भुपाल राईको प्रश्नः ८३ जना प्राज्ञमा १३ जना राई पर्दा के अचम्म भयो ? – Nepal Press
नेपाल टक

भुपाल राईको प्रश्नः ८३ जना प्राज्ञमा १३ जना राई पर्दा के अचम्म भयो ?

काठमाडौं । कवि भूपाल राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भाषा एकेडेमीको कूलपतिमा नियुक्त गर्‍यो । संगीत तथा नाट्य एकेडेमीको उपकुलपतिमा शम्भु राई र ललितकला एकेडेमीमा नारदमणि हार्तम्छाली कुलपतिमा नियुक्त भए । संगीत तथा नाट्य, ललितकला र नेपाल प्रज्ञा प्रतिष्ठान (भाषा एकेडेमी) को गठन हुँदा मन्त्री सुदन किराँतीले १३ जना राईहरुलाई नियुक्ति दिएको भन्दै सञ्जालमा आलोचनासमेत भइरहेको छ । यही विषय र कुलपति भुपाल राईको आगामी योजनाबारे नेपालप्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंशः

– पछिल्लो समय एकेडेमी गठन हुँदै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दर्जन बढी राईहरुलाई एकेडेमीमा नियुक्ति दिए भनेर आलोचना भइरहेको छ । यस विषयमा तपाईंको प्रस्ट धारणा के हो ?

संघीय गणतन्त्र नेपालको मूल्य र मान्यताअनुसार गठन भएको एकेडेमी हो यो । संघीय गणतन्त्र नेपाल भनेको राज्यको सबै संयन्त्र र अवयवहरुको पुनर्संरचना हुनु हो । पहिला त्यो बुझ्नुपर्छ । गणतन्त्र बहालीपछि पहिलोपटक भूपाल राई कुलपति भयो भनेर मैले यो भनिरहेको छैन । तर, अहिले जस्तो सेट एकेडेमीमा बनेको छ, त्यसले दिने संकेत भनेको एकेडेमीको पुनर्संरचना रुप र सार दुवै कुराले भएको प्रस्ट पार्छ । अहिलेको एकेडेमी पुनर्संरचित भएको हो ।

नयाँ प्राज्ञिक व्यक्तित्वहरु एकैपटक आउँछ, नयाँ अनुहार एकेडेमीमा आउँदा त्यसलाई पचाउन नसक्ने मानिसहरुको मनोवाद हो, अहिले छिटफुट आइरहेका प्रश्नहरु । एकेडेमीमा राईहरुमात्रै छन् भनियो, सुन्दा पनि अचम्म लाग्छ । कतिले एकेडेमीको नौमा ६ जना राई छन् भनेर पनि हल्ला चलाए । तर, एकेडेमी कसरी गठन हुन्छ, प्राज्ञ सभा, प्राज्ञ परिषद् के हो ? त्यो पहिला बुझ्नु त पर्‍यो नि ! तीनवटा एकेडेमीमा ८३ जना प्राज्ञ छन् । त्यसमा १३ जना राई कति प्रतिशत हो ? बाँकी ७० जना पनि राई नै हुन् ?

आदिवासी जनजातिको देशमा प्रतिशत कति हो ? प्रतिशत हेर्दा अझै पुगेको देखिँदैन । तीनवटै एकेडेमीमा अधिकांश खसआर्य छन् । राईहरु धेरै भयो भन्दै गर्दा परिषद् सदस्यको नामावली हेर्दा भइहाल्छ नि ! भाषा एकेडेमीमा ११ जनामध्ये दुईजना राई छन् । त्यसमा के आपत्ति छ ?

मैले पनि अघिल्लो कार्यसमितिले विवादास्पद निर्णय गर्‍यो भनेर साहित्यिक माहोलमा सुनिरहेको छु । यसलाई मैले गम्भीर ढंगबाट हेरेको छु । यसबारे अध्ययन गर्छु । कार्यदल नै गठन गर्छु ।

– अघिल्ला एकेडेमी गठनको स्वरुप हेर्दा यसपटक तुलानात्मक रुपमा राईहरुको संख्या त बढी भएको हो नि ?

तुलनात्मक रुपमा पहिलाको गठन एकल जातीय थियो । अहिले भने जातीय, क्षेत्रीय हिसाबले समावेशी भएको छ । नेवार, मगर, लिम्बू, महिलाहरु परेका छन् । दलित, मधेसी परेका छन् । पहिलोपटक नाट्य तथा संगीत एकेडेमीले महिला नेतृत्व पाएको छ । ८३ मा १३ जना राई पर्दा अचम्म मान्नुपर्ने केही त्यस्तो देखिँदैन ।

एकेडेमीले पञ्चायती नजरिया बचाएर राखेको थियो । त्यसलाई यसपटक ब्रेक गरेको छ । संघीय गणतन्त्रको स्पिरिटअनुसार गठन भएको हो । १२-१२ वर्ष एकै व्यक्तिको नाम देख्ने बानी परेको मान्छेलाई भूपाल राई एकेडेमीमा आउँदा अनौठो लागेको हो ।

– राईहरुले अन्य जनजाति, आदिवासीलाई पाखा लगायो भन्ने अर्को आरोप छ नि ?

नेपालमा गीत-संगीत, साहित्य, कला, भाषाको क्षेत्रमा आदिवासी जनजातिको ठूलो योगदान छ । उनीहरुको सबैभन्दा बढी त सांस्कृतिक क्षेत्रमा योगदान हो । राजनीतिक क्षेत्रमा पनि योगदान छ । तर, त्यहाँ उनीहरु छैनन् । त्यहाँ उच्च जातिकै दबदबा छ भने उनीहरुलाई कहाँ लाने त ? कि सिमाना कटाएर लखेट्ने ? उनीहरुको क्षेत्र पनि कटौती गर्ने हो भने कहाँ लाने त ?

राईहरुलाई लाहुरे हुन्छ भन्ने मात्रै सोच्नेहरुले अफवाह फैलाएका हुन्, राईहरुले अन्यलाई पाखा लगाए भनेर । तर, यो देशको गीत, संगीतमा राईहरुको ठूलो योगदान छ । त्यति नै योगदान अन्य आदिवासी, दलितहरुको छ । त्यसको न्यायोचित सम्बोधन सरकारले गरेको छ । सबैलाई समेटेको छ ।

– राईहरुमा पनि यसपटक खोटाङ र भोजपुरका राईहरु बढी हावी भएको देखियो । मन्त्री किराँतीले आफ्नो क्षेत्र र समुदायप्रति सदासयता देखाए भन्ने आरोप पनि छ नि ?

भोजपुरका दुई राईहरु तत्तत् स्थानमा अयोग्य छन् र ? योग्य भएरै आएका हुन् । ललितकलाको कुलपतिको योगदान छैन यो देशमा ? एउटा राई इतिहासमै पहिलोपटक एकेडेमीको नेतृत्व तहमा आएको छ । यसलाई अन्यथा ठानेर आलोचना गर्ने कि गणतन्त्र नेपालको मूल्य र मान्यतालाई आत्मसात गरेको ठान्ने ? यहाँ हाम्रो स्वविवेकको सबैभन्दा ठूलो परीक्षा हुन्छ ।

केहीले सञ्जालमा राईहरु धेरै भए भने होलान् । अनि राईहरु आउनुपर्छ भन्ने आवाजको तथ्यांक चाहिँ कमजोर छ त ? यसलाई गिजोल्ने काम गर्नुहुँदैन । हामीले लामो समयसम्म एउटा समुदायलाई स्वीकारेकै हो । एकै व्यक्तिलाई १२ वर्षसम्म चुपचाप स्वीकार गरेकै हो । अरुले पनि त्यो सहिष्णुता देखाउनुपर्‍यो नि ! अनि पो यो देश सबैको हो भन्ने साझा अनुभूतिको विकास हुन्छ ।

एकेडेमीले छापेको बृहत् शब्दकोष अध्ययन गर्छु पहिला । एकेडेमीले प्रकाशन गरेको शब्दकोषमा धेरै शब्दको शाब्दिक परिभाषा विवादित छन् । शब्दकोषमा हामीले अहिलेको युगअनुसारको परिभाषित शब्द राख्नुपर्छ ।

– एकेडेमीको अघिल्लो कार्यसमितिले निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीको कार्यकाल सकिँदै गर्दा आजीवन सदस्यमा सिफारिस गरेको भनेर खुबै आलोचना भएको थियो । अहिले अदालतमा यो मुद्दा विचाराधीन छ । यसलाई कसरी हेरिरहनुभएको छ ? अघिल्लो कार्यकालको उक्त निर्णय सदर वा बदर हुन्छ ?

कुलपतिको हिसाबले भर्खरै पद बहाल गरेको छु । मैले पनि अघिल्लो कार्यसमितिले विवादास्पद निर्णय ग¥यो भनेर साहित्यिक माहोलमा सुनिरहेको छु । यसलाई मैले गम्भीर ढंगबाट हेरेको छु । यसबारे अध्ययन गर्छु । कार्यदल नै गठन गर्छु । अदालत गएको विचाराधीन विषयलाई कसरी हेर्ने, एकेडेमीको प्रावधान कस्तो छ, त्यसलाई पनि हेर्छु । एकेडेमी भाषा, साहित्यको सर्वाेच्च निकाय हो । यसलाई प्रदूषित बनाउनुहुन्न । म ऐन, कानून, नियमावली हेरेपछि यसबारे निर्णय गर्छु ।

– निवर्तमान कुलपति आजीवन सदस्यमा सिफारिस भएपछि एकेडेमीको २० आजीवन सदस्यलाई लिएर अनेक प्रश्न उठिरहेको छ । वार्षिक डेढ करोड रुपैयाँ आजीवन सदस्यलाई जाँदै गर्दा एकेडेमीलाई आर्थिक भार परेको प्रसंग पनि उठिरहेका छन् नि ?

राज्यको दोहोरो सुविधा लिएर स्रोतको दोहन गरिरहेकाहरुमाथि गम्भीर ढंगले अध्ययन गर्छु । दोहोरो सुविधा लिइरहेका स्रष्टा छन् भने एकेडेमीलाई भार नै हो । नितान्त अरु व्यवसाय नहुने, आयको स्रोत नहुने, उमेर पुगेका स्रष्टालाई त्यो आवश्यक पनि होला । राज्यको दायित्व पनि हो त्यो ।

एकेडेमीमा राज्यले विनियोजन गर्ने बजेटको ९० प्रतिशतभन्दा बढी रकम कर्मचारीको तलबभत्ता र प्राज्ञहरुको सेवा-सुविधामै खर्च हुने गरेका रिपोर्टहरुले देखाउँछन् । तर, प्राज्ञहरुको योजना भने ठूल्ठूला र महत्वाकांक्षी हुन्छन् । ती योजना १० प्रतिशत पनि बाँकी नरहने बजेटले सम्भव होला ?

कर्मचारी आवश्यकीय कति छन्, अतिरिक्त कति छन्, त्यसमा भर पर्छ । यदि फाल्तु काममा बढी खर्च भएको छ भने त्यसलाई न्यूनीकरण गरेर, मितव्यय अपनाएर एकेडेमीलाई आर्थिक बोझ नपर्ने गरी अध्ययन, अनुसन्धानका कामहरु अगाडि बढाउनेछु । मैले धेरै अध्ययन गर्न पाएको छैन, पहिला अध्ययन गर्छु । सबै सम्पत्तिको विवरण हेर्नुपर्छ मैले । आजीवन सदस्यकै नामावली हेर्नुपर्छ । ती सबै पाटो हेरेर राम्रो काम गर्ने योजना छ ।

पञ्चायतकालमा नेपाललाई चिनाउने मेची महाकाली भन्ने ढड्डा निकालिएको थियो । अहिलेको नेपाललाई चिनाउने बृहत पुस्तकको पाँच-छ ठेली निकाल्छु । सातै प्रदेशको भूगोल, संस्कृति, समाज, पर्यटनलगायत च्याप्टरहरु समेट्ने योजना छ ।

– अबको चार वर्षे कार्यकालमा योजनाहरु चाहिँ के के छन् तपाईंका ?

एकेडेमीले छापेको बृहत् शब्दकोष अध्ययन गर्छु पहिला । एकेडेमीले प्रकाशन गरेको शब्दकोषमा धेरै शब्दको शाब्दिक परिभाषा विवादित छन् । शब्दकोषमा हामीले अहिलेको युगअनुसारको परिभाषित शब्द राख्नुपर्छ । जातजाति, दलित, महिलालाई हेर्ने दृष्टिकोण विवादित छ । आदिवासी, दलित, महिला संघसंस्थालाई पत्र काट्छु अब । कुन शब्दमा आपत्ति छ, तालुकदार संस्थाले सूचना दिनुस् र हुनुपर्ने के हो भनेर चिठी काट्नेछु । अनि विज्ञ समिति निर्माण गरेर शब्दकोष निर्माण गर्न लाग्छु । विवादित शब्द राखेर नयाँ नेपाल निर्माण सम्भव छैन ।

पञ्चायतकालमा नेपाललाई चिनाउने मेची महाकाली भन्ने ढड्डा निकालिएको थियो । अहिलेको नेपाललाई चिनाउने बृहत पुस्तकको पाँच-छ ठेली निकाल्छु । सातै प्रदेशको भूगोल, संस्कृति, समाज, पर्यटनलगायत च्याप्टरहरु समेट्ने योजना छ ।

एकेडेमीलाई स्थापनाकालदेखि ऐनको प्रस्तावनामै समग्र भाषा, जाति, साहित्य, समाजशास्त्र, दर्शनमाथि बहस गर्ने, संरक्षण र प्रकाशन गर्ने संस्था भनिएको छ । तर, अहिलेसम्म सबै भाषा भने पनि एकल भाषी छ । मेरो कार्यकालमा सबै भाषामा जोड दिन्छु । अनुवादमा पनि खट्नेछु । हाम्रो कुरा बाहिर लैजाने, बाहिरको कुरा नेपाल ल्याउने काममा लाग्छु ।

त्यहाँ भएका सबै विभागहरुलाई बहुभाषी विभाग बनाउनुपर्छ । मातृभाषा विभागलाई मातृभाषा विभाग भनेको छ, खस नेपाली भाषाबाहेकको सबै भाषाभाषीको कुरा छ त्यहाँ । खस नेपाली भाषा चाहिँ मातृभाषा हुँदैन ? त्यो विषय निर्क्याेल गर्दैछु ।

पाठ्यक्रम विकास केन्द्र छ । पाठ्यक्रम निर्माण भनेको त प्राज्ञिक कर्म हो । त्यहाँ एकेडेमी जोडिएको छैन । कस्तो पाठ्यक्रम निर्माण गर्ने भन्ने विषय एकेडेमीको पनि हो । त्यसमा हामीले सहकार्य गर्नुपर्छ । शिक्षा र संस्कृति मन्त्रालयले सहकार्य गर्नुपर्छ । साथै मौखिक इतिहासलाई एकेडेमीको अर्काइभ वा लाइब्रेरीमा विकास गर्छु । लिखित इतिहास, साहित्य त धेरैथोर छन् । तर, जनताको इतिहास लिखित हुँदैन, मौखिक हुन्छ । त्यसलाई अर्काइभिङ गर्नु हाम्रो कर्तव्य हो ।


प्रतिक्रिया

3 thoughts on “भुपाल राईको प्रश्नः ८३ जना प्राज्ञमा १३ जना राई पर्दा के अचम्म भयो ?

  1. नव नीयूक्त कूलपती भूपाल राईजयूले एकदम राम्रो नीर्णय गर्नू भयो सेवास सेवास ।।

  2. नव नीयूक्त कूलपती भूपाल राईजयूले एकदम राम्रो नीर्णय गर्नू भयो सेवास ।

  3. नेपालको कुल जनसङ्ख्याको जम्मा 0.19 प्रतिशत रहेको राईको जनसङ्ख्यामा प्राज्ञको प्रतिशत १५.६६ हुनु समावेशिताको सिद्धान्त अनुसार ७८.७२ गुना बढी हो । अन्य क्षेत्रमा कुनै जातिको १.५ गुना बढी हुँदा कोकोहोलो मच्चाउनेहरु यो देख्दा किन चुप बसेका होलान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर