धार्मिक र सामुदायिक सद्भाव कायम गर्न लुम्बिनी विकास कोषको आग्रह – Nepal Press

धार्मिक र सामुदायिक सद्भाव कायम गर्न लुम्बिनी विकास कोषको आग्रह

रुपन्देही । लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्नका लागि सहयोग गर्न सम्बन्धित सबैलाई अपील गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिबाट भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमको लागि हल प्रयोग गर्न अनुमति दिइएको विषयलाई लिएर सरोकारवाला संघसंस्थाहरुले चासो, चिन्ता र प्रश्नहरु उठाएर विज्ञप्ति, ध्यानाकर्षण र विरोध जनाएकोमा कोषको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले आइतबार एक प्रेस विज्ञप्ती जारी गरी बौद्ध दर्शन, परम्परा विपरीत नहुने गरी पवित्र उद्यान वाहिर लुम्बिनी साँस्कृतिक केन्द्रमा रहेको सभाहल मात्र प्रयोग गर्न दिएको स्पष्ट पारेका छन् ।

नेपाल सरकारको लगानीमा बनेको सभाहल साझा धरोहर रहेको उल्लेख गर्दै कोभिडबाट खुम्चिएको पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमहरुलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिने गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘कोभिडबाट खुम्चिएको हाम्रो पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमहरुलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिँदै आउने क्रममा कोषले मिति २०७९ माघ २१ देखि रामकथा प्रेमयज्ञ समितिलाई २०७९ माघ २९ सम्म प्रयोग गर्न अनुमति प्रदान गरिएको हो । आयोजकले लिनुपर्ने अन्य सरकारी निकायबाट समेत अनुमति लिइसकेको हुँदा हामीले बौद्ध दर्शन, परम्परा विपरीत नहुनेगरी पवित्र उद्यान बाहिर लुम्बिनी सांस्कृतिक केन्द्रमा अवस्थित हल प्रयोग गर्न अनुमति प्रदान गरेको सबैमा अनुरोध छ’ विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनीमा निर्माण भएको हलमा बुद्ध र लुम्विनीलाई श्रद्धा राखेर बौद्धआस्थालाई ठेस नपु¥याई गतिविधि गर्न चाहन्छन् भने यसमा आपत्ति गर्नुहुँदैन भन्नै बौद्ध विद्वानहरुको सुझावलाई समेत स्मरण गरेको सदस्य सचिव शाक्यले विज्ञप्तीमा भनेका छन् ।

‘हामीले अहिले कतिपय संस्थाहरुले बुद्ध जन्मस्थलमा आध्यात्मिक वातावरण बनाउन सघाउ पु¥याउने हेतुले राख्नुभएका सुझावहरुलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्र सञ्चालन कार्यविधिमा समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।

बुद्ध जन्मस्थल लुम्बिनी, विश्व सम्पदास्थल, सार्वभौमिक र सार्वजनिक महत्व र बिशेषतायुक्त छ । यो ठाउँमा बिश्वका सबै धर्मावलम्बीसंगै बुद्धको नाम सुन्ने जो कोही पनि श्रद्धापूर्वक एकचोटी भ्रमण गर्ने इच्छा राख्ने क्षेत्र भएकाले तथागत बुद्धले महापरिनिर्वाण सुत्रमा लुम्बिनीलाई पनि श्रद्धा, बैराग्य र शान्ति अनुभूुति हुने संवेदनशील स्थानको रुपमा परिभाषित गरिएको स्मरण गराइएको छ ।

‘विश्वका एशिया अमेरिका सबै कुनाकाप्चाका हरेक जाति, धर्म तथा संस्कृति र क्षेत्रका मानिसहरु त्यही विश्वासका साथ लुम्बिनी आउने जाने गर्दछन् । यही सार्वभौमिक धार्मिक सांस्कृतिक सहिष्णुता नै लुम्बिनीको बिशिष्ट पहिचान हो’ विज्ञप्तीमा भनिएको छ ।

कोषले लुम्बिनीलाई गुरुयोजना बनाई अन्तर्राष्ट्रिय शान्ति सद्भाव तथा बन्धुत्वको केन्द्र बनाउने परिकल्पनाकार संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले लुम्बिनी विश्वका सबै धार्मिक सांस्कृतिक तथा सामाजिक नेताहरु लुम्बिनी आई द्वन्द्व र गरिबीमुक्त विश्व निर्माण गर्न प्रेरणा लिने परिकल्पना समेत गरेको स्मरण गर्दै लुम्बिनीलाई विश्वशान्तिको मुहानको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।

कोषले यहि माघ २१ देखि रामकथा प्रेमयज्ञ समितिलाई आगामी माघ २९ सम्म प्रवचनका लागि अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द प्रयोगका लागि गर्न अनुमति प्रदान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *