एमाले निकट खेलकुद महासंघको अध्यक्षमा आधा दर्जन आकांक्षी, अन्य पदाधिकारीमा को को ? – Nepal Press

एमाले निकट खेलकुद महासंघको अध्यक्षमा आधा दर्जन आकांक्षी, अन्य पदाधिकारीमा को को ?

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षका लागि आधा दर्जन आकांक्षी निस्किएका छन् । महासंघको दोस्रो महाधिवेशन विराटनगरमा फागुन ७ गते आयोजना हुँदैछ ।

महासंघको अध्यक्षमा महाधिवेशन आयोजक कमिटीका संयोजक पर्शुराम बस्नेत दोहोरिन चाहेका छन् । रमेश पौडेल संयोजकबाट हटेपछि उनी सो पदमा आएको १ वर्ष पुगेको छ । हालै सम्पन्न निर्वाचनमा उनी प्रदेशसभा सदस्य उम्मेदवार बनेका थिए ।

बस्नेतसँगै खेलकुद महासंघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष प्रभातविक्रम कटुवालले पनि सशक्त दाबी गरेका छन् । बस्नेतसँगै कटुवाल पनि युवा संघको उपाध्यक्षबाट बिदा भएर खेलकुद महासंघमा आबद्ध भएका थिए ।

दीपेन्द्र दाहाल पनि अध्यक्षका बलिया दाबेदार छन् । उनी निवर्तमान उपाध्यक्षसमेत हुन् । महासंघको संगठन विभाग प्रमुख रहेका दाहालले महाधिवेशन प्रतिनिधि व्यवस्थापन संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्यस्तै उपेन्द्र पौडेलले पनि अध्यक्षमा दाबी गरेका छन् । उनी पनि १० बुँदे पक्षधर समूहबाट उपाध्यक्ष भएका थिए भने अहिले संयोजकबाहेक पदाधिकारी नभएकाले स्थायी कमिटीमा छन् ।

महासंघको अध्यक्षमा भीम ओली, निरेशलाल सिंह र ओमकृष्ण प्रसाईंले पनि दाबी गरेका छन् । उनीहरु पनि यसअघि उपाध्यक्ष थिए । ६ जना आकांक्षी भए पनि अन्तिममा दुईजनाबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

२०६६ सालमा स्थापना भएको नेपाल खेलकुद महासंघमा हालसम्म पुरुषोत्तम पौडेलपछि रमेश पौडेल र पर्शुराम बस्नेतले नेतृत्व गरेका छन् । एमालेका खेलकुद महासंघ इन्चार्ज गोकुल बास्कोटाले संस्थागत नभइसकेको संगठनमा सकेसम्म सर्वसम्मत नेतृत्वको लागि आफूले सुझाव दिएको बताए ।

बास्कोटाले भने, ‘महासंघले अझै संस्थागत रुप लिइसकेको छैन । यसमा ६० प्रतिशित खेलाडी र ४० प्रतिशत राजनीतिक व्यक्ति रहनुपर्छ भनेको छु । सकेसम्म दावेदारहरु सर्वसम्मत गरुन् भन्ने छ । यदि भएन भने प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने पार्टीको सिद्धान्त हो । तर, प्यानल बनाएर चुनाव लड्न पाइन्न, व्यक्तिगत प्रतिस्पर्धा गर्न सबै स्वतन्त्र छन् ।’

त्यस्तै महासंघको उपाध्यक्षका लागि शान्तामाया परियार, सुदर्शन गुरुङ, सुवास श्रेष्ठ, नन्दा बस्याल, मानदेव हजारा पासवान, सन्तोष वान्तवा, विष्णु चन्द, एकीन्द्र कुँवर, थलुराज भण्डारी, रेनु श्रेष्ठ, डीबी रणपहेली, पनिर अधिकारीलगायतको दाबी छ ।

महासचिवमा धर्म श्रेष्ठ, धरमबहादुर लामा, रामकृष्ण खड्का, उमेश केसी र सञ्जु महर्जन दाबेदार देखिएका छन् । महासंघको केन्द्रीय समिति १५१ सदस्यीय हुने बताइएको छ । त्यसमा १७ जना पदाधिकारी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर