वागमती प्रदेशमा तामाङ र नेवारी भाषालाई कामकाजीको भाषा बनाउने प्रक्रिया सुरु


हेटौँडा । वागमती प्रदेश सरकारले प्रदेशमा बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजीको भाषा बनाउने प्रक्रिया सुरु गरेको छ ।
सरकारले ति भाषालाई कसरी प्रदेशको कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्नको लागि श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठ तथा सामजिक विकास मन्त्री कुमारी मोक्तान रहेको भाषा विज्ञ सहितको पाँच सदस्यीय समिति निर्माण भएको छ ।
वागमती प्रदेशमा तामाङ र नेवार समुदायको बाहुल्यता रहेको कारण सरकारी कामकाजको भाषाको रुपमा ति जातजातीले प्रयोग गर्ने भाषालाई प्रयोगमा ल्याउन सकिने देखिएपछि ति भाषालाई कसरी प्रयोग गर्ने भन्ने विषयमा सरकारले तयारी सुरु गरेको समितिको सदस्य एवम् श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले बताए ।
नेपालमा पहिचानको विभिन्न आन्दोलनहरु भएको र अब ति आन्दोलनबाट प्राप्त उपलब्धीलाई सस्थागत गर्ने समय आएको कारण प्रदेश सरकारले तामाङ तथा नेवा बाहुल्य प्रदेशमा उनिहरुले बोल्ने भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने तयारी गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ ।
मन्त्री परिषदको बैठकले समिति निर्माण गरी अध्ययन गर्न आफुहरुलाई जिम्मा दिएको भन्दै मन्त्री श्रेष्ठले आफुहरुले सो विषयमा विज्ञहरुसँगको राय सल्लाहमा प्रतिवेदन तयार पारेर यो विषयलाई चाँडोभन्दा चाँडो टुंगो लगाउने प्रक्रियामा रहेको बताए ।