रवि लामिछानेलाई मिडिया सोसाइटीको चुनौती : आरोप पुष्टि हुने प्रमाण देउ – Nepal Press

रवि लामिछानेलाई मिडिया सोसाइटीको चुनौती : आरोप पुष्टि हुने प्रमाण देउ

काठमाडौं । नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमा लगाएको आरोप पुष्टि हुने प्रमाण दिन चुनौती दिएको छ ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले एक विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले दिएको मिडिया र मिडियाकर्मी लक्षित अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै आरोप पुष्टि हुने आधार पेस गर्न भनेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मिडिया सोसाइटी लामिछाने र उनको दललाई प्रश्न गर्न चाहन्छ, के नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्यायपालिका माथि बर्बहराहट गर्ने अधिकार कहाँबाट प्राप्त गरे ? तसर्थ समयमै आफ्नो गल्ती सच्याउन र आम जनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौती दिने गल्ती नदोहर्याउन समेत चेतावनी दिन चाहन्छौं ।’

लामिछानेले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको गम्भीर घात भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको स्थापित पत्रकारिता क्षेत्रप्रति लामिछानेले दोहारो नागरिकताका कारण पद गुमाएको पीडाको आक्रोश पोख्ने रबैयाले उनले नवोदित दलको मिडिया विरोधी रबैयालाई उदाङ्गो पारेको सोसाइटीको ठहर छ ।

‘जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लागउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको छ । लामिछानेको अभिव्यक्तिबाट सिर्जित हुनसक्ने कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनु पर्ने कुरासमेत स्पष्ट गर्न चाहन्छौ’, विज्ञप्तीमा भनिएको छ ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेलाई मिडिया सोसाइटीको चुनौती : आरोप पुष्टि हुने प्रमाण देउ

  1. तिमीहरू दलाल हौ भन्ने कुरा प्रमाणित गर्नै पर्दैन । तिमीहरूले दैनिक प्रकाशित गरेको समाचारबाट नै स्पष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर