ट्विटे अभियन्तालाई प्रश्न- सन्दीपमाथि फैसला सुनाउने अदालतले कि सडकले ? – Nepal Press
टिप्पणी

ट्विटे अभियन्तालाई प्रश्न- सन्दीपमाथि फैसला सुनाउने अदालतले कि सडकले ?

काठमाडौं । ट्विटर केन्द्रित केही ‘फेमिनिस्ट’ र कांग्रेस निकट ‘साइबर वारियर’ का दुई–चार पुरुष सदस्यहरू शनिबार दिउँसो माइतीघर मण्डलामा देखिए । उनीहरूले प्लेकार्ड देखाउँदै उठाएको मुद्दा थियो- सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट खेलाउन नहुने ।

ट्विटरबाट नेपाल क्रिकेट संघ (क्यान) लाई बहिष्कार गर्न आह्वान गर्दै ह्यासट्याग चलाएका केही उग्रवादी फेमिनिस्टहरुले यो प्रदर्शनका लागि आह्वान थिए । भलै प्रदर्शनमा सहभागीको संख्या औंलामा गन्न सकिने थियो, र पनि यो हर्कतले विभिन्न प्रश्नहरू खडा गरेको छ । पहिलो प्रश्न हो, अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी सडकमा प्रदर्शन गर्न मिल्छ कि मिल्दैन ?

सन्दीपमाथि यौनजन्य कसुरमा दायर गरिएको मुद्दा अहिले काठमाडौं उच्च अदालतमा चलिरहेको छ । यसअघि सो अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो भने त्यसलाई उल्टाउँदै पाटन उच्च अदालतले धरौटीमा रिहा गरिदियो । यसविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ, जसको छिनोफानो भएको छैन ।

अहिलेसम्मको स्थितिमा सन्दीप एक आरोपी मात्र हुन्, अपराधी प्रमाणित भइसकेका व्यक्ति होइनन् । तर, सामाजिक सञ्जाल, खासगर ट्विटरमा उग्रवादी फेमिनिस्टहरुले उनलाई आफैँ अपराधी ठहर गर्दै क्यानमाथि विभिन्न दबाब दिइरहेका छन् । क्यानले सन्दीपलार्ई राष्ट्रिय टिमबाट हटाउनुपर्ने उनीहरूको मुख्य माग छ ।

क्यानको बोर्ड बैठकले केही दिनअघि सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेको थियो । त्यस लगत्तै उनलाई क्यानको छनोट समितिले आगामी महिना हुने घरेलु क्रिकेट श्रृंखलाका लागि बन्द प्रशिक्षणमा बोलाएको छ । अन्तिम टोली घोषणा गर्न बाँकी रहँदा ट्विटरका फेमिनिस्टहरु बर्बराएका हुन् । उनीहरूको बोलीमा लोली मिलाउँदै कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि क्यानको निर्णयप्रति विरोध जनाए । यी दुई युवा नेताहरू पनि कान नछामी कागको पछिपछि कुद्नु थप चिन्ताको विषय भएको छ ।

यथार्थ के हो भने आजका दिनसम्म सन्दीपमाथि लागेको आरोप पुष्टि भएको अवस्था छैन । पाटन उच्च अदालतको फैसलाले उनलाई अरू विभिन्न बन्देजहरू लगाए पनि क्रिकेट खेल्न वञ्चित गरेन । फैसलाअनुसार सन्दीप विदेश जान पाउँदैनन्, तर देशभित्र हुने कुनै पनि स्तरको क्रिकेट खेल्न सक्छन् । क्रिकेटको विश्वव्यापी नियमन गर्ने निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले पनि सन्दीपलाई राष्ट्रिय टिमबाट खेलाउन अनुमति दिइएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्दा पनि सन्दीपजस्तै मुद्दा लागेका धेरै प्रख्यात खेलाडीहरू राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेकै हुन्छन्, जबसम्म अभियोग प्रमाणित हुँदैन । अहिले एकदिवसीय क्रिकेटका नम्बर १ ब्याट्सम्यान बाबर आजम पनि अदालतमा बलात्कारको मुद्दा खेपिरहेका छन् । तर, न उनलाई निलम्बन गरिएको छ न पक्राउ । अहिले पनि राष्ट्रिय टिमको नेतृत्व गरिरहेका छन् । पोर्चुगलका प्रख्यात फुटबलर रोनाल्डोमाथि पनि बलात्कारको आरोपमा जाहेरी परेको थियो । तर, आरोप लाग्नासाथ उनले पनि राष्ट्रिय टिमबाट बाहिर हुनु परेन ।

यो सबै पृष्ठभूमिमा क्यानले सन्दीपलाई बन्द प्रशिक्षणमा नबोलाउनुपर्ने कुनै कारण थिएन । सन्दीपलाई घरेलु सिरिजका लागि बन्द प्रशिक्षणमा राखिएको हो, नकि विदेशमा हुने खेलका लागि । उनलाई फेरि कप्तान नियुक्त गरिएको पनि होइन । अब कानून र अदालतका साथै नियामक निकायले पनि नरोकेको सन्दीपलाई रोक लगाउन ट्विटे अभियन्ताले के आधारमा दबाब दिँदैछन् भन्ने दोस्रो प्रश्न हो ।

हिजो माइतीघरमा गरिएको प्रदर्शनमा अभियन्ताले सन्दीपलाई ‘बलात्कारी’ कै रुपमा चित्रण गरियो । एउटी युवतीले बोकको प्लेकार्डको नारा थियो– ‘क्रिकेट हेर्न मन लाग्छ, बलात्कारको डर लाग्छ ।’ यस्तो नाराको अर्थ र अभिष्ट के हो ? सन्देश के हो ? भोलि सन्दीपले बलात्कार गरेको ठहर भएन भने

कांग्रेसका महामन्त्रीद्वयले पनि सन्दीपलाई ‘राष्ट्रिय टिममा खेलाउन नहुने’ बिकाऊ मत राखे । आफूहरूले सन्दीपलाई टिममा नराख्न क्यानका अध्यक्षलाई भेटेर निर्देशन दिएको तर उनले पालना नगरेको उनीहरूको भनाइ थियो । स्मरणीय यो छ कि विश्वप्रकाश र गगन दुवै यो विषयसँग सम्बन्धित सरकारी ओहदामा छैनन् । क्यान अध्यक्षलाई निर्देशनात्मक दबाब दिने हैसियत उनीहरूले कसरी राखे ?

हो, क्यान अध्यक्ष चतुरबहादुर चन्द कांग्रेसका जिल्ला अध्यक्ष पनि हुन् । यदि उनले पार्टीको जिल्ला अध्यक्षका रुपमा निभाएको कुनै भूमिकाप्रति असन्तुष्टि वा गुनासो भएमा त्यसबारे सोध्ने हक महामन्त्रीद्वयलाई हुन्छ । तर, क्रिकेटसँग सम्बन्धित विषयमा यो गर, त्यो गर भनेर निर्देशन दिने अधिकार उनीहरूलाई कसले दियो ?

यस प्रकरणमा नेपाली मिडिया पनि कतै न कतै चुकिरहेका छन् । केही दिनअघि एउटा राष्ट्रिय दैनिकले सन्दीप प्रकरणमाथि एउटा लामो रिपोर्ट प्रकाशित गर्‍यो । सन्दीपमाथि जाहेरी दिने युवतीको एकतर्फी बयानलाई मात्रै आधार बनाएर लेखिएको उक्त ‘खोजमूलक रिपोर्ट’ मा ‘आँखोदेखा हाल’ जसरी सन्दीपले बलात्कार नै गरेको ठोकुवा थियो भने जाहेरीकर्तालाई ‘बालिका’ ठहर्‍याइएको थियो । जबकि उक्त घटनामा बलात्कार भएको हो कि होइन र जाहेरीकर्ता नाबालिग हुन् कि होइनन् भन्ने दुवै विषयमा अदालतले छानबिन गरिरहेको छ । अदालतको फैसला नआउँदै मिडियाले सुनाउने यस्ता फैसलाले पनि अभियन्ताहरूलाई उक्साउने र मुद्दा प्रभावित बन्ने स्थिति हुन्छ ।

कानूनको सिद्धान्तले भन्छ कि अपराध प्रमाणित नहुँदासम्म जोसुकै व्यक्तिमाथि निर्दोषको व्यवहार हुनुपर्छ । ऊमाथिको कानूनी प्रक्रिया बेग्लै पाटो हो, तर कम्तीमा समाजले चाहिँ उसलाई अपराधीको व्यवहार गरिहाल्नु हुँदैन । सन्दीप बन्द प्रशिक्षणमा फर्किँदा राष्ट्रिय टिमका खेलाडीहरुलार्ई समस्या भएको छैन । सबैले सामान्यरुपमा लिएर सन्दीपसँगै अभ्यास गरिरहेका छन् । समस्या उनीहरूलाई भएको छ, जसले विदेशी संघसस्थाहरुबाट ‘डोनेसन’ लिएर महिलावादको गन्दा धन्दा चलाइरहेका छन् । जसका लागि महिलाका मुद्दाहरू मागी खाने भाँडो हुन् । अनि भीडको पछि लाग्न अभ्यस्त नेपाली राजनीतिका केही एटेन्सनसिकरहरु उनीहरूकै पछिपछि कुदिरहेका छन् । योभन्दा विडम्बना के होला ?


प्रतिक्रिया

2 thoughts on “ट्विटे अभियन्तालाई प्रश्न- सन्दीपमाथि फैसला सुनाउने अदालतले कि सडकले ?

  1. Man pari tantra Chaldaina. Surakjhit r Maryadit Bhai Bachna paune Adhikar ko Sunischit. Hunu parcha.. Euta le lagers miss use garne Ani Arko Lai Jhukayera bhidaune Chalan ko antaye hunu parcha

  2. Muddha Darta paschat, social mediya ma herro kina bhayeko ta. Euta le lager miss use garne Ani Arko Gharko Bachcha Lai Emotionally presume r motivation garera Bhidaune pratha ko antaya hunu parcha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *