सहिदनगरका तत्कालीन प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

सहिदनगरका तत्कालीन प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार बरबरिया, उपप्रमुख शीलादेवी कापरीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन नगर प्रमुख यादव, उपप्रमुख कापरी, तत्कालीन लेखा समिति संयोजक, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनामाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

सहिदनगर नगरपालिका ८ स्थित विसरभोरा नहरदेखि गोठकोयलपुर सीमासम्म कृषि सडक निर्माणमा उनीहरुले २ लाख १२ हजार ८१६ रुपैयाँ २३ पैसा बराबरको भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको देखिएको छ ।’

लागत इस्टिमेट र कार्य सम्झौताअनुसार काम गर्ने भनिए तापनि बढी भुक्तानी दिइएको अख्तियारको दाबी छ ।

नगर प्रमुख यादवमाथि अन्य योजनामा पनि भ्रष्टाचार गरेको आरोप लागेको छ । तर, उनीमाथि कृषि सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पहिलो मुद्दा विशेष अदालतमा लगेको हो ।

नगर प्रमुख यादव र उपप्रमुख कापरी नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए । यो पटक भने दुवैजना पराजित भएका थिए ।

भ्रष्टाचार मुद्दा लाग्नेमा सहिदनगर नगरपालिकाका तत्कालीन लेखा अधिकृत नन्दकुमार झा पनि हुन् । उनी अहिले जनकपुरधाम उपमहानगरपालिकामा लेखा अधिकृत नै छन् । विशेष अदालतमा मुद्दा दायर भएकाले उनी निलम्बनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *