युट्युबलाई ‘गुरु’ थापेर विदेशमा बस्नेको फेसबुक ह्याक गर्दै ठग्दै – Nepal Press

युट्युबलाई ‘गुरु’ थापेर विदेशमा बस्नेको फेसबुक ह्याक गर्दै ठग्दै

काठमाडौं । श्यामबहादुर पुलामी मगरलाई जापानमा रहेका बहिनी ज्वाई चेतबहादुर रानाले म्यासेन्जरबाट आफूलाई आपत परेको भन्दै पैसा मागे । ‘जेठान, मलाई केही सहयोग चाहिएको छ । मोबाइल बैंकिङ छ, पैसा छ र ?’ आशयको म्यासेज थियो ।

जापानमा रहेका मान्छेलाई किन पैसा चाहिएछ भन्ने लागेर श्यामले तत्कालै म्यासेन्जरमा चेतलाई सम्पर्क गर्न खोजे । तर कल रिसिभ भएन । त्यसपछि उनले फोन नै गरे । फोन गर्दा श्याम छक्क परे । उनलाई त्यसरी सहयोग माग्ने वास्तविक व्यक्ति चेत थिएनन् ।

तर चेतको आफ्नै फेसबुक अकाउन्ट ह्याक गरेर कसैले ठगी गरिरहेको थियो । श्याम तत्कालै प्रहरीकहाँ पुगे । प्रहरीले अनुसन्धान अगाडि बढ्यो । अनि पक्राउ परे, कास्कीको पोखरा महानगरपालिका–३ का २३ वर्षीय रोशन हमाल ठकुरी । अनुसन्धानका क्रमममा रोशनले आफू चेत बनेर काठमाडौंको विभिन्न व्यक्तिहरुलाई ठगी गरेको खुल्यो ।

प्रहरी अनुसन्धानका क्रममा रोशनले आफूले युट्युबबाट अरुको फेसबुक अकाउन्ट ह्याक गर्न सिकेको बताएका छन् । उनले युजरनेम र पासवर्ड कसरी चोर्न सकिन्छ भनेर जान्न खोज्दै सजिलै थाहा पाएको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् ।

‘को कस्को ह्याक गरौँ भनि मेरो फेसबुकमा साथी रहेका मानिसहरुको साथीहरु खोज्दै जाँदा चेतलाई ह्याकिङ लिंक पठाएर युजरनेम र पासवर्ड चोर्न सफल भएको हुँ’, रोशनले सरकारी वकिलसँगको बयानमा भनेका छन् ।

रोशनले आफूले साथीहरुको नागरिकता र फोन नम्बर प्रयोग गरेर इसेवा आईडी खोलेको र पीडितहरुले पठाउने भनेको रकम त्यसैमा जम्मा गर्न लगाएको बयान दिएका छन् । उनले आफ्नो एक साथीको बैंक खातामा पठाउन लगाएको ८० हजार रुपैयाँ भने पिडितले थाहा पाएर रोक्का गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

रोशनविरुद्ध विधुतीय कारोबार ऐन र ठगीअन्तर्गतका कसुरमा सजाय माग दाबी गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर