एक महिना नपुग्दै सचिवको सरुवा – Nepal Press

एक महिना नपुग्दै सचिवको सरुवा

काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले दुईजना सचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरुको सरुवा गरिएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरी पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएको छ । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

पोखरेल ५ महिना अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहबाट सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिनुअघि उनी उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति सचिवको जिम्मेवारीमा थिए ।

एक महिना नपुग्दै पुष्करको सरुवा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करको सरुवा भएको १ महिना नपुग्दै पुन सरुवा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार आउने बित्तिकै उनलाई अर्थ सचिवबाट सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुर्याएको थियो । त्यहाँ बसेर काम गरेको १ महिना नपुग्दै उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

यस अघि अर्थ मन्त्रालयको राजस्व सचिवबाट अर्थ सचिवको जिम्मेवारी सम्हालेको ५ महिना नपुग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको थियो । राजस्व सचिवबाट गत साउन २६ मा अर्थसचिवमा आएका उनलाई पुस २१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए ।

२०७८ भदौ ११ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो । उनी सचिवमा बढुवा भएको डेढ वर्षमा ५ पटक सरुवा भइसकेका छन् ।

पुस्कारलाई प्रदेशमा नपठाई एकैपटक अर्थमन्त्रालयको राजस्व सचिवको जिम्मेवारी दिइएको थियो । सचिवमा बढुवापछि एक महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएको थियो । प्रायजसो सहसचिवबाट बढुवा भइसकेपछि पहिलो पदस्थापन प्रदेश प्रमुख सचिवमा गर्ने प्रचलन रहिआएको छ ।

 


प्रतिक्रिया

One thought on “एक महिना नपुग्दै सचिवको सरुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *