कलाकार खाप्न थालेको एक वर्षपछि नीताको ‘ह्रस्वदीर्घ’ छायांकनमा – Nepal Press

कलाकार खाप्न थालेको एक वर्षपछि नीताको ‘ह्रस्वदीर्घ’ छायांकनमा

काठमाडौं । झण्डै एक वर्ष लामो कलाकार छनौट प्रक्रियापछि अन्तत चलचित्र ‘ह्रस्वदीर्घ’को छायांकन सुरु भएको छ। गएको वर्षदेखि चलचित्र निर्माण हुने चर्चा भएपनि अहिलेसम्म ‘ह्रस्वदीर्घ’ को छायांकन कहिले भन्ने बारे केही प्रस्ट्याइएको थिएन।

एक वर्षसम्म कलाकारमात्र अनुबन्धित गर्ने कार्य भएपछि चलचित्र नै नबन्ने हो की भन्ने धेरैमा कौतुहलता थियो। अन्तत सबैको कौतुहलतालाई शान्त पार्दै अभिनेत्री नीता ढुंगानाले चलचित्रको छायांकन सुरु गरेकी छन्।

पति हरिहर अधिकारी र चलचित्रको टीमसहित नीता अहिले भारतको हैदराबादमा अवस्थित एसियाकै ठूलो फिल्म स्टुडियो, रामोजी फिल्म सिटीमा छन्। रामोजीबाटै चलचित्रको छायांकन सुरु गरिएको हो। आज आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट एक भिडियो सन्देश सार्वजनिक गर्दै नीताले चलचित्रको सुट सुरु भएको जानकारी गराएकी हुन्।

कथाले धेरै कलाकारहरु मागेकाले अहिलेसम्म कलाकार छनौट भएको उनको भनाई छ। रामोजी फिल्म सिटीबाटै सन्देश जारी गरेकी नीता भन्छिन, ‘कथाले मागेकाले धेरै कलाकारहरु जोड्नुपर्यो। । त्यसैले धेरै अनि राम्रा राम्रा कलाकारहरु समावेश गरेका छौं। नेपाली चलचित्र यसरी संसारकै वा भनौँ एसियाकै सबैभन्दा ठूलो स्टुडीयोमा खिचिनु नेपाली र नेपाली चलचित्र क्षेत्रको लागि ठूलो कुरा हो। पहिलो कदम मैले चाले। साथ र समर्थनको धेरै आशा छ।’

हालसमम चलचित्रमा झण्डै एक दर्जन कलाकार अनुबन्धित भइसकेका छन्। नेपालीमात्र नभएर बलिउडका कलाकारलाई पनि चलचित्रमा समावेश छन्। हजारभन्दा धेरै फिल्मको रेकर्ड राखिसकेका भारतीय अभिनेता ब्रह्मानन्दमसहित चर्चित दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा खलपात्रको रोल गरिसकेका सुनिल बर्मा चलचित्रमा फिचर्ड हुने भएका छन्।

यसैगरी ‘गजनी’ फेम्ड अभिनेता प्रदीपराज रावत पनि चलचित्रमा रहनेछन्। १६ वर्षपछि अभिनेत्री विपना थापाले यसै चलचित्रबाट कमब्याक गर्दैछिन्।

त्यसैगरी चलचित्रमा नीतासहित हरिहर अधिकारी, सरोज खनाल, गरिमा शर्मा, रविन्द्र झा, आदर्श मिश्रा, लक्ष्मी पौडेल, एम।डी वसिम राजा, नरेन खड्का लगायतका कलाकारको अभिनय रहनेछ। चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्ने भएका छन। निता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई भारतीय सिनेम्याटोग्राफर कवीरलालले छायांकन गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *