लुम्बिनीमा रामकथा प्रवचनको विवाद समाधान, त्रिपक्षीय सहमतिपछि सुरु भयो कार्यक्रम – Nepal Press

लुम्बिनीमा रामकथा प्रवचनको विवाद समाधान, त्रिपक्षीय सहमतिपछि सुरु भयो कार्यक्रम

रुपन्देही । भारतीय सन्त मुरारी बापूद्वारा गरिने कथा वाचनको विषयलाई लिएर कुनै पनि पक्षले विरोध नगर्ने सहमति भएको छ । लुम्बिनी विकास कोषमा मङ्गलवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको रोहबरमा बसेको बैठकले चार बुँदे सहमति गरेको हो ।

बैठकमा लुम्बिनी गुरुयोजना बमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मुरारी बापुको कथा वाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र परामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन् ।

यस्तै माघ २३ गते पर्सा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाउने, घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने सहमति भएको छ । हस्ताक्षर गरिएको सहमतिमा विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ ।

त्यसैगरी लुम्बिनीमा सञ्चालनमा भएको रामकथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीहरूले संवादका क्रममा राखेको सुझावलाई मध्यनजर गर्दै आयोजकहरूलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, संघ, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने र उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघसंस्था र सरोकारवालासँग परामर्श र सहमति गर्ने सहमति भएको छ ।

बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मी, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको सहभागिता थियो ।

राम कथा प्रवचनको सहभागिताले स्थानीय र व्यवसायी खुसी

लुम्बिनीमा मङ्गलवारदेखि राम कथा प्रवचन सुरु भएको छ । भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूले कथा वाचन सुरु गरेका हुन् ।

फागुन ३ गतेसम्म चल्ने कथा वाचनमा नेपाल, भारतसहित विश्वभरका धार्मिक एवं आध्यात्मिक भक्तजन सहभागी छन् । यसले लुम्बिनीको पर्यटन प्रवर्द्धन हुने भन्दै स्थानीय र पर्यटन व्यवसायी हर्षित भएका छन् ।

आयोजक राम कथा प्रेमयज्ञ समिति लुम्बिनीका अनुसार यहाँस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन सुरु भएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भएको प्रवचनले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा थप प्रचारप्रसार गर्ने आयोजकको भनाइ छ । नौ दिनसम्म चल्ने प्रवचनमा नेपालबाहेक भारतलगायत विश्वभरका दुई हजारभन्दा बढी श्रद्धालु लुम्बिनी आएका छन् । कथा वाचनले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने कार्यक्रम संयोजक राजेशकुमार अग्रवालले बताए ।

आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा भइरहेको राम कथा प्रवचन ९१२ औँ हो । यसअघि उनले ९११ औँ कथा वाचन गरिसकेका छन् । नेपालमा यसअघि सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन भइसकेको छ ।

त्यसअघि काठमाडौं र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भएको थियो ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराइने छ । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका बापूले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएको अग्रवालले बताए । ‘उनको अभियान अन्तर्गत भारतको बोध गया, सारनाथ तथा कुशीनगरमा राम कथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो’, उनले भने । उनका अनुसार कथा वाचन भएका क्षेत्रमा पर्यटन प्रवर्द्धन हुँदै आएको छ । ‘कोरोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन विकासमा यो कार्यक्रम फलदायी मात्रै हुने छैन, व्यवसायी यसबाट राम्रो लाभ लिनुहुने छ भन्ने हाम्रो विश्वास हो’, उनले भने । उनका अनुसार कार्यक्रममा आउने श्रद्धालुलाई निःशुल्क भोजन गराइए पनि बास बस्नका लागि भने स्वयं श्रद्धालुले आफै व्यवस्थापन गरेका छन् ।

‘दुई हजार श्रद्धालुले आफै खर्च तिरेर होटलमा बस्दा पक्कै पनि व्यवसायीलाई लाभ हुनेछ’, उनले भने, ‘कति श्रद्धालु पहिलो पटक लुम्बिनी आउनुभएको छ, उहाँहरूले लुम्बिनीका बारे प्रचारप्रसार गर्दा पक्कै पनि भोलिका दिनमा लुम्बिनीमा पर्यटकको आगमन बढ्ने छ ।’

कथा वाचनका कारण यस क्षेत्रका सबैजसो होटलहरु बुकिङ भएका छन् । लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटन क्षेत्रको विकासका लागि महत्त्वपूर्ण भएको बताए । यसअघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो ।

कार्यक्रमको भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ । यसकारण पनि अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनीको प्रचार बढ्ने छ ।

भारतीय सन्त मोरारी बापू सोमबार गुजरातबाट विमान चार्डड गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुगेका थिए । पहिलो पटक उनी यहाँ आएकाले पनि उनका विश्वासपात्रहरू लुम्बिनी आउन प्रेरित हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर