मुकुन्द न्यौपानेको फरक मत- नेकपा एसका केही नेता पिँध नभएको बाल्टीजस्तै, जति खाए पनि नअघाउने – Nepal Press

मुकुन्द न्यौपानेको फरक मत- नेकपा एसका केही नेता पिँध नभएको बाल्टीजस्तै, जति खाए पनि नअघाउने

‘हाम्रो विद्रोहलाई जनताले स्वीकारेनन्, पार्टीमा गुटबन्दी फैलियो’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा नेता मुकुन्द न्यौपानेले फरक मत प्रस्तुत गरेका छन्। शनिवारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष न्यौपानेले ३३ बुँदे फरक मत प्रस्तुत गरेका हुन्।

उनले गएको प्रतिनिधिसभा निर्वाचनमा जनताले नेकपा एसलाई स्वीकार गर्न नसक्दा संविधानको प्रावधान अनुसार थ्रेसहोल्डसम्म जोगाउन नसकेको उल्लेख गरेका छन्।

उनले फरक मतमा भनिएको छ, ‘जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् । एउटा कम्युनिष्ट पार्टीले आफूलाई जनताको इच्छा र आकांक्षा अनुसार चलाउनु पर्छ । यदि जनताको आवश्यकता र इच्छा अनुसार चल्न सकेनौं भने हामी असफल हुने छौँ । आफ्नो कमी कमजोरीहरूलाई आत्मसात् गरी सच्याउँदै अघि बढ्ने, असफलताबाट शिक्षा लिई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न जरुरी छ ।’

सङ्कटपूर्ण घडीमा हाम्रो पार्टीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवाद उन्मुख दिशामा लानका लागि र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा, विकास गर्नका लागि मूर्त र ठोस ढंगको राजनीतिक कार्यदिशा र मुख्य कार्यभारलाई आत्मसात् गर्न जरुरी रहेको उल्लेख गरेका छन्।

आजको मुख्य कार्यभार एक देश-एक कम्युनिष्ट पार्टी निर्माण भएको उनको भनाइ छ।

उनले भनेका छन्, विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको धारबाट अलग्गिई मार्क्सका दुईचार किताब अघि सारेर शास्त्रीय आख्यान पिलाउँदै हिँड्नु भनेको पिँध नभएको बाल्टी इनारमा डुबाएर पानी तान्नु जस्तै हो । जतिपल्ट डुबाएपनि पानीको सतह माथि ल्याउँदा बाल्टी खालीको खाली नै हुन्छ । आज नेकपा एकीकृत समाजवादीको नेतृत्वपंक्तिका कतिपय साथीहरू र तलका धेरै कमिटी र कार्यकर्ताको हालत यही पिँध नभएको बाल्टीको जस्तै छ । जति पाए पनि नपुग्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने ।’

पार्टी संगठनदेखि जनसंगठन सम्म अस्वस्थ गुटबन्दी फैलिएको उल्लेख गर्दै जालझेल षडयन्त्र, छलछाम, कोठे बैठक, संस्थालाई बाइपास गरेर आफ्नो हितका निजी योजना लागु गराउन प्रयत्न गर्ने जस्ता तल्लो स्तरका निम्न पुँजीवादी चिन्तन शैली हरेक तहमा हुर्कदैँ गएको जिकिर गरेका छन्।

उनले भनेका छन्, ‘लोभ बढेको बढ्यै छ, पद खोजेको खोज्यै छ, सांसद दिए भोलिपल्ट देखि मन्त्री खोज्छ, मन्त्री पाए गृहमन्त्री खोज्छ, प्रधानमन्त्री भए पनि उसको तृष्णा मेटिदैन, शरीर जीर्ण हुन लाग्यो तर उसकोतृष्णा तन्नेरी नै छ । उ तृष्णाको त्यान्द्रोले बाँधिएको छ, त्यतै तानिएको छ, लोभको यस्तो पासोमा परेको छ, त्यसबाट छुटकारा पाउन सक्दैन, पाउन नै चाहँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर