आफूलाई स्वतः विजयी घोषणा गर्न उमेश श्रेष्ठको माग, आयोग भन्छ- उपनिर्वाचन नै हुन्छ (भिडिओ) – Nepal Press

आफूलाई स्वतः विजयी घोषणा गर्न उमेश श्रेष्ठको माग, आयोग भन्छ- उपनिर्वाचन नै हुन्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आइतबार निर्वाचन आयोग पुगेर नेता श्रेष्ठले निवेदन दिएका हुन् । गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।

नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गएको छ । श्रेष्ठले चुनावमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने निवेदनमा जिकिर गरेका छन् ।

उनले आजै यसबारे जानकारी गराउन पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन् ।

निर्वाचन आयोगले भने पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पूर्ति गर्नुपर्ने कानूनी व्यवस्था भएको जनाएको छ । श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानूनले परिकल्पना नगरेको प्रष्ट्याए ।

‘निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र उपर दाबी-विरोध गर्ने, मनोनयन पत्र जाँचबुझ गर्ने चरण एउटा हुन्छ, त्यो चरण पार गरिसकेपछि निर्वाचनको परिणाम नआउन्जेलसम्मको चरण अर्को हुन्छ, निर्वाचनको परिणाम आइसकेपछि योग्यताका सम्बन्धमा प्रश्न उठ्ने त्यसको निरुपण गर्ने भनेको संवैधानिक इजलासले गरेको हुन्छ’, उनले भने, ‘चितवन निर्वाचन क्षेत्र नम्बर २ को कुरा संवैधानिक इजलासमा प्रश्न उठेर योग्यताको प्रश्न छ, यसले उक्त निर्वाचन क्षेत्रको पद रिक्त भएको अवस्थामा निर्वाचन आयोगले गर्ने भनेको उपनिर्वाचनबाट पदपूर्ति गर्ने हो । ६ महिनाभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने भन्नेछ । यस बाहेक कानूनमा स्पष्ट रुपमा अरु कुरा लेखिएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर