नियमावली मस्यौदा समितिः प्रतिनिधिसभा बैठक भर्चुअल पनि बस्न सकिने


काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक संसद भवन बाहिर पनि गर्न सकिने भएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सभाको भर्चुअल बैठकले पनि वैधानिकता पाउने गरी नियमावलीमै स्पष्ट व्यवस्था गरेको हो । यस व्यवस्थासँगै प्रविधिबाट पनि बैठक सञ्चालनको बाटो खुलेको छ ।
मस्यौदा समितिको सिंहदरबारमा बिहीबार बसेको बैठकले कम्तिमा एकचौथाइ सदस्यको सहमतिमा भर्चुअल बैठक बस्न सकिने प्रावधानसहितको व्यवस्थालाई सर्वसम्मत पारित गरेको हो । भर्चुअल बैठक अनुमतिको सम्पूर्ण विशेषाधिकार भने सभामुखमा निहित राखिएको छ ।
नियमावलीमा बैठकको कार्यविधि सभामुखले निर्धारण गरेबमोजिम हुने प्रस्ताव गरिएको छ । एकचौथाइ सदस्यको सहमतिपछि कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले निर्णय गर्नसक्ने व्यवस्था नियमावलिमा गरिने भएको हो ।
प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने कुरामा सभाका कम्तिमा एकचौथाइ सदस्य सहमत भई सो कुरा सभामुखलाई जानकारी गराएमा आवश्यकताअनुरुप कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निर्णयअनुसार प्रविधिको प्रयोग गरी भौतिक अनुपस्थितिमा बैठक बस्न सकिनेछ ।’
कोभिड महामारीको समयमा संसद बैठक बस्न सकेको थिएन । विश्वका कतिपय मुलुकले तत्काल संकटकालीन आवश्यक नियमावली बनाएर संसदको बैठक सञ्चालन गरी महामारी नियन्त्रणका लागि सरकारलाई आवश्यक ऐन–नियम बनाएका थिए । तर, नेपालमा भर्चुअल संसद बैठक बस्ने व्यवस्था अघिल्लो नियमावलीमा थिएन ।
भर्चुअल बसेका समितिका बैठकहरुले पनि वैधानिकता पाएका थिएनन् । नियमावलीमा गर्न लागिएको यो व्यवस्थाले भौतिक रुपमा संसद बैठकमा उपस्थित हुन नसक्ने स्थितिमा पनि बैठक सञ्चालनको बाटो खुल्नेछ ।
नियमावलीले संसद र मिडियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै संसदीय कारबाहीलाई पारदर्शी बनाउने उद्देश्यसाथ लबी रिपोर्टिङको व्यवस्था मिलाउने किसिमको प्रावधान राखिएको छ । मिट द प्रेस भनेर सभाभित्रै एउटा कक्ष बनाउने प्रस्ताव समितिमा उठे पनि भिन्नै कक्ष निर्माण गर्ने भन्ने प्रस्तावित नियमावलीमा लेखिएको छैन ।
तर ‘सञ्चारकर्मीसँगको भेटघाट र लवि रिपोर्टिङको आवश्यक व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख गरिने भएको छ ।