माओवादी केन्द्र किन चाहन्छ पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न ? – Nepal Press

माओवादी केन्द्र किन चाहन्छ पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । केही दिनअघि पार्टी स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिन्ह परिवर्तनको प्रस्ताव गरेका हुन् ।

पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरेको प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू-राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धासमेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’

माओवादीले विचार मिल्नेहरुसँग एकताको प्रयास पनि अगाडि बढाएको छ । उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएर माओवादीले पार्टी एकताका लागि अन्य विचार मिल्ने दलहरुसँग छलफल गरिरहेको छ ।
विचार, सिद्धान्त, व्यवहार मिल्नेहरुसँग मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफल गर्ने प्रचण्डको प्रस्ताव छ ।

‘पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने, तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने’ बैठकले अनुमोदन गरेको प्रचण्डको प्रस्तावमा भनिएको छ ।

पार्टीको नाम परिवर्तन गरेपछि पहिलैदेखि छलफल भइरहेकाले अहिले नयाँ नभएको सचिव दिनानाथ शर्माले बताए ।
उनले भने, ‘एकतामा आउन खोज्ने साथीहरुले पनि नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । नेकपा एस, बाबुरामजीलगायतको पार्टीले नाम परिवर्तन गर्नुपर्छ भन्नुभएको छ । त्यसैले अध्यक्ष कमरेडले नामबारे सोच्ने कि भनेर प्रस्ताव गर्नुभएको हो ।’

नाम र चुनाव चिन्ह परिवर्तनको बिषयमा अब पार्टीमा बहस हुने बताए। माधव नेपाल पनि तपाईंहरुसँग एकताको लागि तयार भएरै नाम फेर्ने छलफल अघि बढाउनुभएको हो ? भन्ने नेपालप्रेसको प्रश्नमा उनले भने, ‘एकताको लागि आउने अन्य दलहरुको सल्लाहमा नामबारे के गर्ने भन्नेबारेमा छलफल हुन्छ । पहिला उताको कुरा टुंगिन पर्यो। त्यसपछि हामीले विचार गछौं ।’

त्यसो त गत साता नेपाल प्रेससँगको अन्तर्वार्तामा सचिव डिलाराम आचार्यले समाजवादी केन्द्र निर्माणको पहल भइरहेको बताएका थिए ।

उनको भनाइ थियो, ‘हिजोका माओवादीहरु र अरु वामपन्थी पार्टीहरु पनि एउटै झण्डामा आएर त्योबाहेक माधव नेपाल र उपेन्द्र यादवहरुलाई पनि समावेश गरेर समाजवादी केन्द्र निर्माण गरेर जाने बिषयमा पनि छलफल भइहेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर