घरमा आगो लागिरह्यो, खट्कियो दमकल अभाव – Nepal Press

घरमा आगो लागिरह्यो, खट्कियो दमकल अभाव

पोखरा । मुस्ताङको थासाङ गाउँपालिका ३ कालोपानी, लेतेमा गत माघ २२ गते अचानक विद्युत् सर्ट हुँदा घरमा आगलागी भयो ।आगलागीबाट ढकबहादुर तुलाचनको २ तले घर पूर्ण रूपमा क्षति भयो । दिउँसोमा लागेको आगो निभाउन स्थानीयहरूले बाल्टी तथा पाइपबाट पानी लगेर कोसिस गरे । तर आगो निभ्न सकेन । २ घर पूरै खरानी भए ।

लेते मुस्ताङको कुनै विकट गाउँ होइन । मुस्ताङको चल्तीकै बजार हो । जिल्लाको प्रमुख सडकको किनारको घरमा लागेको आगो निभाउन नगएको होइन, जिल्लामा दमकलै नभएको हो । मुस्ताङका ५ वटै पालिकामध्ये कसैसँग पनि दमकल छैन ।

उक्त घटनाका बारेमा मुस्ताङबाट निर्वाचित प्रदेश सभा सांसद विकल शेरचनले आगो नियन्त्रण गर्न दमकल नहुँदा समस्या परेको बताए ।

गण्डकी प्रदेश सभाको मङ्गलवारको बैठकको शून्य समयमा बोल्ने क्रममा शेरचनले मुस्ताङ जिल्लाभर एउटा पनि दमकल नभएको जानकारी दिए ।

सांसद शेरचन भने, ‘विपद् न्यूनीकरण गर्न आवश्यक कामहरू हामीले गर्न सकिरहेका छैनौँ ।’

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी आगो लागेको १० मिनेटमा उक्त स्थलमा पुगिसकेका थिए ।

तर, यति बेलासम्म आगो ‘आउट अफ कन्ट्रोल’ भइसकेको थियो । सुरक्षाकर्मी स्थानीयबाट आगो निभाउन नसकिने अवस्थामा पुगिसकेको थियो । उनीले हेरेर बस्नेबाहेक केही गर्न सकेनन् ।

‘म आगो लागेको १० मिनेटमै उक्त ठाउँमा पुगेको थिएँ । तर, दमकल थिएन । जसले गर्दा आगो नियन्त्रणमा आउन सकेन । बजार क्षेत्रमै आगलागी भएकाले दमकल भएको भए कम क्षति हुन्थ्यो, दमकल नै चाहिने रहेछ भन्ने महसुस भयो,’ प्रजिअ केसीले भने ।

मुस्ताङमा ५ वटा गाउँपालिका छन् । सबै पालिकामा दमकलको व्यवस्था गर्ने उद्देश्यले प्रदेश नम्बर १ ले ‘एक पालिका एक दमकल’ नीति नै लिएको छ । तर, गण्डकी प्रदेशका यसबारे कुनै निर्णय गरेको छैन । ५ स्थानीय तह रहेको मुस्ताङ जिल्ला नै दमकलविहीन छ ।

मुस्ताङमा दमकलका लागि गाउँपालिका अध्यक्ष र सांसदलाई कुरा उठाएको प्रजिअ केसीले सुनाए ।

‘आगो लागेको बेला गाउँपालिका अध्यक्ष पनि आउनुभएको थियो, मैले भनेको थिएँ, हेर्नु न अध्यक्षज्यू एउटा दमकलचाहिँ चाहिने रहेछ, कोसँग के गर्नुपरे गरौँला भनेर कुरा उठाएको थिएँ । सबै माननीयज्यूहरूलाई दमकलचाहिँ एकदमै आवश्यक छ मुस्ताङ जिल्ला भनेर आवाज उठाएको छु,’ उनले भने ।

सरोकारवालाहरूसँग बैठक बसी दमकलको व्यवस्था गर्ने प्रस्ताव गर्ने प्रजिअ केसीले बताए । उनले भने, ‘५ वटा पालिका छन्, एउटा किन्न सक्दैन भने मिलेर किनौँ न भनेर कुरा उठाएको छु मैले, केही दिनमा अध्यक्ष तथा सरोकारवालाहरूसँग बैठक बस्ने प्लान बनाएको छु, त्यसमा प्रस्ताव राख्ने विचार गरेको छु ।’

थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन गाउँपालिकाले दमकलको सट्टा पावरफुल पम्महरु राख्न सहज हुने बताए । ‘गाउँपालिकाले दमकल लिएर राखेर पनि काम छैन, कतिपय अफरोड छ, जान नै समय लाग्छ । त्यो भन्दा त पावरफुल पम्पहरू राखेर धेरै अग्ला घरहरू हुँदैनन् । गाउँपालिका ट्याक्टर राख्न सक्छ ।

त्यो हिसाबले सोच्ने हो कि भन्ने लागिरहेको छ । किनभने ठाउँअनुसारको सामान खरिद गर्नुपर्‍यो । वडामा ट्याक्टर राखेर पम्प राख्न सकिन्छ । त्यसको मूल्य पनि कम पर्छ । त्यसले अर्को काम पनि गर्छ । पानी सप्लाई गर्ने पनि काम लाग्छ,’ अध्यक्ष गौचनले भने, ‘दमकल किनेर पनि राखेरै बिग्रिने अवस्था हुन्छ ।’
तार सर्ट हुँदा आगलागी

तार सर्ट हुँदा आगलागी भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । ‘तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रजिअ केसीले भने । गण्डकी प्रदेश सभा सदस्य शेरचनले प्रदेश सभा बैठकमा पुरानो वाइरिङका कारण भएको भन्दै वाइरिङ परिवर्तन गर्न निर्देशन दिन माग गरे ।

‘मुस्ताङमा जुन पुरानो वाइरिङहरु छ, त्यसलाई विस्थापित गरी नयाँ वाइरिङ गर्न गराउन नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रदेश कार्यालयलाई निर्देशन दिनुहुन पनि हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।

अधिकांश आगलागीमा विद्युत् सर्ट नै कारण देखिएको सांसद शेरचनले बताए । उनले भने, ‘केही समयअघि फर्निचरमा आगलागी भएको थियो, मेरै छिमेकमा दुकानमा आगलागी भएको थियो, प्राय हेर्दाखेरि विद्युत् सर्ट भएर आगलागी भएको देखिन्छ । प्रदेश सभामा पनि कुरा उठाएको छु । उहाँहरूले कसरी हेर्नुपर्छ त्यसमा भर पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर