एमालेबाट राष्ट्रपतिको उम्मेदवार को ? ओलीलाई मात्र थाहा छ ! – Nepal Press

एमालेबाट राष्ट्रपतिको उम्मेदवार को ? ओलीलाई मात्र थाहा छ !

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न अब एक साता पनि बाँकी छैन । तर, अहिलेसम्म राजनीतिक दलहरुले उम्मेदवार छान्न सकेका छैनन् ।

भावी राष्ट्रपतिमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको ठूलो दल नेकपा एमालेको दाबी छ । सम्भवतः यी दुई दलबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । तर, राष्ट्रपति चुनावको ‘निर्णायक’ नेकपा माओवादी केन्द्रले आफ्नो पत्ता नखोल्दा दुवै दलले उम्मेदवार तय गर्न नसकेका हुन् ।

पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । त्यसअनुसार एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने र उसलाई माओवादीले समर्थन गर्नुपर्ने एमालेको अडान छ । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै प्रचण्डको भाका फेरिएको छ ।

एमालेलाई राष्ट्रपति दिने पूर्वसहमतिबाट पछि हट्दै उनले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छन् । उनको भनाइको भित्री अभिष्ट चाहिँ एमालेलाई नदिने भन्ने नै हो । कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क भएर बसेको छ ।

फागुन २५ गते हुने निर्वाचनका लागि १३ गते मनोनयन हुँदैछ । प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओली निरन्तर संवादमा छन् । तर, प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकारात्मक बन्न नसक्दा गठबन्धनमा धाँजा फाटेको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग समानान्तर संवादमा छन् । एमालेले साथ छाडे पाँचै वर्ष प्रधानमन्त्री दिने आश्वासनसहित कांग्रेसले प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने प्रयास गरिरहेको छ ।

एमाले चाहिँ राष्ट्रपति कुनै हालतमा नछाड्ने पक्षमा छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउने र उसकै नाममा राष्ट्रिय सहमति गर्नुपर्ने बारम्बार बताइरहेका छन् । यदि माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरे के गर्ने भन्ने ‘प्लान बी’ एमालेसँग अहिलेसम्म छैन ।

एमाले सचिव योगेश भट्टराई एमालेले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्छन् । शनिबार सुर्खेत पुगेका भट्टराईले भने, ‘पाँच वर्षमा आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने प्रचण्डजीको प्रस्ताव हो । राष्ट्रपति एमालेलाई दिने कुरा पनि उहाँले नै गर्नुभएको थियो । त्यही सहमतिअनुसार अहिलेको गठबन्धन चल्छ । भत्काउने प्रयास असफल हुन्छ ।’

तर, सत्ता गठबन्धनमा राष्ट्रपतिको दाबी गर्दै आइरहेको एमालेले पार्टीभित्र अहिलेसम्म उम्मेदवारबारे प्रारम्भिक छलफलसमेत गरेको छैन । पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली आफूहरुले राष्ट्रपतिको उम्मेदवारबारे अहिलेसम्म कुनै छलफल नगरेको स्वीकार्छन् ।

उनी भन्छन्, ‘केही व्यक्तिहरुको नाम मिडियामा चर्चामा आएका छन् । तर, हामीले त्यसबारेमा कुनै छलफल गरेका छैनौं । एक–दुई दिनमा त्यसमा छलफल होला ।’

सामूहिक नेतृत्वमा चलेको भए पनि एमालेभित्र अध्यक्ष ओलीले तजबिजी अभ्यास गर्दै आएका छन् । राष्ट्रपतिको उम्मेदवारका सवालमा पनि उनकै एकल निर्णय लागू हुने भएकाले कुनै पनि नेताले मुख खोल्न नसकेको स्रोतको भनाइ छ ।

‘उहाँको मनमा कसको नाम छ भन्ने अहिलेसम्म हामीले अनुमानै गर्न सकेका छैनौं’, पार्टीका एक स्थायी कमिटी सदस्यले भने ।

यसअघि सभामुखमा एमालेले झापाका देवराज घिमिरेलाई अघि सार्दा पनि त्यो ओलीको एकल निर्णय नै थियो । राष्ट्रपति एमालेलाई दिँदा ओलीले अर्को ‘एस म्यान’ पठाउनसक्ने र सरकारलाई घेराबन्दीमा पार्न सक्ने भाष्य माओवादीभित्र बलियो छ । यसअघि प्रचण्डसँगको एक बैठकमा ओलीले राष्ट्रपतिका लागि डोरमणि पौडेल, गुरु बराल र विष्णु रिमालको नाम लिएको चर्चा चलेको थियो । ती नामहरुमा प्रचण्डले असहमति जनाएका थिए ।

एमाले उपमहासचिव रिमाल गएको निर्वाचनमा टिकट दिन तयार भए पनि चुनाव लड्न पछि हटेका थिए । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अहिले खाली छन् । यस्तै बराल एमालेका पुराना र ओझेलमा परेका नेता हुन् ।

बाहिर नखुले पनि एमालेभित्र राष्ट्रपतिका आकांक्षीहरु थुप्रै छन् । पार्टीको वरियतामा दोस्रो स्थानमा रहेका ईश्वर पोखरेलदेखि अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा, रामबहादुर थापा बादल, युवराज ज्ञवालीलगायतको नाम चर्चामा छ । तर, पार्टीले पाउने निश्चित नभएकाले उनीहरु कसैले पनि आफ्नो दावेदारी पेश गरेका छैनन् ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ अहिले चर्चामा आएकाहरुमध्येबाटै पार्टीमा राष्ट्रपतिको उम्मेदवार छानिने बताउँछन् । त्यसका लागि गठबन्धनमा सहमतिको प्रयास भइरहेको उनको भनाइ छ ।

राष्ट्रपतिको आकांक्षीका रुपमा हेरिएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टीको औपचारिक बैठकले मात्रै उम्मेदवारको टुंगो लगाउने बताउँछिन् ।

उनले भनिन्, ‘राष्ट्रपतिमा चर्चा मेरोमात्रै होइन अरु नेताहरुको पनि भइरहेको छ । चर्चालाई स्वाभाविक रूपमा लिन्छु । तर, व्यक्तिको चाहनाले हुँदैन । पार्टीभित्र छलफल गरेर संस्थागत निर्णय गर्नुपर्छ ।’

पार्टीबाट उम्मेदवारको निर्णय गरेपछि सबै दलको साझा बनाउने प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

शाक्यले भनिन्, ‘राष्ट्रपति पद कुनै पार्टी विशेषको नभएर सबैको साझा हो । त्यसैले बाहिर चर्चा भइरहेका नामलाई स्वाभाविक मान्नुपर्छ । तर, मैले आफूलाई राष्ट्रपति बनाउनुपर्छ भनेर कतै भनेको छैन । पार्टीको निर्णयअनुसार जसको नाममा सहमति हुन्छ त्यही बन्ने हो ।’

उनले सभामुखमा जस्तो पार्टी अध्यक्षको एकल निर्णय नमान्नेसमेत बताइन् ।

यस्तै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल पनि सत्ता गठबन्धनमा राष्ट्रपतिको विषयमा भएको पूर्वसहमति कार्यान्वयन गराउने विषयमै आफूहरु केन्द्रित रहेको बताए ।

उनले भने, ‘अहिले हामी पूर्वसहमति कार्यान्वयनको प्रयासमा छौं । त्यसैले अहिले व्यक्तिको विषयमा औपचारिक रुपमा प्रवेश गरेका छैनौं ।’

बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल आफू राष्ट्रपतिको दाबेदार भएको बताउँछन् ।

उनी भन्छन्, ‘मेरो नाममा भइरहेको चर्चालाई स्वागतयोग्य रुपमा लिएको छु । तर, मैले आफूलाई बनाउनुपर्छ, हुनुपर्छ भनेर अहिलेसम्म कसैलाई भनेको छैन । तर, भइरहेको चर्चालाई पनि अन्यथा रुपमा लिएको छैन ।’

उनले पार्टीले औपचारिक रुपमा निर्णय गरे आफू स्वीकार्न तयार भएको बताए ।

पौडेलले थपे, ‘अहिलेसम्म पार्टी नेतृत्वबाट औपचारिक प्रस्ताव आएको छैन । पार्टीभित्रको दाबेदारमध्ये म पनि एक हो । अहिले गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्ने नगर्ने भन्ने विषयमै विवाद छ । त्यसमा सहमति भइसकेपछि मात्रै पार्टीले उम्मेदवारको टुंगो लगाउँछ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै सत्ता गठबन्धनको तर्फबाट पार्टीले फागुन १३ गते राष्ट्रपतिकाे नाम सार्वजनिक गर्ने बताएका छन् ।


प्रतिक्रिया

2 thoughts on “एमालेबाट राष्ट्रपतिको उम्मेदवार को ? ओलीलाई मात्र थाहा छ !

  1. पेपरमा न्युज भन्दा पनि बिचार आउछ, तर्क गर्नु स्वाभाबिक !!
    :: यो ‘यस् म्यान’ भनेको के !? ओली ब्येक्ति हैनन, एमालेका अध्यक्ष्य हुन, उनले प्रस्ताव गरेको ब्येक्तिमा सहमति हुन्छ निर्णय हुन्छ !! एमालेले गरेको त्यो निर्णय ‘यस् म्यान’ हो !? ‘ राष्ट्रपती’ संस्था को अपमान गरी बोल्न कस्ले सिकायो !?
    :: अनी घेराबन्दी भनेको के !? देश जनता र तिनको भलाई गर्ने काममा के रोकावट भयो !? मनपरी गर्न पाउने छुट कस्लाई छ !?
    :: काङ्रेशले देखाएको हरियो घासमा प्रचन्ड फसे रे अनी काङ्रेशले ५ बर्ष प्रधानमत्री छोडि दियो रे ( यो काल्पनिक लद्दु खाएर मस्त हुने प्रचन्डको हालत ‘जोगिको सातु’ को जतै भएन छ भने लेखेर राखम, अनी काङ्रेशले त्यही गर्छ भने अनी तिनको राजनीति प्रचन्ड अनि तिनका सन्तान बोक्न मात्र हो !? ) अनी के हुन्छ !? काङ्रेशको सक्तिसाली सभापति आँफै ५ -६ पटक प्रधानमत्री भएका हैनन के भयो !? अनी काङ्रेशल्र बोकेको प्रचन्डले गर्न सक्ने के !?
    :: अहिले ओली र एमाले सँगको शहयात्राा हो, त्येशले यौटा सुदुर र सुन्दर भबिस्यको सम्भावना देखाउछ काङ्रेशले त बोक्ने हो, बोकेको ’स्याल’ हुन्छन प्रचन्ड !!
    :: के यो जत्ती निर्भिक, स्वतन्त्र र देशको लागि गर्न मन लागे गर्न सक्ने बातावरण काङ्रेशले बोक्दा प्राप्त हुन्छ !?

  2. यो खास राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न बाँकी एक साता छ भनेको अवस्था बहुत रोचक छ! यो सम्बन्धित सामग्री राजनीतिक दलहरुलाई कसरी प्रोत्साहित गर्ने हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर