देशकै पुरानो कोशी अस्पताल : समस्याका चाङ, सुरक्षित छैनन् चिकित्सक – Nepal Press

देशकै पुरानो कोशी अस्पताल : समस्याका चाङ, सुरक्षित छैनन् चिकित्सक

विराटनगर । देशकै पुरानो अस्पताल कोसी अस्पतालका विभागीय प्रमुखहरूले दक्ष जनशक्तिको अभावमा अस्पतालको सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसकेको बताएका छन् ।

१ सय ३२ वर्ष पुरानो अस्पतालले प्रदेश १ का १४ जिल्ला, मधेस प्रदेश र भारतको बिहार राज्यका बिरामीलाई समेत सेवा दिनुपर्ने भएपनि जनशक्ति नहुँदा समस्या भएको उनीहरूको तर्क छ ।

अस्पतालमा ओपीडी सेवा लिन दैनिक १५ सय भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीको चाप भएका कारण एक जना डाक्टरले ८० जनासम्म बिरामी हेर्नु परेको डाक्टर रोशन खड्काले बताए ।

उनले अस्पतालमा फेरिरहने मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिबीच समन्वय नहुँदा समेत अस्पतालमा समस्या भएको बताए । कोसी अस्पताल विकास समितिको ४ महिनादेखि बैठक बस्न सकेको छैन ।

आन्तरिक विवादका कारण बैठक बस्न नसक्दा चिकित्सक, कर्मचारीहरूले समस्या झुल्दै आएका छन् । यस विषयमा सरोकारवालाहरू मौन रहेको डा. खड्काले बताए ।

प्रदेश १ संवाद समूहको आयोजनामा भएको कोसी अस्पतालको प्रभावकारी सेवा प्रवाहमा पत्रकारको भूमिका विषयक संवादमा सहभागी अस्पतालका विभागीय प्रमुखहरूले अस्पतालमा असुरक्षा भएको बताए ।

अस्पतालमा राखिएका सुरक्षा गार्डहरूले प्रभावकारी रूपमा काम नगर्दा आफूहरू सधैँ असुरक्षित भएर काम गर्नु उनीहरूको गुनासो छ ।

खड्काले भने, ‘सुरक्षा गार्ड राखिएको छ । अप्ठ्यारो परेको बेला कोही पनि सुरक्षा गार्ड हुँदैनन् । सुरक्षा गार्ड नहुँदा डाक्टरले कुटाइ खानु परिरहेको छ । ’
अस्पतालको इमरजेन्सी विभागमा काम गर्ने डाक्टरमाथि केही दिन अघि कार्यकक्ष मै हातपात र कुटपिट भएको थियो ।

अस्पतालका वरिष्ठ नरसिङ्ग प्रशासक मञ्जु यादवले अस्पतालमा स्टाफ नर्सको चरम अभाव भएको बताइन् ।

उनले भनिन् ‘अस्पतालमा रहेका नर्सहरू २४ सै घण्टा खटिनु पर्छ । एक जना नर्सले १२ जना सम्म अप्रेसन गरेका बिरामीको हेरचाह गर्नु पर्छ । एउटा नर्सले कति जना बिरामीको केयर गर्नु पर्ने हो ? उनको प्रश्न छ,‘कोसी अस्पतालमा हामी नर्सहरूले मापदण्ड अनुसार काम गर्छौ भन्दा धर पाउँछौ ?’

उनले ३५० शय्याको अस्पतालमा स्वीकृत जनशक्ति नभएकाले काम गर्न समस्या भएको बताइन् । उनले जोखिम मोलेर काम गरेको भए पनि जोखिम भत्ता नपाएको गुनासो गरिन् ।

पहुँचवालाको दबाब

कोसी अस्पताल प्रसूति विभाग प्रमुख डा. अन्जु देवले प्रसूतिको बेड सङ्ख्या घटाएका कारण प्रसूति भएकाहरूलाई भुईँमा राखेर उपचार गरिरहनु परेको बताइन् ।

‘पहिला १ सय बेड क्षमता थियो । नयाँ भवन बनेपछि ७५ बेडमा झारियो’ उनले भनिन्, ‘प्रसूतिको चाप बढेका कारण काम गर्ने समस्या भएको छ ।’

राजनीतिक दलका नेता र पहुँचवालाहरूले प्रसूति गराउन दबाब आउँछ । उनले भनिन्, ‘भर्ना गरौँ बेड छैन नगरौँ दबाब छ ।’

कोसी अस्पतालका डेन्टल विभागका प्रमुख डा. सुधीर श्रेष्ठले आफू मातहतको विभागमा ठाउँको अभाव भएको बताए । उनले भने, ‘डेन्टलकै विभिन्न विभाग र विशेषज्ञ डाक्टरहरू हुन्छन् । तर भएका जनशक्तिले समेत काम गर्न सकेका छैनन् ।’

उनले ठाउँ ठाउँमा रहेका काउन्टरमा बिरामी र बिरामीका आफन्त लाइन लाग्नु पर्ने समस्या भएका कारण बिरामीहरूले सास्ती खेप्नु परेको उनले बताए ।

उनले भने, ‘अस्पतालमा सहजीकरण गर्ने कर्मचारी पनि छन् । उनीहरूले बिरामी र बिरामीका आफन्तलाई सहजीकरण नगरिदिँदा समस्या भएको छ । यसको अपजस हामीले खेपी रहेका छौ ।’

अस्पतालका अर्थोपेडिक वार्डका इन्चार्ज लजिता योन्जनले अस्पतालको संरचनाका कारण फोहोर व्यवस्थापनमा समस्या परेको बताइन् ।

जनशक्ति अभाव हुँदा हुँदै पनि काम गरिरहेका छौ । तर पुरानो संरचनाका कारण हामीलाई काम गर्न समस्या छ । उनले अस्पतालको सबै भन्दा संवेदनशील वार्डमा शौचालयको फोहोर आउने गरेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो समस्या सुनिँदैन । वार्डमा फोहोर भयो भनेर फोटो सार्वजनिक हुन्छ । यो हाम्रा कारण भएको होइन भन्न समेत पाउँदैनौ ।’

अस्पतालका इमरजेन्सी विभावका प्रमुख डा. गजेन्द्र यादवले अस्पतालमा फोहोर व्यवस्थापनमा समस्या भएको बताए । उनले ड्रनेज सिस्टम राम्रो नहुँदा फोहोर व्यवस्थापन चुनौती बनेको बताए ।

अस्पताल प्रशासनले भने अस्पतालको समस्या समाधान गर्न प्रयासरत भएको बताएको छ । संवादमा सहभागी कर्मचारी प्रशासनका प्रमुख नवराज लुइँटेलले ११ सय २५ जनाको दरबन्दी स्वीकृतका लागि पठाएको र सो दरबन्दी स्वीकृत भएर आए अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या समाधान हुने बताए ।

हामीले पठाएको फायल स्वास्थ्य मन्त्रालयबाट अर्थमा गएर अड्किएको छ । उनले भने, ‘अर्थ मन्त्रालयलाई लाई फायल स्वीकृत गर्न दबाब दिन पत्रकारहरूले लेखि दिनुपर्‍यो बोल्दिन पर्‍यो । कोसी अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन पत्रकारको सहयोग आवश्यक छ ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा लक्ष्मीनारायण यादवले अस्पतालमा भएको समस्या समाधान गरी सेवा प्रवाह गर्न लागेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले सरकारका कारण नै अस्पताल विकास समिति र अस्पताल प्रशासनबीच विवादले भएको बताए । उनले अस्पतालमा ७ अर्बको लगानीमा भवनहरू बनिरहेकाले भौतिक पूर्वाधारको समस्या हट्ने बताए । हामीले भौतिक पूर्वाधार निर्माणमा काम गरिरहेका छौ । निर्माण सम्पन्न भएपछि अस्पतालको रूप फेरिने उनले बताए ।

अस्पतालका सहयोगी हौ : पत्रकार

संवादमा सहभागी पत्रकारहरूले आफूहरू पनि कोसी अस्पतालको सेवा प्रवाह सुधार र राम्रो गराउन भूमिका खेलिरहेका बताएका छन् ।

पत्रकार गणेश लम्सालले भने, ‘कसले पहुँचका भरमा कसले दबाब दियो ? कसले काम गरेन हामीलाई सूचना दिनुस् । जागिर खाएर काम नगर्ने राजनीतिक पहुँच देखाउनेका बारेमा हामी लेख्छौ ।’

पत्रकार गोकुल पराजुलीले भने, ‘अस्पतालले गरेका राम्रा काम र समस्याका बारेमा पत्रकारसँग अन्तरक्रिया गर्ने काम थालौँ । यसले पत्रकार र अस्पतालका बिचमा रहेको ग्याप कम हुन्छ ।’

पत्रकार राजु अधिकारीले भने, ‘हामीलाई आवश्यक परेका सूचना उपलब्ध गराउने सूचना अधिकारी होइन प्रवक्ताको व्यवस्था गरियोस् । मेडिकलको आफ्नै ट्रमोलोजी हुन्छ । यसैले विषय विज्ञ डाक्टरलाई प्रवक्ता तोकियोस् ।’

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन महासङ्घले समन्वयको काम गर्ने बताए ।

संवाद समूहका सदस्य महेन्द्र मोरङ क्याम्पस विराटनगर समाजशास्त्र विभागका प्रमुख डा चन्द्र तिम्सिनाले अस्पतालको सेवा राम्रो बनाउन संवाद समूहले २ वर्षदेखि सरोकारवालासँग संवाद गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर