परिसंघद्वारा पर्यटनसम्बन्धी छुट्टै संसदीय समिति गठन गर्न माग, सभामुख घिमिरेको ध्यानाकर्षण – Nepal Press

परिसंघद्वारा पर्यटनसम्बन्धी छुट्टै संसदीय समिति गठन गर्न माग, सभामुख घिमिरेको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग परिसंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ । सभामुख कार्यालय सिंहदरबारमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको छ ।

परिसंघले नेपालको पर्यटन प्रवर्द्धन गर्न चालिनुपर्ने कदम, युरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सभामुखको ध्यानाकर्षण गराएको छ ।

परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएको र नेपालमा पर्यटनको अथाह सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकेको बताइन् ।

सार्वजनिक तथा निजी क्षेत्रको समेत खर्बौंको लगानी परिसकेको पर्यटन उद्योगबाट राज्यले अपेक्षाकृत रुपमा लाभ हासिल गर्न सक्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि नीतिगत तहमा गम्भीर समीक्षा, छलफल र दिशानिर्देश गर्न संसदीय पर्यटन समिति गठन गर्न आग्रह गरिन् ।

परिसंघका महानिर्देशक दीपकराज जोशीले पर्यटन संसदीय समिति गठन गर्न पर्यटन उद्योगसँग सम्बन्धित सबै संघसंस्थाको ऐक्यबद्धता रहेको बताए ।

संसदीय पर्यटन समिति गठन गर्न नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल (हान), नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा), नेपाल एसोसिएसन अफ टूर अपरेटर्स (नाटो), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा), टूरिष्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघ, नेपाल क्यानोनिङ एसोसिएसनले संयुक्त रुपमा संसद सचिवालयमा अनुरोधपत्रसमेत दिइसकेका छन् ।

सभामुख घिमिरेले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन भएको बताउँदै संसदीय पर्यटन समिति गठनका लागि निजी क्षेत्रको सुझावलाई स्वागत गरे । यस सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएकोसमेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर