आजबाट सिंहदरबारमा २४ घण्टा नै मेलम्चीको पानी – Nepal Press

आजबाट सिंहदरबारमा २४ घण्टा नै मेलम्चीको पानी

काठमाडौं । सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ ।

बुधवार पानी वितरण कार्यको परीक्षण सफल रूपमा सम्पन्न भए पछि आज देखी २४ घण्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठुलो प्रशासनिक क्षेत्र सिंहदरबारमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीको पानी उपलब्ध हुनेछ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ ।

उनका अनुसार त्यसका लागि पाइप बिछ्याउने, वितरण गर्ने, पानी वितरणको परीक्षण लगायत आवश्यक सबै तयारी पूरा भइसकेको छ ।

सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ ।

सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसाली सकिएको छ । सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ घण्टा नै पानी वितरण हुनेछ ।

सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइपहरू जडान गरिसकिएको छ । मेलम्ची खानेपानी आयोजनाले सिंहदरबारमा ‘पिक–आवर’ मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरेर खानेपानीको संरचनाहरू निर्माण गरेको छ ।  जसअनुसार अब प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हो ।

यसअघि बोरिङवाट सिंहदरबारमा पानी वितरण गरिँदै आएको थियो । मेलम्चीबाट पानी वितरण हुने भए पछि सिंहदरबारको भूमिगत पानीको संरचना स्थल क्रमशः पुरानै स्थितिमा फर्कने वातावरणविदहरुले जनाएका छन् ।


प्रतिक्रिया

One thought on “आजबाट सिंहदरबारमा २४ घण्टा नै मेलम्चीको पानी

  1. अब पानीका ट्याँङ्कर साहुहरूले जनार्दन र बालकृष्ण खाँडलाइ गुहारेर त्यो पानी सिंहदरवार नै नजाने बनाउँछन् । यस्तै काम गर्न त माओवादीका केही र काँग्रेस अहिलेको सरकार हटाउन लागिरहेका छन । भारत त नेपालको जन्मजात शत्रु हो । स्थिरता हुनै दिदैन । कस्तो कुजात छिमेकीसँग बस्नुपर्ने रहेछ नेपालीलाई ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *