विश्वासको मत र पावर शेयरिङबारे निर्णय लिन सुदूरपश्चिमका ७ सांसदले रेशमलाई भेट्दै – Nepal Press

विश्वासको मत र पावर शेयरिङबारे निर्णय लिन सुदूरपश्चिमका ७ सांसदले रेशमलाई भेट्दै

कैलाली । सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले अन्ततः विश्वासको मत दिने भएको छ । यस विषयमा आधिकारिक निर्णय भने डिल्लीबजारस्थित केन्द्रीय कारागारबाट हुनेछ ।

यहाँका ७ सांसद अहिले काठमाडौं जान लागेका छन् ।

उनीहरूले रेशम चौधरीलाई भेटेर यस विषयमा निर्णय गर्ने र पावर शेयरिङको विषयमा पनि टुंगो लगाउने स्रोतले नेपाल प्रेसलाई बतायो ।

रेशम चौधरीसहित पार्टी अध्यक्ष रञ्जिता चौधरी र सात सांसदले आजै प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गर्ने स्रोतको भनाई छ ।

पुस २७ मा नियुक्त भएका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।

केही दिनअघि काठमाडौंमा मुख्यमन्त्रीबाहेक अन्य ६ मन्त्रालयमा एमालेका २, माओवादीका २ र नागरिक उन्मुक्तिका २ जनालाई मन्त्री बनाउनेगरी एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नागरिक उन्मुक्तिका नेताको छलफल भएको थियो ।

राज्यमन्त्री पनि बराबर र संसदीय समितिमा पनि भागबन्डा गर्ने गरी लगभग सहमति भएको बताइएको छ ।

माओवादी र नागरिक उन्मुक्तिले ३/३ मन्त्रालय दाबी गरेको छ । तर, दुवैलाई २/२ मन्त्रालय र नागरिक उन्मुक्तिलाई प्रदेश प्रमुखसमेत दिने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर