टर्की र सिरियामा दुई शक्तिशाली भूकम्पबाट १९ सय बढीको मृत्यु पुष्टि – Nepal Press

टर्की र सिरियामा दुई शक्तिशाली भूकम्पबाट १९ सय बढीको मृत्यु पुष्टि

काठमाडौं । टर्की र सिरियामा गएको दुई शक्तिशाली भूकम्पमा परी १९०० बढीको ज्यान गएको छ । सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको उक्त भूकम्पको पराकम्प ३ सय किलोमिटरसम्म महसुस गरिएको थियो ।

त्यस्तै, आज साँझ अर्को शक्तिशाली भूकम्पले मृत्यु हुनेको संख्या बढेको रोयटर्सले उल्लेख गरेको छ । युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरका अनुसार दोस्रो भूकम्प ७.७ म्याग्निच्युडको गएको थियो ।

भूकम्पले सबैभन्दा बढी क्षति अंकारा, नुरदागीलगायतका १० शहरमा पुर्याएको छ । टर्कीमा भूकम्प आएको केही सेकेण्डमै सिरिया, लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

टर्कीका विभिन्न १० प्रान्तहरुमा ११०० बढी मानिसहरुको मृत्यु भएको छ भने सिरियमा ४३० जनाभन्दा बढीको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन युनिटले जानकारी दिएको छ । त्यस्तै, हालसम्मको जम्मा मृत्यु संख्या भने १९०० बढी छ । यद्यपी मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । घटनामा १० हजार बढी घाइते भएका छन् भने विभिन्न भौतिक संरचनाहरु ध्वस्त बनेका छन् ।

यसैबीच टर्कीमा गएको उक्त विनाशकारी भूकम्पपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन् । ‘टर्कीमा आएको विनाशकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर