टर्कीका भूकम्प पीडितलाई सघाउन नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने – Nepal Press

टर्कीका भूकम्प पीडितलाई सघाउन नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

काठमाडौं । टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनःस्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए । ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ’, उनले भने, ‘त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।’

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।

भूकम्पमा परी करिब ९ हजारको ज्यान गएको छ भने ठूलो भौतिक क्षति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *