लाइसेन्सको ट्रायलमा भोलिदेखि नयाँ मापदण्ड, यस्ता छन् नियम – Nepal Press

लाइसेन्सको ट्रायलमा भोलिदेखि नयाँ मापदण्ड, यस्ता छन् नियम

काठमाडौ । मंगलबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू हुँदैछ । वागमती प्रदेशले फागुन २ गतेदेखि नयाँ मापदण्ड लागू गर्ने जनाएको छ । वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंले लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुने नेपाल प्रेसलाई जानकारी गराएका छन् ।

फागुन १ बाट हुने भनिएकोमा आज सार्वजिनक बिदा परेकोले भोलिबाट ट्रायलमा १ सय पूर्णांकमा उत्तीर्णका लागि ७० अंकको मापदण्ड लागू हुने उनले बताए । यातायात व्यवस्था विभागले यसअघि नै यो व्यवस्था ल्याएर २०७८ जेठदेखि निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो । तर, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रयोगात्मक परीक्षाको नयाँ व्यवस्था लागू हुन नदिने अडान लिएपछि कार्यान्वयनमा जान सकेन । नयाँ मापदण्ड मान्छे मार्न ल्याएको भन्दै पाण्डे आफू मुख्यमन्त्री भइन्जेल लागू हुन नदिने अडानमा थिए । अहिले वागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल छन् ।

मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य हुनेछन् । कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १०० तोकिएको छ । कार्यविधिमा कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठको अंकभार २० तोकिएको छ ।

दुई पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ । तर, ट्रायल फेल भइँदैन । दुई पटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम केही प्रदेशले यो नियम लागू गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *