गण्डकी प्रदेश सभा बैठक ३ बजे बस्दै


पोखरा । गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठकमा यसअघि प्रदेश सभाबाट स्वीकृत भएका दुई अध्यादेश प्रतिस्थापन विधेयक टेबल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए । यसअघि उक्त प्रतिस्थापन विधेयक फागुन ५ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।
गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माघ १९ गते बसेको प्रदेश सभा बैठकले स्वीकृत गरेको थियो । संविधानले प्रदेश सभाबाट स्वीकृत अध्यादेश प्रदेश सभा बैठकको ६० दिनभित्र स्वत निष्क्रिय हुने प्रावधान छ ।
‘अध्यादेश निष्क्रिय तथा खारेज नभएमा प्रदेश सभा बैठक बसेको ६० दिनपछि स्वत निष्क्रिय हुनेछ,’ नेपालको सविधान, २०७२ को धारा २०२ को ‘ग’ मा भनिएको छ ।
उक्त अध्यादेश ऐनको रुपमा मान्यता दिन सरकारले प्रतिस्थापन विधयक ल्याएको प्रवक्ता सुवेदीले बताए । ‘अध्यादेश प्रदेश सभाबाट स्वीकृत भइसकेको छ, त्यसको ६० दिनपछि स्वत निष्क्रिय हुन्छ, त्यसलाई प्रतिस्थापन गर्नका लागि विधेयक ल्याउने हो, त्यस्तै कानुन ल्याउने हो, त्यसको अनुसार विधेयक ल्याइएको हो,’ सुवेदीले भने, ‘यो कानुनमा चाहिँ सबै छलफल पनि हुन्छ, संशोधन पनि हुन सक्छ ।’
प्रदेश सभा बैठक अघि १ बजे राजनीतिक दलहरुको बैठक बस्नेछ । उक्त बैठकमा विधेयक, समिति गठनका विषयमा छलफल हुने प्रदेश सभा सचिवालयका प्रवक्ता सुवेदीले बताए ।