सम्भव सिरोहियाको खुलापत्र : रवि दाइ, तपाईंको ‘स्टन्ट’ ले निराश बनायो – Nepal Press

सम्भव सिरोहियाको खुलापत्र : रवि दाइ, तपाईंको ‘स्टन्ट’ ले निराश बनायो

प्रिय रवि दाइ

कोभिड महामारी उच्च विन्दुमा रहेको वेला म तराईमा थिएँ । सोही समयमा मैले तपाईंसँग पहिलो भेट गरेको हुँ । त्यहाँ कोभिड प्रोटोकलको अवस्था अत्यन्तै नाजुक थियो । स्थिति नियन्त्रणभन्दा बाहिर गएको थियो । उक्त समयमा मैले कहिल्यै विश्वास नै गर्न नसक्ने घटनाको म प्रत्यक्षदर्शी हुन पुगें ।

कोभिड प्रोटोकलको उचित नियमन नहुँदा मेरै आँखा अगाडि धेरैको ज्यान गएको देखें । उक्त समयमा हाम्रो राज्य प्रणाली कति लाचार थियो भन्ने मैले प्रत्यक्ष महसुस गरें । हामी स्वयंलगायत अन्य मूलधारका मिडियाहरु वास्तविक ‘ग्राउण्ड रिपोर्टिङ’ गर्नबाट चुकिरहेको देख्दा मलाई केही मिडिया, राज्य प्रणाली, मानवता सबैथोकदेखि विश्वास उडेको थियो । फलस्वरुप मैले मेरो क्यामेरा निकालें र मेरो ‘फ्रस्ट्रेसन’ लाई क्यामेरा अगाडि छताछुल्ल पारिदिएँ । त्यसरी नै जसरी अस्ति तपाईंले आफ्नो फ्रस्टेसन छताछुल्ल पार्नुभयो । मैले त्यसवेला तपाईंलगायत अन्य मिडियापर्सनहरुलाई पनि भेटेर मानिसले ज्यान गुमाइरहेका ठाउँबाट ग्राउण्ड रिपोर्टिङ गरी वास्तविक कथाहरु अगाडि सार्न अनुरोध गरेको थिएँ ।

मैले तपाईंलाई भेट्नुको मुख्य कारण के थियो भने म तपाईंको कार्यक्रमको प्रशंसक थिएँ । मलाई थाहा थियो, तपाईंले आममानिससँग पुगेर समस्याको कसरी सामना गर्ने भनेर ‘गाइड’ गरिराख्नुभएको थियो । तपाईं लाखौं नेपालीहरुसँग जोडिन सफल हुनुभएको थियो । तपाईंको कार्यक्रम नेपालभर अत्यधिक हेरिने कार्यक्रम बन्न सफल भएको थियो (त्यसका लागि हार्दिक नमन) । केही महिनाअगाडि तपाईंको (राजनीतिक) अभियान सुरु हुनुपूर्व मैले व्यक्तिगत रुपमा तपाईंको पहलको प्रशंसा पनि गरेको थिएँ ।

मैले तपाईंको जीतलाई सेलिब्रेट पनि गरेको छु । मिडिया क्षेत्रमा तपाईंका बारे चर्चा हुँदा मैले सदैव तपाईंको पक्षमा रहेर सपोर्ट पनि गरेको छु । पत्रकारिताका विभिन्न तरिका हुन्छन् र हामीले सबै तरिकाको सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यता छ । तपाईंलाई ब्ल्याकमेलिङ, राहदानी दुरुपयोगलगायतका आरोप लाग्दा पनि मैले मेरो वरिपरि रहने सबैलाई मलाई विधिको शासनमा पूर्ण विश्वास रहेको र अपराध पुष्टि नभएसम्म सबै निर्दोष रहने बताउँदै आएको छु ।

तपाईं र निकिता दिदी मलाई तपाईंको पार्टीमा जोडिनका निम्ति आग्रह गर्न आउँदा पनि हामीबीच केही कनेक्सन रहेको महसुस भएको थियो । मलाई याद छ, सो भेटमा हामीले एक-अर्काको वाक्यसमेत पूरा गरेका थियौं । सँगै राजनीति गर्न तपाईंले अघि सारेको प्रस्तावले म कृतज्ञ भएको थिएँ । यद्यपि म आफूलाई निजी क्षेत्रमार्फत नै देशको बढी सेवा गर्न सक्छु भन्ने लागेकाले मैले तपाईंको प्रस्ताव स्वीकार गरिनँ । मलाई तपाईंप्रति विश्वास नलागेको भन्ने अर्थमा होइन ।

तपार्इंको पार्टीले आकार लिएको र रास्वपाको चुनावी कार्यसम्पादन देखेर म अत्यन्तै खुशी भएको थिएँ । यतिमात्र नभएर तपाईंको पार्टीका उम्मेदवारहरूले मन्त्रिमण्डलमा स्थान पाएपछि व्यक्तिगत रूपमा उत्सव मनाउनेहरुमध्ये म पनि एक थिएँ । हामी तपार्इंको जीतपछि पनि सम्पर्कमा रह्यौं । तपाईं र तपाईंको पार्टीप्रतिको मेरो व्यक्तिगत विचार परिवर्तन भएन । मैले तपाईंलाई तपाईंको पार्टीले सिर्जना गरेको आशाको स्मरण पनि गराएको थिएँ र भनेको थिएँ- आशा अत्यन्तै संवेदनशील विषय हो । आम मानिसको यो आशासँग खेल्न मिल्दैन । यो आशा देशमा दशकौंदेखि ग्रसित निराशाभन्दा धेरै गम्भीर भावना हो ।

तपाईं गृहमन्त्री भएपछि तपाईं र निकिता दिदीमार्फत सहयोगको अपेक्षासहित आएका कैयौं फोन कलहरुमा मैले म र न्युजरुम एकअर्काबाट स्वतन्त्र छौं र कान्तिपुरले सधैं यसरी नै काम गरेको छ भन्ने कुराको स्मरण गराएको थिएँ । हाम्रो न्यूजरूम जहिले पनि के लोकप्रिय छ भन्ने भन्दा पनि के सही छ भन्ने पक्षमा उभिएको छ र हामीले सधैं गर्वका साथ समाजको जिम्मेवार पहरेदारको रूपमा आफ्नो जिम्मेवारी पूरा गरेका छौं ।

मलाई विश्वास छ कि एक सञ्चारकर्मीको हैसियतमा तपाईंले यो कुरा अरू कसैले भन्दा राम्रोसँग बुझ्नुभएको छ । दुर्भाग्यवश, राजनीतिज्ञको रूपमा तपाईंले यो कुरा बिर्सनुभयो । केही दिनअघि तपाईंले पनि अन्य राजनीतिक व्यक्तिले जस्तै राजनीतिक षड्यन्त्रको सहारा लिनुभयो, झूटा कथाहरू सिर्जना गर्नुभयो र सनसनीपूर्ण पत्रकार सम्मेलन गर्नुभयो । तपाईंले मलाई निराश बनाउनुभयो ।

तपाईंले म, मेरो परिवार र हाम्रो संस्थामाथि व्यक्तिगत आक्रमण गर्नुभयो, जुन निराधार छन् र तपाईंलाई यो कुरा थाहा छ । तपाईंले मलाई आक्रमण गरेर म निराश भएको होइन, तपाईंले गरेको ‘स्टन्ट’ ले मलाई निराश बनाएको हो । कानूनको शासनलाई किनारा लगाएर तपाईं झूटो कथा सिर्जना गर्नतर्फ लाग्नुभयो र एक दशकसम्म यसैको हिस्सा भएर मिडिया उद्योगलाई सहज रूपमा खलनायक बनाउने प्रयास गर्नुभयो । तपाईंले आफ्नो व्यक्तिगत एजेन्डा पूरा गर्न जनतामा भ्रम र आक्रोश पैदा गर्ने प्रयास गर्नुभयो । यो मलाई राम्रो लागेन ।

तपाईं के गर्दै हुनुहुन्छ म राम्ररी देख्दैछु । म तपाईंको रणनीति राम्रोसँग हेर्दैछु । चिच्याउनु र कराउनु, औंलाहरू देखाउनु, अरू सबैलाई दोष दिनु, जनतालाई भ्रमित गर्नु, उनीहरूको सामूहिक क्रोधलाई मलजल गर्नु, यो सबै विषयलाई तोडमोड गर्ने गर्ने परम्परागत शैली हो । तर, रवि दाइ, म तपाईंलाई सम्झाउन चाहन्छु, मैले सधैं विश्वास गरेको छु कि दोषी प्रमाणित नभएसम्म निर्दोष हुन्छ जोकोही । र, तपाईं दोषी प्रमाणित हुनुभयो । मबाट होइन, मिडियाले होइन, तपाईंको राजनीतिक प्रतिपक्षले होइन, सर्वोच्च अदालतले तपाईंलाई दोषी ठहर गर्‍यो । फैसला आइसकेको छ । तपाईंले यसलाई स्वीकार गर्नुभयो र तपाईंको आगामी मुद्दाहरू कानूनको सीमाभित्र लड्नुहोस् ।

तपाईंको कोटरीमा रहेका अस्थिपञ्जरहरूको बारेमा तपाईंलाई मात्र थाहा छ, यद्यपि त्यहाँ धेरै बाँकी हुनसक्छ । तर, आफ्नो एउटा हारलाई विनम्रताका साथ स्वीकार्नु र गर्वका साथ लड्नुको सट्टा तपाईंका लाखौं फ्यानहरूलाई भ्रम र आक्रोशको अन्धकारमा तानेर लैजानुभएको छ । तपाईंलाई सलाम छ, योपटक तपाईं पत्रकारको रूपमा सफलताको लागि होइन तर, एक कुशल ‘म्यानुपुलेटर’ बनेकोमा ।

मेरो विगतमा तपाईंप्रति रहेको सम्मानका कारण म बुँदागत रुपमा तपाईंका आरोपहरुको सम्बोधन गर्न चाहन्छु । मलाई पक्का छ कि गृहमन्त्रीका रुपमा तपाईंले हामीमाथि सम्भव भएसम्म सबै कोणबाट छानबिन गर्न लगाइसक्नुभयो । तर, तपाईंले जनतामा भ्रम पैदा गर्दा मलाई, मेरो परिवार र संस्थालाई हानी भइरहेको छ ।

तपाईंले पत्रकार सम्मेलनमा एउटा कागजको चिर्कटो बोक्नुभएको थियो र त्यसलाई देखाउँदै यो भन्न खोज्नुभयो कि धेरै वर्षअघि मेरो कारले मान्छेलाई ठक्कर दिएर भागेको थियो । सन् २०१५ मा म कार दुर्घटनामा परेको सत्य हो । मैले हाँकिरहेको कार नियन्त्रण गुमाएर माइतीघरको एउटा पोलमा ठोक्किएको थियो । मेरा दुई ‘कजन’ कारमा मसित थिए र एकजनालाई सामान्य चोट लागेको थियो । उसलाई धेरै प्रत्यक्षदर्शीहरुको उपस्थितिमा नर्भिक अस्पताल लगियो । बाँकी दुई जना सकुशल थिए ।

मैले आफैं प्रहरीलाई फोन गरें, घटनाको रिपोर्ट नेपाल ट्राफिक बग्गीखानामा दर्ता गराएको छु । तपाईंले वर्णन गर्नुभए जसरी यो घटनालाई गोप्य राखिएको छैन । वास्तवमा, यसलाई सन्दर्भबाहिर लगेर सनसनीखेज बनाइएको थियो । समझदार गृहमन्त्री फाइल कहाँ छ भनेर सोधेर सार्वजनिक रूपमा चिच्याउँदैनन् । ट्राफिक प्रहरीले आफ्नो फाइल कहाँ राख्छ भन्ने उसलाई थाहा हुनुपर्छ । कृपया पुनः जाँच गर्नुहोस् ।

त्यसपछि तपाईंले सनसनी फैलाउने प्रयास गर्नुभयो, कोभिड अवधिमा मेरो बुबालाई बदनाम गर्न रचिएको कथालाई लिएर । सोल्टी होटलमा यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाउँदै ‘सीधा कुरा’ नामको नक्कली सोसल मिडिया खाताबाट मानहानीको प्रयास भएको थियो । हामीले सोल्टी होटलसँग मिलेर अर्को दिन तुरुन्तै नेपाल प्रहरीमा उजुरी दिएका थियौं र यस विषयमा प्राथमिकताका साथ छानबिन गर्न अनुरोध ग¥यौं । नतिजाः नक्कली खाता, मानहानीको प्रयास, होटलमा हुँदै नभएको कोठा नम्बर । हामीले प्रहरीमा उजुरी किन नदिएको भनेर तपाईंले सार्वजनिक रूपमा सोध्नुभयो । हामीले (उजुरी) गर्‍यौं, २०७७-०५-११ मा । कृपया पुनः जाँच गर्नुहोस् । तपाईंलाई थाहा छ, तपाईं गृहमन्त्री हुनुहुन्थ्यो । मेरो बुबाविरुद्ध यस्तो गम्भीर परिणामको व्यक्तिगत झूटो आरोप मलाई राम्रो लागेन ।

तपाईंले चन्द्रागिरी हिल्सको पनि कुरा गर्नुभयो । यस व्यवसायमा हाम्रो कुनै सम्बन्ध छैन । स्वामित्वको त कुरै छोड्नुहोस् । यो सार्वजनिक रूपमा सूचीबद्ध कम्पनी हो । यसका शेयरधनीहरू को को हुन् भनेर जाँच गर्न गहिरो अनुसन्धान आवश्यक पर्दैन ।

तपाईंले बीमा कम्पनीको कुरा गर्नुभयो । मैले अनुमान गरेको छु कि तपाईंले हिमालयन पुनर्बीमातर्फ संकेत गरिरहनुभएको थियो । हामी यस कम्पनीका प्रवर्द्धकहरूमध्ये एक हौं । लगानीको भुक्तानी हाम्रो कुमारी बैंक र एनआईबीएल एफडी खाताबाट गएको छ । दुर्भाग्यवश तपाईंको लागि त्यहाँ पनि कुनै घोटाला छैन । हामीलाई हाम्रो कर तिरेका स्रोतहरूबाट लगानी गर्न अनुमति छैन वा बीमा व्यवसाय कुनै पनि हिसाबले कानूनभन्दा बाहिर छ भने मलाई थाहा दिनुहोस् ।

तपाईंले कान्तिपुरले ‘एक्स्ट्रोसन’ अभ्यास गर्दछ र व्यवसायहरूले हामीलाई सुरक्षाको लागि सित्तैमा शेयरहरू (गोल्डेन शेयर) प्रस्ताव गर्नुपर्छ भनेर आरोप लगाउनुभयो । कृपया आफ्ना एकाउन्टेन्टहरूमध्ये एकलाई ओसीआरमा पठाउनुहोस् र हाम्रो स्वामित्वमा रहेको प्रत्येक कम्पनीको जाँच गरेर तपाईंले लगाएको आरोप सत्य भएको खण्डमा मलाई सम्पर्क गर्नुहोस् । कृपया निराधार आरोप नफर्काउनु होला । मसँग इमानदारीपूर्ण महत्वाकांक्षा छ र मैले गरेको काममा म गर्व गर्छु । म गर्वका साथ एक लगानी कम्पनी पनि चलाउँछु, जहाँबाट मैले शिक्षा, फिनटेक र ई-कमर्सदेखि वित्तीय सेवा, बीमा र पर्सनल हेल्थ केयर जस्ता व्यवसायहरूमा लगानी गरेको छु । म संलग्न भएको व्यवसायहरूमा म गर्व गर्छु र म यी कम्पनीहरूलाई मूल्य सिर्जना गर्न र वृद्धि गर्न हरेक दिन अथक परिश्रम गर्छु । कृपया फेरि आफ्नो लेखापाल पठाउन तपाईं स्वतन्त्र हुनुहुन्छ । म खुशीसाथ मेरा बहीखाता खोल्नेछु । मलाई विश्वास छ कि तपाईंले लगानीको प्रत्येक रुपैयाँ कर तिरेको कुराको कदर गर्नुहुनेछ र तपाईं निष्कर्षमा पुग्नुहुनेछ कि म एक इमानदार र मेहनती उद्यमी हुँ । म एक बेइमान व्यापारी हुँ भन्ने तपाईंको निराधार आरोप मलाई मन परेन ।

रवि दाइ, तपाईंले अन्तिम रेखा पार गर्दै हाम्रो न्यूजरूमलाई धम्की दिनुभयो । तपाईं आफ्नो भीड लिएर आउनुहुन्छ र हाम्रा कार्यालयहरू घेराउनु हुन्छ भनेर संकेत गर्दै हुनुहुन्थ्यो । यो म र केएमजीका कर्मचारीहरूका लागि प्रत्यक्ष धम्की हो । कृपया भविष्यमा यस्तो धम्कीपूर्ण भाषा प्रयोग गर्दा सावधान रहनुहोस् । आखिर, हिजोको तपाईंको स्टन्ट अघिसम्म म तपाईंको शुभचिन्तक नै जो थिएँ । अहिले त म तपाईंले निराश बनाएको एक मान्छे हुँ ।

मैले गरेको हरेक कार्य र निर्णयको लागि म जवाफदेही छु । म मेरा उपलब्धिहरूमा गर्व गर्छु र म मेरो गल्तीहरूको स्वामित्व पनि म आफैं लिन्छु । कानूनभन्दा बाहिरको कुनै गतिविधि गरेको भए त्यसको परिणाम भोग्न म तयार छु । तपाईं पनि तयार हुनुपर्छ ।

सप्रेम,
सम्भव सिरोहिया

(कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले सामाजिक सञ्जालमा राखेको अंग्रेजीमा लेखिएको पत्र पाठकका लागि रुचिकर हुने देखेर नेपालीमा भावानुवाद गरिएको । -सं.)


प्रतिक्रिया

One thought on “सम्भव सिरोहियाको खुलापत्र : रवि दाइ, तपाईंको ‘स्टन्ट’ ले निराश बनायो

  1. जेलमा हुनुपर्ने मान्छे अहिलेसम्म खुलेआम हिडेका छौ बाउको दादागिरी र दलालीले । केको निराश बनायो नि ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *