वागमतीमा ट्रायल पासको नयाँ मापदण्डकाे यातायातमन्त्री श्रेष्ठले गरे उद्घाटन


काठमाडौं । वागमती प्रदेशमा आजबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि ७० अंक ल्याएपनि ट्रायल पास हुने मापदण्डको सुरुवात भएको छ ।
प्रदेश भरका ११ वटा यातायात व्यवस्था कार्यलयले आजैबाट नयाँ मापदण्डको सुरुवात गरेको हो । आज वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले ७० अंक तय गरिएको मापदण्डको शुभारम्भ गरेका छन् । काठमाडौको गुर्जुधारामा रहेको ट्रायल सेन्टरबाट मन्त्री श्रेष्ठले नयाँ मापदण्डको शुभारम्भ गरेका छन् ।
सवारी चालक अनुमति पत्रको लागि उत्तीर्ण हुनका लागि १०० नम्बरमा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले आजबाट यो व्यवस्था लागू गरेको हो ।
कुनैपनि परिक्षामा सतप्रतिशत अंक ल्याउँदा मात्र उत्तीर्ण हुन पाउने व्यवस्था निकै अव्यवहारिक रहेको र यस्ले समग्र यातायात क्षेत्रलाई नै समस्यामा पार्ने देखिएपछि आफुले मन्त्रालयमा कार्यभार सम्हालेदेखि ७० अंकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको र सोहिअनुसार मंगलबारबाट यो प्रणालीको सुरुवात गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ ।
सानो त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाई हुनुको साथै चालकहरुले अवैधानिक रुपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको देखिएपछि आफूहरुले नयाँ व्यवस्था लागू गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ । मन्त्री श्रेष्ठले भने ‘अब सानोतिनो गल्ति गर्दैमा सवारी चालक अनुमति पत्रको लागि पुनः ट्रायल दिनुपर्ने समस्याको समाधान भएको छ, यो व्यवस्थाले सवारी चालक अनुमतिपत्रको सन्र्दभमा हुँदै आएका समस्यालाई न्यूनिकरण गर्दै जाने विश्वास लिएको छु ।’
वागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्य सवारी चालक अनुमती प्रदान गर्ने सम्पूर्ण सेवाकेन्द्रहरुले एकैपटक मंगलबारबाट ७० अंकमा ट्रायल पास हुने व्यवस्था गरेका छन ।
यस्तो छ नयाँ व्यवस्था
ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।
वागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ (एट) आकार को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन ।
यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।
यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।