण गरी अन्य व्यवस्थापकीय कामहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।

मूर्तिकार छनौट गर्ने, मूर्ति कार्यशालाको स्थलका लागि पुरातत्व विभाग र स्थानीय सरकारसँग समन्वयन गर्ने, कार्यशालाको लोगो निर्माण गर्ने निर्णय गरेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।

यस्तै, कार्यशालाको आवश्यक निर्णयका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यकारिणी सदस्य नरेशप्रसाद कोहार, परिषद सदस्य गोपिकृष्ण शर्मा, विज्ञ समितिका संयोजक पोमनारायण पौडेल, पर्यटन विकास परिषदका निर्देशक रामु जोशी र कोष तिलौराकोट प्रमुख माधवप्रसाद आचार्य सदस्यसचिव रहने गरी सचिवालय गठन गरेको छ ।

कपिलवस्तु नगरपालिका वडा न. ९ मा रहेको सहगरहवालाई केन्द्रमा राखेर प्रस्तर मूर्ति कार्यशाला हुने भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर