कांग्रेसले एमालेबाट उम्काउला राष्ट्रपति ? यी हुन् सम्भावित उम्मेदवार – Nepal Press

कांग्रेसले एमालेबाट उम्काउला राष्ट्रपति ? यी हुन् सम्भावित उम्मेदवार

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै नेपाली कांग्रेसमा ५ जनाले आकांक्षा व्यक्त गरेका छन् । सत्ता गठबन्धनमा पुस १० गतेको सहमतिअनुसार माओवादी केन्द्रले एमालेलाई समर्थन नगर्ने संकेत पाएपछि कांग्रेसमा आकांक्षीको संख्या बढेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिएपछि सत्ता गठबन्धनमा अविश्वास बढ्दै गएको छ । यसबाट उत्साहित कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शुक्रराज शर्मा र मानबहादुर विश्वकर्माले राष्ट्रपतिमा दाबी गरेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा माओवादीको साथ पाउने अपेक्षा गरेको छ । माओवादी नेताहरु पनि एमाले अध्यक्ष केपी ओलीको ‘एस म्यान’ राष्ट्रपति हुन नदिन कांग्रेससँग निरन्तर संवादमा छन् ।

तर, पुस १० को सहमतिबाट माओवादी ब्याक भएको संकेत पाएपछि प्रचण्डलाई रिझाउन एमाले अध्यक्ष केपी ओली निरन्तर बालुवाटार धाइरहेका छन् । राष्ट्रपतिमा माओवादीले गुण तिर्ने अवस्था देखिएमा कांग्रेसबाट पौडेल या सिटौलामध्ये एकजनालाई अघि सार्ने सम्भावना छ ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा अनौपचारिक छलफल भए पनि औपचारिक रुपमा छलफल नभएको नेता मीनबहादुर विश्वकर्माले बताए । उनले नेता पौडेलको नाममा सहमति बन्नसक्ने संकेत गरे ।

देउवासँग निकट रहेका विकले भने, ‘उहाँ पार्टी सभापतिपछि दोस्रो भूमिकामा हुनुहुन्छ । आकांक्षा कृष्ण सिटौला, गोपालमान श्रेष्ठलगायत अरु नेताहरुले पनि राख्नुभएको छ । तर, शीर्ष नेता भएकाले वरियताको आधारमा पनि रामचन्द्र दाइको नाममा सहमति हुन्छ भन्ने लाग्छ ।’

उनले माओवादीले व्यक्तिलाई नभएर पार्टीलाई समर्थन गर्ने भएकाले सोहीअनुसार राष्ट्रपति निर्वाचनमा सहयोग हुने अपेक्षा व्यक्त गरे ।

नेता विकले थपे, ‘कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले सहमतिका लागि राष्ट्रिपति हामीलाई, दोस्रो पार्टी एमालेको सभामुख र तेस्रो पार्टीको प्रधानमन्त्री भए शक्ति सन्तुलन हुन्छ भन्ने माओवादीको दृष्टिकोण छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’

संविधानको रक्षा र सुशासन कायम गर्न आफूहरुले राष्ट्रपतिमा दाबी गर्नु स्वाभाविक भएको उनको जिकिर छ ।

पाँच जनाको दाबी

अघिल्लो पाँच दलीय सत्ता गठबन्धन कायम रहेको अवस्थामा नेता पौडेल राष्ट्रपति बन्ने निश्चितप्राय थियो । तर, देउवाले कांग्रेसले राष्ट्रपति लिएर पनि प्रचण्डलाई प्रधानमन्त्री दिन अस्वीकार गरेपछि नयाँ समीकरण बनेको थियो । प्रचण्डले गठबन्धन छाडेपछि सबैभन्दा धेरै घाटा पौडेललाई लागेको छ ।

त्यसैले अहिले उनी पुरानै गठबन्धन ब्युँताउने प्रयासमा छन् । ‘कोर्स करेक्सन’ गरेर फेरि पनि राष्ट्रपति बन्ने उनको दाउ छ । प्रचण्डलाई विश्वासको मत दिएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले भनेका थिए, ‘गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्सन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं ।’

सभापति देउवाले यसपटक पौडेललाई बचन दिएकाले पनि उनैको पक्षमा माहोल बन्नसक्ने कांग्रेस वृत्तमा चर्चा छ । तर, सिटौलाको दाबीलाई पनि कांग्रेसभित्र कम आँकलन गरिएको छैन । यसअघि कांग्रेसको १३औं महाधिवेशनमा देउवालाई सभापति जिताउन सिटौलाले निर्णायक भूमिका खेलेका थिए । त्यसयता उनले निरन्तर देउवालाई साथ दिँदै आएका छन् ।

संस्थापनइतर समूहका युवा नेता प्रदीप पौडेललगायत नेताहरुले सिटौलालाई उम्मेदवार बनाउन सभापति देउवामाथि दबाब बढाउँदै आएका छन् । पार्टीका शीर्ष सबै संसदमा आउँदा निरन्तर दोस्रो पटक निर्वाचनमा पराजित भएकाले उनलाई देउवाले अघि सार्नसक्ने कतिपयको भनाइ छ । उमेरको कारणले पनि अब सिटौला सक्रिय राजनीतिमा रहने अवस्था छैन ।

१४औं महाधिवेशनमा संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेका गोपालमान श्रेष्ठले पनि राष्ट्रपतिमा आकांक्षा राखेको कांग्रेस वृत्तमा चर्चा छ । पार्टीका शीर्ष नेताहरुको अधिकांशको व्यवस्थापन भए पनि नेता श्रेष्ठ समानुपातिक सूचीमा परेनन् ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि ५४ वर्षे राजनीतिको सुखद अन्त्यका लागि राष्ट्रपतिमा आकांक्षा राखेका छन् । राष्ट्रपतिको आकांक्षा राखेका शर्माले आफू निकटस्थ नेताहरुसँग आन्तरिक छलफल पनि थालिसकेका छन् ।

संसदीय निर्वाचनमा जहिल्यै जीतविहीन शुक्रराज कांग्रेसको अघिल्लो पुस्तामा सत्ता यात्रा नगरेका एकमात्र नेताका रुपमा चिनिन्छन् । गण्डकी प्रदेशसभा सदस्यमा कांग्रेसबाट समानुपातिकको पहिलो नम्बरमा रहे पनि महिलामात्र निर्वाचित गर्नुपरेकाले उनी सांसद हुनबाट बञ्चित भएका थिए ।

शर्माले गत साता भनेका थिए, ‘साथीहरुले आग्रह गरिरहनुभएको छ । म सत्तामा कहिल्यै नभए पनि आमकार्यकर्ताको विश्वास मप्रति अझै छ । पार्टी नेतृत्वले पनि शुक्रराज दाइ अघि बढ्नुस् भने नाइँ भन्ने कुरा हुँदैन । सबैको सहयोग भए म उभिन्छु । कांग्रेसलाई जिताउन हिँड्छु ।’

यस्तै नेता मानबहादुर विश्वकर्माले पनि राष्ट्रपतिमा आकांक्षा राखेका छन् । पूर्वसांसद विक १४औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएका थिए । दुई दशकदेखि केन्द्रीय सदस्य रहेका उनी कांग्रेसको ११औं, १२औं र १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

यसअघि २०७४ सालमा पनि राष्ट्रपतिमा विकको नाम चर्चा भए पनि कांग्रेसले लक्ष्मी राईलाई उम्मेदवार बनाएको थियो । राष्ट्रपतिको आकांक्षा राख्ने पौडेल, सिटौला, श्रेष्ठ र विक संस्थापन पक्षका हुन् भने शर्मा इतर पक्षका हुन् ।

माओवादीको आशमा कांग्रेस

कांग्रेस प्रवक्ता प्रकाशशरण महत पनि राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने दाबी गर्छन् । उनले माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाए प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिनेसमेत बताइसकेका छन् ।

यता, माओवादीले मनोनयनअघि पदाधिकारी बैठक बसेर कसलाई सहयोग गर्ने भन्ने विषयमा औपचारिक निर्णय गर्ने सचिव देवेन्द्र पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘हामी राष्ट्रिय सहमतिको पक्षमा छौं । त्यही विषयमा सबैसँग छलफल भइरहेको छ । कसलाई सघाउने भन्ने विषयमा पदाधिकारी बैठक बसेर टुंग्याउँछौं ।’

राष्ट्रपतिमा बाह्य हस्तक्षेप भइरहेको चर्चा चलिरहेको वेलामा भारतीय विदेश सचिव विनयमोहन क्वात्राले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र कांग्रेस नेता सिटौलाको नाम दिएर गएको स्रोतको दाबी छ ।

यता, एमालेबाट राष्ट्रपतिमा सुवास नेम्वाङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेललगायतको नाम छ । तर, प्रधानमन्त्री प्रचण्डले साझा व्यक्ति अघि सार्नुपर्ने अडान सारेपछि एमाले अध्यक्ष ओली अप्ठ्यारोमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर