यातायात मजदुरले बन्द फिर्ता लिएपनि चलेन काठमाडौंमा गाडी


काठमाडौं । यातायात मजदुरले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएपनि काठमाडौं उपत्यकामा गाडी चलेका छैनन् ।
उपत्यका ट्रफिक प्रहरी महाशाखा एसएसपी राजेन्द्रप्रसाद भट्टले काठमाडौं उपत्यकाको सडकमा अहिले सार्वजनिक यातायात सञ्चालन नभएको बताए ।
उनले भने, ‘व्यवसायीहरूले बन्द फिर्ता लिएको १ घन्टा हुँदैछ । मजदुर गाडी भएको ठाउँमा पुग्नुपर्यो । विभिन्न ठाउँमा अहिले मजदुरहरूले कार्यक्रम पनि गरिरहेका छन् । अब केही समयपछि सार्वजनिक गाडी सञ्चालन हुन्छ ।’
नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईलाई बन्द फिर्ता लिएर पनि किन सार्वजनिक सवारी नचलाएको भनेर प्रश्न गर्दा अहिले मन्त्रालयमा सहमतिको ड्राफ तयार भइरहेको बताए ।
उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अहिले यातायात मजदुर र सरकार पक्षसँग भएको सहमतिको ड्राफ्ट तयार भइरहेको छ । हामी केहीबेरमा सहमति सार्वजनिक गर्नेछौं । त्यसको केही समयपछि मात्रै सार्वजनिक सावारी सञ्चालन हुनेछ ।’
सार्वजनिक सावारी सञ्चालन नहुँदा यात्रुले दु:ख पाएका छन् । चोकचोकमा पठाओ, इन्ड्राइभलगायतका राइडर्सहरूले अफलाइन राइडमा यात्रुसँग बार्गेनिङ गर्दै चर्को शुल्क लिइरहेको पाइएको छ ।