१३ वर्षीया किशोरीलाई भगाएपछि डोजर चालकमाथि बलात्कारको मुद्दा – Nepal Press

१३ वर्षीया किशोरीलाई भगाएपछि डोजर चालकमाथि बलात्कारको मुद्दा

काठमाडौं । रोल्पाका दिनेश गिरी (नाम परिवर्तन) पेशाले डोजर चालक हुन् । कामकै शिलशिलामा दिनेश दुई महिनाअघि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी पुगेका थिए । उनको काम गर्ने ‘साइट’ नजिकै खाजा पसलमा आउजाउ भइरहन्थ्यो ।

श्रीमानसँग सम्बन्ध बिग्रिएपछि दुई छोरा र एक छोरी मुलपानी ल्याएर खाजा पसल सन्चालन गर्दै गुजारा गर्दै थिइन् साहुनी । दिनेश साहुनीकी १३ वर्षीया छोरीसँग नजिक हुन थाले । स्थानीय सरकारी स्कुलमा कक्षा ७ मा पढ्ने गरेकी ती किशोरीलाई दिनेशले ‘म तिमीलाई माया गर्छु, विवाह गर्छु’ भन्थे ।

सोहीक्रममा गत माघ १ गते साँझ दिनेशले किशोरीलाई भगाए । गोकर्णेश्वर-२ नयाँपाटीस्थित डेरामा लगेर राखे । भोलिपल्ट किशोरीका आफन्त उनलाई खोज्दै दिनेशको डेरासम्म पुगे । प्रहरीले दिनेशलाई पक्राउ गर्यो । कानूनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन, त्यसो भएमा बाल विवाह कसुर हुन्छ । अर्कोतर्फ १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमै शारिरिक सम्बन्ध भएपनि त्यसलाई बलात्कार मानिन्छ । प्रहरीले बलात्कार सम्बन्धी कसुरमा अनु्सन्धान अगाडि बढाएको थियो ।

प्रहरीसँगको बयानमा पीडित किशोरीले माघ १ गते राति १० बजे आफ्नो कोठा नजिक आएर ललाई फकाई गर्दै विवाह गर्छु भनेर ट्याक्सीमा राखेर लगेको बताएकी छन् । ‘राति १० बजेको समयमा निज प्रतिवादीले हाम्रो कोठा नजिक आई मलाई फोन गरि भेट्न बोलाएकोले मैले केही काम होला भनी म निजलाई भेट्नको लागि भनि गएकोमा निजले मलाई ललाई फकाई म तिमीलाई विवाह गर्छु भनि ट्याक्सीमा राखेर लगेका थिए’, किशोरीले प्रहरीसँगको बयानमा भनेकी छन् ।

यता २६ वर्षीय दिनेशले खाजा पसलमा जाने क्रममा किशोरीसँग भेट भएको र दुवैजना माया प्रेममा परेको बताएका छन् । उनले किशोरीले आफ्नो मोबाइल नम्बर लिएको र आफन्तका मोबाइल नम्बरबाट समेत नियमित जसो फोन गर्ने गरेको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् । माघ १ गते साँझ किशोरीले नै आफूलाई फोन गरेर बोलाएको दिनेशको दावी छ ।

‘माघ १ गते राति ९ बजेको समयमा मलाई फोन गरी म तपाईसँगै बस्छु, मलाई लिनको लागि आउनु भनेको हुँदा मैले अहिले राति किन त्यसरी हिँड्नु भोलि तिम्रो ममीहरुले थाहा पाउछन् भनी भन्दा केही फरक पर्दैन हामीहरु भाग्नुपर्छ भनेकी हुँदा मैले हुन्छ भनि लिन गएको हुँ’, बयानमा दिनेशले भनेका छन् ।

साथै आफ्नो कोठा लगेकै दिन किशोरीसँग शारिरिक सम्पर्क भएको दिनेशले स्वीकारेको अभियोग पत्रमा उल्लेख छ । जन्मदर्ता प्रमाणपत्रका आधारमा पीडित किशोरीको उमेर १३ वर्ष ६ महिना २० दिन रहेको प्रहरीको दाबी छ ।

पीडित किशोरीको उमेरअनुसार दिनेशविरुद्ध १८ देखि २० वर्षसम्म कैद र ७ लाख रुपयाँ जरिवाना सजाय मागदाबी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर