सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ‘लाइट लोड’को समस्या, चैत दोस्रो सातासम्म रहने


विराटनगर । भारतबाट आउने ८० मेगावाट विद्युतमा अवरोध आएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ‘लाइट लोड’को समस्या सुरु भएको छ ।
भारतबाट आउने महेन्द्रनगर–टनकपुर प्रसारण लाइनमा अवरोध आएपछि साँझ र बिहान कोरिडोरका उद्योगहरुमा लाइट लोडको समस्या आएको हो ।
नेपाल विद्युत प्राधिकरणले लाइट लोडको तालिका सार्वजनिक गर्दै साँझ र बिहान बढी विद्युत खपत हुने मेसिनहरु सञ्चालन नगर्न उद्योगीहरुलाई आग्रह गरेका छ ।
विद्युतको सप्लाई भएपनि भार थाम्ने गरिको विुद्यत नआँउदा कोरिडोरमा रहेका सिमेन्ट, प्लाष्टिक र स्टिल उद्योगहरुमा समस्या भएको उद्योगीहरुले बताएका छन् ।
विद्युतको लोड कम हुँदा चलिरहेको मेसिन बन्द हुने र यसले कच्चा पदार्थ बिग्रने समस्या भएको उद्योगीहरुले बताए ।
उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले विद्युत अवरोधको कुनै निश्चित समय नहुँदा मार खेप्नु परेको गुनासो गरे । प्राधिकरणले बिद्युत अवरोधको यकिन सेड्युल नदिएको उनको गुनासो छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवत्ता सुरेश बहादुर भट्टराईले विुद्युत लोडको सेड्युल सार्वजनिक गरेको बताए ।
उनले साँझ र बिहान दुई घण्टा विद्युतको भार कम हुने बताए । उनले भने, ‘हामीले तालिका दिएका छौ त्यो बेला विद्युत जाने नभई लोड धान्न नसक्ने भएकाले कम विद्युत खपत गर्ने मेसिन मात्रै चलाउन भनेका छौ ।’
उनले महेन्द्रनगर टनकपुरको अबरोध ११ दिनको भएको बताए । त्यहाँ मर्मतको काम भइरहेकाले विद्युत आपूर्तिमा अवरोध भएको बताए ।
महेन्द्रनगर टनकपुरको अवरोध हटेपछि पनि मध्य मर्स्याङ्दी र अपर मरस्याङ्दी पावर हाउसको प्रसारणमा अबरोध हुने भट्टराईले बताए ।
चैतको दोस्रो हप्ता सम्म विद्युत लोडको समस्या हुने उनले बताए । मध्य मरस्याङ्दीबाट ३८ मेगावट र अपरबाट पनि ३६ मेगावट विजुली आपूर्ति भइरहेको छ ।