विप्लव नेकपाले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने – Nepal Press

विप्लव नेकपाले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले फागुन ५ र १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध गर्ने बताएका हुन् ।

उनले पार्टीले दलाल पूँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए । पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको उनले जानकारी दिए ।

‘राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरिएको छ’, प्रवक्ता विश्वकर्माले भने, ‘पार्टीले एमसीसी, एनसेल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका विरुद्ध संघर्ष गर्नेछ ।’

राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने बताउँदै उनले फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका विरुद्ध र फागुन १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।

३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरु मुक्त हुनुपर्नेमा हाल पनि ४० जना नेता तथा कार्यकर्ता विभिन्न जेल रहेको उनले जानकारी दिए । राज्यले सहमति गरेअनुसार अविलम्ब बन्दीहरु मुक्त गर्न र मुद्दाहरु खारेज गर्न उनले माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर