कल्पना गरेजस्तो थिएन ऊ, तर माया भन्ने चिजै यस्तै हो – Nepal Press

कल्पना गरेजस्तो थिएन ऊ, तर माया भन्ने चिजै यस्तै हो

रेडियो प्रस्तोता सविना कार्की भन्छिन्- प्रेम गर्ने कुनै टेक्निक वा सूत्र हुँदैन

काठमाडौं । रेडियो प्रस्तोता सविना कार्की २०५६ सालबाट रेडियोमा जोडिइन् । रेडियोसँगै उनी हजारौं स्रोतासँग जोडिइन् । उनले बोल्ने मायाका मीठामीठा शब्दहरुले दर्शकलाई मुग्ध बनाए । मधुर आवाजमा मायाका कुरा गर्ने कार्की अहिले कुनै बच्चीकी आमा हुन्, कसैकी श्रीमती हुन् । घरगृहस्थी चलाइरहेकी महिला पनि हुन् ।

उनले विगत झण्डै साढे दुई दशकदेखि अनेक प्रकारका जोडी देखिन् । सम्बन्धका फरकफरक स्वरुप भेटिन् । रेडियो पत्रकारितामार्फत् प्रेममा परेकादेखि रेडियोमा फोन गरेरै प्रेममा परेका सयौं जोडीकी साक्षी हुन् उनी ।

पछिल्लो समय भर्चुअल दुनियाँमा प्रेममा परेका मान्छेहरुलाई पनि नियालिरहेकी छन् । तर, उनलाई लाग्छ, ‘प्रेम गर्ने माध्यम र स्वरुपहरु फेरिएको हो । तर, मायाको स्वरुप कहिल्यै फेरिँदैन । प्रेम त जसलाई पनि चाहिन्छ । चाहे वृद्धवृद्धा होस् या युवा या किशोरकिशोरी ।’

कार्कीलाई लाग्छ, कसैले कसैलाई साँच्चिकै प्रेम गर्छ भने त्यहाँ प्रेम गर्ने कुनै टेक्निक वा सूत्र हुँदैन । कसैलाई सम्झेर बस्दा यत्तिकै ओठमा मुस्कान आउँछ भने वा मुहारमा उज्यालो आउँछ भने त्यो प्रेम हो । कसैको भौतिक अनुपस्थितिमा पनि सँगै भएको महसुस छातीले गर्छ भने त्यही प्रेम हो । त्यसैले त उनी भन्छिन्, ‘प्रेममा ट्रिक्स हुँदैनन् । आफूले माया गरेको मान्छेलाई मीठो मुस्कानले सम्बोधन गरिन्छ सधैं ।’

आफूले मनपराएको मान्छेमाथि साथीभाइ, सहकर्मीले कुरा गर्दामात्रै पनि गाला रातोरातो हुन्छ, नर्भस महसुस हुन्छ, शरीरमा काँडा उम्रिन्छ भने त्यही प्रेम हो भन्ने कार्कीको ठम्याइ छ । साथै मनपरेको मान्छेसँग आई कन्ट्याक्ट अत्यधिक आवश्यक देख्छिन् उनी । भनिन्छ नि, आत्माको झ्याल हो आँखा ।

कुनै समय थियो, कार्की इन्टरनेटमा आफ्ना प्रेमीसँग कुराकानी गरेर घण्टौं बिताउँथिन् । उनको प्रेम सुन्दर तरिकाले फक्रिएकै च्याटमार्फत् थियो । लङ डिस्टान्स रिलेसनसिपमा लामो समय बसिन् । प्रेमी अमेरिका बस्थे, कार्की नेपालमा । तर, मायामा कहिल्यै टकराव नआएको उनको अनुभव छ । बरु मायाको सुवास झनै फैलँदै फैलँदै सात समुन्द्र वारपार गरिरहेको थियो ।

कार्कीले च्याट सुरु गरेको इन्टरनेटको दुनियाँ अहिले यति विशाल भएको छ, हरेक मान्छेको दैनिकी इन्टरनेटको दुनियाँविना अधुरो छ । मान्छेले खुशी, हाँसो, आँसु, दुःख, अप्ठ्यारा सबै इन्टरनेटमै साझा गर्छन् । अनि माया पनि । तर, यसमा मानसिक स्वास्थ्यको गम्भीर भएर ख्याल गर्नुपर्ने कार्कीको बुझाइ छ । अहिले सर्वत्र चर्चामा रहेको मानसिक स्वास्थ्यका कारण स्वास्थ्यमा भन्दा बढी सम्बन्धमा असर गरिरहेको बताउँछिन् ।

अहिलेको पुस्तासँग प्रशस्त अवसर छन् । जागिर गरिरहेका छन् । थोरबहुत कमाइरहेका छन् । महत्वाकांक्षी पनि छन् । उनीहरु सम्बन्ध बनाउन र भत्काउनलाई धेरै समय लगाउँदैनन् । क्षणभरमै सम्बन्ध बनाउँछन् । क्षणभरमै टुटाउँछन् । उनीहरु टक्सिक सम्बन्ध बनाएर बाँचिरहेका हुन्छन् । कार्कीलाई पनि लाग्छ, अहिलेको पुस्ता खुशी छैन । भन्छिन्, ‘अहिलेको पुस्ता भित्री मनबाट खुशी छैन । उनीहरुले खुशी महत्वाकांक्षामा खोज्ने होइन । सानातिना कुरामा खोज्ने हो । पार्टनरलाई डेट लगेर वा समय दिएरमात्रै पनि पार्टनर खुशी हुनसक्छ । खुशी त कुराकानी गर्दै लिइएको चियाको चुस्कीमा छ । जब यी कुरा ख्याल गरिन्छ, तब सम्बन्ध टक्सिक बनेर जाँदैन । सम्बन्ध त समझदारीको कुरा पनि त हो ।’

अर्काको ब्वाइफ्रेण्ड छ, मेरो किन छैन भनेर देखासिखीका लागि सम्बन्ध जोड्नुले कुनै प्रकारको मिठास र आनन्द नदिने कार्की बताउँछिन् । बरु मित्रताबाट माया सुरु भयो भने सम्बन्ध दिगो बन्ने उनको अनुभव छ । कार्की स्वयं पनि अर्को साथीको माध्यमबाट भेटिएको मान्छेसँग लामो समयको मित्रतापछि प्रेम सम्बन्धको विशाल दुनियाँमा छिरेकी थिइन् ।

कार्की भन्छिन्, ‘मायाको अर्को नाम समझदारी हो । सम्बन्धले त सहज रुपमा सास फेर्न सक्नुपर्छ । पार्टनर यस्तो छ कि तपाईंलाई सास फेर्नसम्म दिँदैन र कहाँ गएर सास फेरौंला भनेर सोच्न थालियो भने सम्बन्ध सुमधुर हुँदैन । यसको मतलब दुनियाँमा राम्रा मान्छे नै छैन भन्ने हुँदैन, हामीले चुन्न नजानेका हुनसक्छौं ।’

बरु आफू दुःखमा पर्दा तनाव ह्याण्डिल गरिदिने, रुन मन लाग्दा काँध थापिदिने मान्छे चिन्न सक्नुपर्ने उनको सुझाव छ । पार्टनर खराब भयो भने जीवन नै खराब हुने उनको बुझाइ छ । कुनै समय कार्की स्वयं पनि आफ्नो पार्टनर राजकुमार जस्तो होस् भन्ने चाहन्थिन् । ओठको बनोट यस्तो, आँखा यस्तो, मुहार यस्तो, हाइट यस्तो होस् भनेर कल्पिन्थिन् ।

कार्की हाँस्दै सुनाउँछिन्, ‘मैले जो पार्टनर छानें, मैले कल्पना गरेको पचास प्रतिशत पनि मिल्दैन । तर, म प्रेममा परें । प्रेममा नियम र सिद्धान्तभन्दा पर बसेर पार्टनर छान्ने हो । कोही यस्तो हुन्छ, जो ठ्याक्कै क्लिक हुन्छ । कहिलेकाहीं आफूले खोजेको जस्तो नहोला । तर, एउटा विशेष खालको फ्याक्टर हुन्छ । त्यही फ्याक्टरले क्लिक गर्ने हो ।’

मायालाई जोगाउने, फुलाउने र मगमगाउने बनाउने काम गाह्रो लाग्छ कार्कीलाई । उनका अनुसार माया त मेहनत पनि हो । फूल गमलामा लगाउने हो भने पानी लगाउनुपर्छ । मल लगाउनुपर्छ । गोडमेल गरिरहनुपर्छ । माया पनि त्यही फूलजस्तै रहेको बताउँछिन् कार्की । भ्यालेनटाइनकै बहानामा एउटा फूल दिएर किन नहोस्, त्यही नै सबैभन्दा सुन्दर गोडमेल हुनसक्ने कार्कीको अनुमान छ ।

सम्बन्ध टुट्न लागेको अवस्थामा सम्बन्धलाई जोगाउन सकिने सम्भावनाहरु प्रशस्त हुने कार्कीको बुझाइ छ । त्यसका लागि दुवैको इफोर्ट आवश्यक पर्ने बताउँछिन् । भन्छिन्, ‘एकजनाको मात्रैले सम्बन्ध अगाडि बढ्दैन । दुवैजनाको इफोर्ट हुनुपर्छ । दुवैजना प्रतिबद्ध रहौं, यो सम्बन्ध जोगाऔं भनेर जाँदा अन्तिम अवस्थामा पुगेको सम्बन्ध अगाडि बढ्छ ।’

सम्बन्धको पहिलो विन्दु भनेको आकर्षणलाई मान्छिन् कार्की । आकर्षणले नै तान्दै लगेर मान्छेलाई मायाको अवस्थासम्म पुर्‍याउने उनको भनाइ छ । माया अनुशासनभन्दा धेरै माथि हुने उनको तर्क छ । जब कसैसँग धेरै रिस उठ्छ । तर, उसैको म्यासेज वा कल कुरेर बसिएको हुन्छ । रिस उठेर बस्दा उसैले फकाओस् भनेर बसिएको हुन्छ । त्यही नै मायाको सबैभन्दा सुन्दर पल भएको बताउँछिन् कार्की ।

तर, पछिल्लो समयको माया अलि वस्तुकृत हुँदै गएको हो कि लाग्छ उनलाई । भन्छिन्, ‘फलानोले आइफोन गिफ्ट गर्‍यो भने धेरै माया सम्झिने । फलानोको ब्वाइफ्रेण्ड छ, मेरो छैन भनेर दुःखी हुने । मेरो पनि रिलेसन हुनुपर्छ भनेर जबरजस्ती गर्नाले अहिलेको पुस्ता छिटो निराश हुनेमात्रै होइन, सम्बन्ध टक्सिक बन्दै गएको छ । साँच्चिकै माया गर्छौ भने पासवर्ड देऊ भन्ने काम मायाले गर्दैन । मायाले त विश्वास गर्छ । विश्वास भएन भने मायाले मगमगाउनै पाउँदैन ।’

रेडियो पत्रकारितामा कार्कीले धेरैलाई मायाबारे पढाइन् । धेरैलाई मायाको परिभाषा सुनाइन् । तर, आफूले स्रोतालाई सुनाएका सबै कुरा आफ्नै जीवनमा भने अवलम्बन गर्न नपाएको बताउँछिन् ।

‘तर, जीवनमा जो पार्टनर पाएकी छु, म लक्की छु । मायाको हकमा मैले अरुलाई पहिला सिकाएँ । पछि व्यवहारमा लागू गरें’, कार्की भन्छिन्, ‘जिन्दगी सीधा रोड होइन । उबडखाबड हुन्छन् । ब्रेकर हुन्छन् । त्यही नै सम्बन्धको परीक्षा हुन्छ । प्रेमले विभिन्न परीक्षा पार गर्दै आउँछ । हामीले पनि अनेक परीक्षा पार गर्दै आयौं । दुवैले इफोर्ट लगायौं र मायालाई सुन्दर बनायौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर