कप्तान फिन्चले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास – Nepal Press

कप्तान फिन्चले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौं । अष्ट्रेलियन टी–२० क्रिकेट टिमका कप्तान एरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । फिन्चले गत सेप्टेम्बरमा एक दिवसीय अन्तर्राष्ट्रिय बाट संन्यास घोषणा गरेका थिए ।

सन् २०२१ मा अष्ट्रेलियाले पहिलो पटक टी–२० विश्वकप उपाधि जित्दा फिन्चले टिमको नेतृत्व गरेका थिए । उनले अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै पाँच टेस्ट, १ सय ४६ एक दिवसीय अन्तर्राष्ट्रिय र १ सय ३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले घरेलु टी–२० प्रतियोगिताहरू भने खेल्नेछन् ।

अष्ट्रेलियाका लागि खेल्नु सौभाग्यपूर्ण रहेको फिन्चले बताएका छन् । ‘मैले २०२४ को विश्वकपसम्म खेल्न सक्दिन भन्ने महसुस गर्दै मैले यो समयलाई संन्यास लिने उपयुक्त समय ठाने । अनि, टिमलाई आगामी यात्राका लागि योजनाका योजना बनाउन मद्दत गरे,’ उनले भने ।

फिन्च अष्ट्रेलियाका लागि पुरुष टी–२० क्रिकेटमा सबै भन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले ३ हजार १ सय २० रन बनाएका छन् । जुन सर्वकालीन वरियताको छैटौँ स्थान हो । फिन्चले टी–२० अन्तर्राष्ट्रियमा ३४.२४ को औसतमा १ सय ४२.५३ को स्ट्राइक रेटमा दुई शतक प्रहार गरेका छन् ।

उनले एक दिवसीय क्रिकेटमा ३९.१३ को औसतमा १७ शतकसहित ५ हजार ४ सय १ रन बनाएका छन् । अष्ट्रेलियन क्रिकेट टिमले सन् २०१५ मा एक दिवसीय विश्वकप जित्दा फिन्च उक्त टिमको सदस्य रहेका थिए ।

‘टिमको सफलता के हो भन्ने कुरा मैले इतिहासमा पहिलो पटक सन् २०२१ मा अष्ट्रेलियाले टी–२० विश्वकपको ट्रफी उचाल्दा र सन् २०१५ मा घरेलु मैदानमा एक दिवसीय विश्वकप जित्दाका महसुस गरेको थिए ।र,यी दुई पललाई म जीवनभर सम्झिने छु,’ फिन्चले थपे ।

‘१२ वर्ष अष्ट्रेलियाको प्रतिनिधित्व गर्न पाउनु र सर्वकालीन महान् खेलाडीहरूसँग र उनीहरुविरुद्ध खेल्न पाउनु मेरालागि सौभाग्यपूर्ण कुरा हो,’ उनले भने ।

फिन्चले सन् २०११ मा इङल्यान्डविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर