सचिवको उमेर हद बढाउन ऐन संशोधन गर्दै प्रदेश सरकार – Nepal Press

सचिवको उमेर हद बढाउन ऐन संशोधन गर्दै प्रदेश सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश सभा सचिवालयको सचिवको उमेर हद बढाउन ऐन संशोधन गर्न लागेको छ । प्रदेश सरकारले ऐन संशोधन गर्ने गरी मंगलबार प्रदेश सभा सचिवालयमा दर्ता गरेको ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ मार्फत सचिवको उमेर दह बढाउन लागेको हो ।

हाल प्रदेश सभा सचिवालय सचिवको उमेर हद ४५ वर्ष उमेर पूरा भई ६० वर्ष उमेर पूरा नभएको भन्ने छ । प्रदेश सभा सचिवालय ऐन, २०७७ को दफा ८ को ‘ज’ मा सचिवको उमेरहदको व्यवस्था गरिएको छ । जहाँ भनिएको छ, ‘४५ वर्ष उमेर पूरा भई ६० वर्ष उमेर पूरा नभएको हुनुपर्छ ।’

दफा १० मा सचिवको पद रिक्त हुने अवस्था छ । त्यसको ‘ग’ मा पनि साठी वर्ष उमेर पूरा भएमा पद रिक्त हुने उल्लेख गरिएको छ ।
तर, सरकारले सचिवको अधिकतम उमेर हद ६५ वर्ष बनाउने गरी संशोधन प्रस्ताव दर्ता गराएको छ । संशोधन प्रस्तावको बुदा नम्बर २९ को ३ मा यसअघि ६० वर्ष भन्ने शब्दहरुको सट्टा ६५ वर्ष भन्ने शब्द राखिएको छ ।

सरकारले सचिवको उमेर हद बढाउने संशोधन विधेयकसहित एकैपटक ३४ वटा ऐन संशोधन गर्ने गरी संशोधन प्रस्ताव तयार गरेको हो ।सचिवालयमा ३४ वटा ऐन संशोधन गर्ने गरी संशोधन प्रस्ताव अघिल्लो सरकारका पालामा पनि प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।

तर, प्रदेश सभाको कार्यकाल सकिँदा स्वत निष्किय भएको थियो । निर्वाचनपछि बनेको नयाँ सरकारले पुनः सोही विधेयकलाई प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो । ऐनमा देखिएका त्रुटिका अतिरिक्त नाम नामेसी सच्याउनका लागि उक्त संशोधन प्रस्ताव दर्ता गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *