अस्पताल विकास समिति इनरुवाको बैठक ६ महिनादेखि बस्न सकेन, अस्पताल चलाउन समस्या – Nepal Press

अस्पताल विकास समिति इनरुवाको बैठक ६ महिनादेखि बस्न सकेन, अस्पताल चलाउन समस्या

विराटनगर । दैनिक ४ सय भन्दा बढी बिरामी उपचार गर्न आउने जिल्ला अस्पताल इनरुवामा ६ महिना देखि अस्पतालका विकास समितिको बैठक बस्न नसक्दा समस्या भएको छ ।

जिल्ला समन्वय समिति सुनसरीको अध्यक्षमा राजन मेहता आएसँगै अस्पताल विकास समितिको बैठक बस्न सकेको छैन । समन्वय समितिको अध्यक्ष अस्पताल विकास समितिको अध्यक्ष हुने व्यवस्था छ ।

राजनीतिक इगोका कारण विकास समितिको बैठक बस्न नसक्दा अस्पतालको सेवा प्रवाह भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेले बताए ।

घिमिरेले अस्पताल विकास समितिका अध्यक्षले अस्पतालमा कार्यरत कर्मचारी, चिकित्सकहरूलाई गर्ने व्यवहारले काम गर्न समस्या भएको बताए ।

उनले केहि दिन अघि यस विषयमा प्रदेश १ की स्वास्थ्यमन्त्री निर्मला सुब्बालाई समेत काम गर्ने वातावरण नभएको भन्दै समस्या समाधान गर्न आग्रह गरेका थिए ।

घिमिरेले ६ महिनादेखि अस्पताल विकास समितिको बैठक बस्न नसक्दा कर्मचारीलाई तलब खुवाउन नसकिएको बताए ।

यस्तै अस्पताललाई चाहिने नयाँ कर्मचारी र चिकित्सक नियुक्तिमा ढिलाइ हुँदा सुनसरीको ग्रामीण क्षेत्रबाट उपचार गराउन आउने बिरामीको सेवा प्रभावित भएको डा घिमिरेले बताए ।

विकास समितिको बैठक बस्न नसक्दा अस्पताललाई चाहिने नयाँ उपकरण र औषधी खरिद हुन सकेको छैन । समितिको बैठक बस्न नसक्दा अस्पतालको बजेटसमेत फ्रिज हुने जोखिम बढेको छ ।

अस्पताल सञ्चालन कार्यविधिमा जिल्ला समन्वय प्रमुख अध्यक्ष रहने व्यवस्था छ । राजनीतिक स्वार्थको आधारमा अस्पतालमा कर्मचारी भर्ना गर्न नपाएपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्षले ६ महिनायता बैठक बस्न नदिएको अस्पताल प्रशासनको आरोप छ ।

लामो समयदेखि अस्तव्यस्त रहेको अस्पताल एक वर्षयता सुधार भएर बिरामीको चाप बढ्न थालेको थियो ।

अस्पतालमा अहिले १५ जना डाक्टरहरूले सेवा दिइरहेको अवस्थामा विकास समितिले राजनीतिक स्वार्थका कारण काममा अवरोध गरेको स्थानीय दिलीप चन्द साहाले बताए ।

एक वर्षयता सेवामा आएको गुणात्मक परिवर्तनले उपचारका लागि विराटनगर, धरान धाउनुपर्ने स्थानीयको बाध्यता हटेको थियो । तर अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच द्वन्द्व बढ्दै गएपछि समस्या उत्पन्न भएको छ । अस्पताल विकास समितिका पदाधिकारी भने व्यस्तताको कारणले बैठक बस्न नसकेको दाबी गर्छन् ।

विकास समितिका अध्यक्ष राजन मेहताले व्यस्तताका कारण विकास समितिको बैठक बस्न नसकेको बताए । उनले आफूले अस्पताललाई असहयोग नगरेको दाबी गरे ।

हामी अस्पताल बनाउन भनेर लागेका छौ । उनले भने, केहि असमझदारी भए हामी मिलाएर लैजान्छौ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *