रविसहित रास्वपाका निवर्तमान मन्त्रीहरुले सरकारी निवास छोडे – Nepal Press

रविसहित रास्वपाका निवर्तमान मन्त्रीहरुले सरकारी निवास छोडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान मन्त्रीहरुले सरकारी निवास छाडेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित हिजो राजीनामा दिएका मन्त्रीहरु क्वाटरबाट आफ्नो निवासमा सरेका हुन् ।

निवर्तमान श्रममन्त्री डोलप्रसाद अर्यालले हिजो राजीनामा दिएलगत्तै आफू बसिरहेको क्वाटर खाली गरेको नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘अब सरकारमै नरहेपछि सरकारी निवासमा किन बस्ने भनेर हिजै सबै सामान निकालिसके । अहिले बालाजुस्थित आफ्नै घरमा सरेको छु ।’

अर्यालले सरकारी गाडी र पीएसओ पनि फिर्ता गरेका छन् ।

रवि लामिछानेले पनि हिजो आफ्नो क्वार्टर खाली गराएका छन् । यसअघि उनले क्वाटर छाडे पनि सामान निकालेका थिएनन् भने साँचो आफैंसँग राखेका थिए । क्वार्टर नछाडेको विषयमा हिजो उनले पत्रकार सम्मेलनमा स्पष्टीकरणसमेत दिएका थिए । त्यसलगत्तै उनले हिजो सम्वन्धित निकायको रोहबरमा क्वाटर खाली गराएको स्रोतले बताएको छ । लामिछानेले आफू पूर्वगृहमन्त्रीको हैसियतमा कुनै पनि सुविधा नलिने बताइसकेका छन् ।

रास्वपाबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोसिमा कार्की भने सरकारी निवासमा सरेकी थिइनन् । आफ्नै निवासमा बसिरहेकीले उनलाई छोटो समयमा यता र उता गर्नुपर्ने झण्झट आइपरेन ।

मन्त्रीबाट पद मुक्त भएकाहरुले एक हप्ताभित्र क्वाटर छोड्नुपर्ने प्रावधान रहेको छ । रास्वपाका तर्फबाट शिक्षामन्त्री रहेका शिशिर खनालले भने आज क्वार्टर छोडेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर