सातै प्रदेशमा पर्यटन पूर्वाधारमा ठूलो लगानी गर्दैछौँ : वरिष्ठ उपाध्यक्ष ढकाल


कर्णाली । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सात वटै प्रदेशमा स्पष्ट रुपमा देखिने खालका पर्यटन पूर्वाधार निर्माणमा आफू लागिरहेको बताएका छन् ।
चौथो कर्णाली महोत्सवको दोस्रो दिन कर्णालीमा लगानी सम्बन्धी सत्रमा आफ्नो धारणा राख्दै वरिष्ठ उपाध्यक्ष ढकालले आफूले कर्णाली प्रदेशसहित सात वटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य बन्ने गरी पर्यटन पूर्वाधारमा ठूलो लगानीको तयारी गरिरहेको बताए ।
‘म अबको केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्दै गर्दा मैले ७ वटै प्रदेशको ७७ वटै जिल्लामा ७७ वटा आयोजनाको सुरुवात गर्ने सोच बनाएको छु । त्यो योजना स्थानीय सम्भावना रहेको जुन सुकै क्षेत्रमा हुन सक्छ । त्यो चाहे पर्यटन, कृषि तथा पूर्वाधार होस् वा अन्य उत्पादनमूलक क्षेत्र । मैले स्थानीय व्यवसायीहरूलाई सँगै लिएर उहाँहरूसँगको सहकार्यमा आयोजना अघि बढाउने विचारमा छु,’ उनले भने ।
कर्णाली प्रदेश अन्तर्गत मुगुको रारामा पर्यटन पूर्वाधारमा लगानीको लागि तयारी भइरहेको बताउँदै उनले केही समयभित्रै सबैले महसुस गर्ने गरी यहाँको पर्यटन पूर्वाधारमा लगानी हुने जानकारी गराए ।
‘म नेपालको निजी क्षेत्रको नेतृत्वमा रहँदै गर्दा महासंघको तर्फबाट, देशभरका उद्यमी व्यवसायीको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट लगानी जुटाउने जिम्मा मेरो भयो । अझ हामीसँग यहाँ गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने पनि हुनुहुन्छ । हामीले उहाँहरूसँग सहकार्य गरिसकेका छौँ । उहाँहरूको पनि लगानी भित्र्याउन सकिन्छ,’ उनले भने ।
उनले सरकारले नीति नियम बनाउँदा सम्बन्धित पक्ष वा सरोकारवालासँग छलफल नगरी बनाउने गरेकोले त्यस्ता नीति नियम कार्यान्वयनमा कठिनाइ हुने र खोजेको उद्देश्य पनि प्राप्त हुन नसकेको बताए ।
‘सरोकारवाला निकायसँग छलफल नै नगरी नीति नियम बनाउने चलन छ । अधिकांश नीति नियम बनाउँदा निजी क्षेत्रलाई साक्षी मात्र राख्ने गरिन्छ । यसले गर्दा उक्त नीति नियम कार्यान्वयन पनि हुन सक्दैन र त्यसले चाहेको नतिजा पनि दिन सक्दैन । त्यसैले सरोकारवाला निकायसँग आवश्यक छलफल गरेर, उनीहरूलाई सहभागी गराएर नीति नियम बनाउने गरौँ,’ उनले भने ।