पहिलो खेलमा हारपछि नेपालको फाइटब्याक- महिला फुटबलमा ऐतिहासिक उपाधि नजिक – Nepal Press

पहिलो खेलमा हारपछि नेपालको फाइटब्याक- महिला फुटबलमा ऐतिहासिक उपाधि नजिक

काठमाडौं । नेपाली युवा महिला फुटबल टोलीले बंगलादेशमा आयोजना भइरहेको साफ यू-२० महिला च्याम्पियनसीपमा सुरुवात राम्रो गर्न सकेको थिएन ।

पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि चार टोली मात्र सहभागी रहेको यस प्रतियोगितामा नेपालको उपाधि होड कमजोर बन्ने देखिएको थियो । तर पनि दोस्रो खेलमा भुटानलाई ४-० गोलले हराएर नेपालले फाइनल पुग्ने आशा कायमै राखेको थियो ।

आ-आफ्नो दोस्रो खेलमा भिडेका बंगलादेश र भारत बराबरीमा रोकिनु नेपालका लागि फाइदाजनक रह्यो । नेपाललाई अगाडि बढ्न अन्तिम खेलमा साविक विजेता भारतलाई हराउनैपर्ने दबाब थियो । मंगलबार भारतमाथि ३-१ गोलको जित निकालेर नेपालले फाइनलमा स्थान सुरक्षित गरेकाे हाे ।

साफ यू-२० महिला च्याम्पियनसीप पहिलोपटक आयोजना भएको हो । यसअघि सन् २०१८ मा साफ यू-१८ च्याम्पियनसीप आयोजना भएको थियो । त्यतिबेला ६ टोली सहभागी रहेको भुटानमा आयोजित त्यस प्रतियोगितामा नेपालले भारतलाई सेमिफाइनलमा टाइब्रेकरमा हराउँदै फाइनल पुगेको थियो। यद्यपी उपाधि भिडन्तमा बंगलादेशसँग १-० गोलले पराजित भयो ।

त्यसपछि सन् २०२१ मा साफ यू-१९ महिला च्याम्पियनसीप आयोजना भएको थियो । बंगलादेशले आयोजना गरेको त्यस प्रतियोगितामा ५ टोली सहभागी थिए । पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाली टोलीले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलले हराएको थियो । तेस्रो खेलमा भुटानलाई पनि हराएको नेपाल अन्तिम खेलमा भारतसँग १-० गोलले पराजित भएर फाइनल पुग्न असफल बनेको थियो ।

गतवर्ष भारतमा आयोजना भएको साफ यू-१८ महिला च्याम्पियनसिप नेपालका लागि सुखद् रहन सकेन । तीन टोली मात्र सहभागी रहेको त्यस प्रतियोगितामा नेपालले भारत र बंगलादेश दुवैसँग २/२ खेल खेल्नुपर्ने थियो । तर नेपाली टोली चारवटै खेलमा पराजित भएर तेस्रो तथा अन्तिम स्थानमा सिमित बनेको थियो । नेपाल भारतसँगका खेलमा ७-० र ५-१ गोलले पराजित भएको थियो ।

नेपाली महिला टोलीले उमेरस्तर तथा सिनियरस्तरको अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म उपाधि जित्न सकेको छैन । साफ महिला च्याम्पियनसीपमा हालसम्म ६ पटक प्रतिस्पर्धा गरेकामा नेपाल सबैमा उपविजेतामा सिमित बनेको थियो ।

भारतीय टोलीले सुरुका पाँच संस्करण जितेपनि गत वर्ष भुटानमा आयोजित प्रतियोगिताको फाइनलमा भने बंगलादेशसँग हार व्यहोरेको थियो । मंगलबार सुरुवाती अग्रता भारतले लिएपनि नेपाल खेलमा फर्किएको थियो। अब हुने लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई हराएमा वा बराबरी खेलेमा भारत पहिलो चरणबाटै बाहिरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *